७ वैशाख २०८१ शुक्रबार
अर्थ

त्रिभुवन विमानस्थलभित्र सम्झौताविपरीत मदिरा बिक्री

काठमाडौं – मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्झौताविपरीत मदिरालगायत सामग्री बिक्री हुनेगरेको पाइएको छ।

त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थान कक्षमा ‘सेटिङ’ मिलाएर सम्झौताविपरीत विमानस्थल सुरक्षाका हिसाले जोखिमपूर्ण वस्तु बिक्री हुने गरेको हो। मदिरा विमानस्थल सुरक्षाका हिसाबले खतरापूर्ण मानिन्छ। कहिले काहिँ यात्रुहरुले त्यहीँ मदिरा पिएर झै–झगडा गर्ने गरेको प्रत्यक्षदर्शी बताउँछन्। 

त्रिभुवन अन्तर्राष्ट्रियसहित देशभरका विमानस्थलको प्रमुख सञ्चालक तथा मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु भने सम्झौताविपरीत वस्तु बिक्री गर्ने व्यापारीलाई कारबाही गर्नुको सट्टा उल्टै संरक्षण गरेर बसेको सम्बद्ध स्रोतले जानकारी दिएको छ। 

विमानस्थल टर्मिनल भवनमा व्यापारिक पसल–कबल सञ्चालन गर्ने व्यापारी वा फर्मले विमानस्थल व्यवस्थापनसँग सम्झौता गरेका हुन्छन्। यस्तो सम्झौतामा के कस्ता सामान बेच्नेदेखि पसल सञ्चालन अवधिलगायत बुँदा समेटिएका हुन्छन्। 

तोकिएका भन्दा अन्य सामान खुलेआम बिक्री हुँदा पनि विमानस्थल व्यवस्थापन मौन

म्झौतामा उल्लेख भएका वस्तुबाहेक चकलेटसम्म बेच्न नपाइने संवदेशील ठाउँमा मदिरा समेत बिक्री हुँदा सुरक्षा ‘थ्रेट’ बढेको स्रोतको दाबी छ। प्राधिकरणले गठन गरेको एक अनुगमन टोलीले तयार पारेको प्रतिवेदनमा विमानस्थलका पसलमा सम्झौताविपरीत बिक्री वितरण भइरहेका वस्तुबारे उल्लेख गरिए पनि मदिराबारे केही उल्लेख नगर्दा सेटिङमै गैरकानुनी काम भइरहेको आशंका गरिएको हो।

प्राधिकरणका कर्पोरेट महाशाखा प्रमुख रामचन्द्र सुवेदीको संयोजकत्वमा गठित अनुगमन टोलीले अन्तर्राष्ट्रिय टर्मिनल भवनका अधिकांश पसलले तोकिएको स्थानभन्दा बाहिरपट्टि सामान झुण्ड्याएर राखेको, सम्झौतामा उल्लेख नभएका सामान बेचेको लगायत कैफियत भेटे पनि आजसम्म कसैलाई कारबाही नगरेको स्रोतको दाबी छ। 

‘त्यहाँका दुईवटा पसलले सुरुदेखि नै मदिरा बिक्री गरिरहे पनि निरीक्षण प्रतिवेदनमा उक्त बेहोरा उल्लेख छैन,’ स्रोतले सोमबार नागरिकसँग भन्यो, ‘व्यापारी सुभाष श्रेष्ठले सञ्चालन गरेको होटल स्वनिग र एयरपोर्ट टी, कफी एन्ड कन्फेक्सनरीबाट मदिरा बिक्री हुन्छ।’

अनुगमन टोलीमा कर्पोरेट महाशाखा प्रमुख काफ्लेबाहेक सोही महाशाखाका उपप्रबन्धक विष्णुप्रसाद अधिकारी, वरिष्ठ अधिकृत सुष्मा ढकाल र अधिकृत मधु पन्थी भट्टराई सहभागी थिए।

टोलीले कैफियतसहितको अनुगमन प्रतिवेदन गत वैशाख २० गते महाप्रबन्धक देवानन्द उपाध्याय समक्ष पेस गरे पनि हालसम्म कसैलाई कारबाही नभएको स्रोतले बतायो। हाल उपाध्यायका ठाउँमा राजकुमार क्षेत्री महाप्रबन्धक भएर आएका छन्। सम्झौताविपरीत सामान बेच्ने पसलबाट सम्बद्ध अधिकारीहरुले नियमित रुपमा ‘कमिसन’ पाउने हुँदा कसैमाथि कारबाही नभएको स्रोतको दाबी छ। ‘त्यहाँका व्यापारीले विदेश भ्रमणसम्म गराउँछन्,’ स्रोतले भन्यो, ‘त्यसैले यस्ता अनियमितामा कसैले केही बोल्दैनन्।’

स्रोतका अनुसार त्यहाँ सञ्चालित १२ वटामध्ये श्रेष्ठले अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थान कक्षमा रहेको स्टेराइल हल छेउमा सञ्चालन गरेको होटल स्वनिगमा खुलेआम मदिरा बिक्री हुन्छ। उक्त पसलबाट सुरुदेखि नै मदिरा बिक्री भइरहे पनि निरीक्षण प्रतिवेदनमा सम्झौताविपरीत राखिएका वस्तुमा चुइगम, बिस्कुट, पुष्टकारी, नमकिन र फ्रिज म्याग्नेटमात्र उल्लेख छ। मदिरा बिक्रीको विवरण ठाडै लुकाइएको छ।

यसलाई विभिन्न प्रकारका चिसो पेय, मिनरल वाटर, कोल्ड कफी, क्यान तथा बोतलका चिसो पेय, आइसक्रिम, बेकरी कुकिज, चकलेट, चुरोट (खुद्रा बिक्री गर्न नपाइने), चिया, कफी र दूध बेच्ने अनुमति छ। त्यसैगरी स्वनिगलाई चिप्स, मःम, स्यान्डविच, बर्गर, हटडग, चाउमिन, फ्राइड राइस, प्याट्रिज, समोसाजस्ता फास्ट फुड पनि बेच्न अनुमति दिइएको छ। 

श्रेष्ठकै अर्को पसल एयरपोर्ट टी कफी एन्ड कन्फेक्सनरी सपमा सम्झौतामा उल्लेख भएबाहेक फ्रिज म्याग्नेट, तितौरा, पिलो र नेपाली कागजका विभिन्न डायरी मात्र बिक्री भइरहेको प्रतिवेदनमा खुलाइएको छ। 

यी बाहेक सरकारले बिक्री निषेध गरेका वस्तु, उपभोग्य म्याद नाघेका खाद्य तथा पेय पदार्थ र मदिरा बिक्री गरेको पाइएमा ती सामान जफत गरी सम्झौता रद्द गर्न सकिने सर्त सम्झौतामा प्रस्ट उल्लेख छ। ‘तैपनि कसैलाई वास्ता छैन। नियमन गर्नुपर्ने अधिकारीहरुले देखे पनि नदेखे झैं गरेर टारिरहेका छन्,’ स्रोत भन्छ, ‘सिसिटिभी फुटेज हे¥यो भने सबै कुरा छर्लंग हुन्छ।’

निरीक्षण प्रतिवेदन अनुसार अन्तर्राष्ट्रिय टर्मिनल भवनको पहिलो तल्लामा सञ्चालित साइकिरण इन्टरप्राइजेज–बुक स्टलले स्वदेशी तथा विदेशी किताब तथा पत्रपत्रिका, कागजबाट बनेका सामान, नेपाली कागजले बनेका हस्तकलाका सामान र सामान्य स्टेसनरी सामान बेच्ने सम्झौता गरे पनि धातुबाट बनेका कि–रिङ, कपडाको ब्यागको चियापत्ती, चुम्बक भएको कलाकृति झल्किने वस्तु, पुराना धातुका सिक्कालगायत वस्तु बिक्री गरिरहेको छ। 

अर्को क्रिएटिभ नेपाली प्रडक्ट सपले पनि सम्झौताबाहेक विभिन्न कफी, मसाज आयल लगायत बेचिरहेको प्रतिवेदनमा उल्लेख छ। अर्को पसल बी पासा इन्टरनेसनल प्रालिले सम्झौताविपरीत ठूला मान्छेका कपडा र बुद्धका मूर्ति बेचिरहेको प्रतिवेदनमा उल्लेख छ। यो पसलमा कार्यरत राजेन्द्र केसीले अनुगमन टोलीमाथि नै अमर्यादित व्यवहार गरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यहाँका अधिकांश पसलले तोकिएको ठाउँभन्दा बाहिर सामान राखेको प्रतिवेदनमा उल्लेख  छ।

प्रकाशित: १३ चैत्र २०७४ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App