coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

माइभ्याली गोल्डकपमा १२ टिम भिड्ने

आगामी वैशाख ६ देखि १५ सम्म इलामको ठूलो टुँडिखेलमा आयोजना गरिने माइभ्याली गोल्डकपको चौथो संस्करण तयारीबारे पत्रकार सम्मेलन गर्दै आयोजक। तस्बिरः नागरिक

इलाम – पूर्वी पहाडकै धेरै धनराशिको अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबलमा १२ टिमले भाग लिने भएका छन्। आउँदो २०७५ वैशाख ६ देखि १५ सम्म आयोजना गरिने चौथो संस्करणमा नेपाल, भारत र बंगलादेशका प्रतिष्ठित टिमले सहभागिता जनाउने भएका हुन्।

सदरमुकामको ठूलो टुँडिखेलमा सञ्चालन हुने प्रतियोगितामा त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, नेपाल प्रहरी, मनाङ, थ्रिस्टार, संकटा, कास्की–११, झापा–११, बंगलादेशको कामारुजदिन, भारतको सिक्किम युनाइटेड क्लब र आयोजक माइभ्याली फुटबल क्लब सहभागी हुँदैछन्। आयोजक आयोजक माइभ्याली फुटबल क्लबले सोमबार सदरमुकाममा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो।

प्रतियोगिताका विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख पाउने छन्। प्रतियोगितामा उदयमान खेलाडीलाई मोटरसाइकल र प्रत्येक दिनका उत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ दिइने माइभ्याली क्लब अध्यक्ष धिरेन चेम्जोङले बताए। खेलाडी र निर्णायकको सुविधासमेत यो वर्ष बढाइएको उनको भनाइ छ। ‘प्रतियोगिताका उत्कृष्ट रक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्तालगायतलाई पुरस्कृत गरिनेछ,’ उनले भने, ‘यो वर्ष पुरस्कार राशि थपिएकाले गतवर्षहरूभन्दा प्रतियोगिता पनि भव्य हुने अपेक्षा छ।’

गतवर्ष विजेताको पुरस्कार राशि ४ लाख र उपविजेताको अढाई लाख थियो । ‘प्रतियोगितामा स्थानीय खेलप्रेमीको उत्साह बढेकाले पुरस्कार राशि पनि आकर्षक बनाउन लागिएको हो,’ अध्यक्ष चेम्जोङले भने। गतवर्षसम्म प्रथम पुरस्कारको राशि सूर्याेदय नगरपालिकाका दम्पती तारा र रोजु सापकोटाले उपलब्ध गराएका थिए। यो वर्षदेखि प्रथम पुरस्कारलाई ‘मेयर प्राइज’ नाम राखिने र त्यो राशि इलाम नगरपालिकाले उपलब्ध गराउने सहमति भएको अध्यक्ष चेम्जोङले बताए। ‘इलाम नगरपालिकाले प्रथम पुरस्कारको राशि उपलब्ध गराउनेगरी माइभ्यालीसँग सम्झौता गर्दैछ,’ उनले भने, ‘हामीले अन्य पुरस्कार र बाँकी खर्च जुटाउने छौं।’

प्रतियोगितामा करिब ६५ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ। उनले टुँडिखेलमा व्यवस्थित प्यारापिट नभएकाले बाँसको अस्थायी प्यारापिटका लागि बर्सेनि ५ लाख रुपैयाँभन्दा बढी खर्च भइरहेको बताए। ‘१ हजारदेखि २५ सय दर्शक अटाउने प्यारापिट बाँसकै बनाइएको र अन्य दर्शकका लागि माटो र ढुंगाको प्यारापिट छ,’ क्लबका दिनेश काफ्लेले भने।

प्रतियोगितामा भाग लिने खेलाडीलाई सहज बनाउन यो पटक ठूलो टुँडिखेलमा दुबो रोपेर नरम बनाइएको छ। वर्षायाममा रोपेको दुबो जगाउन अहिले मैदानमा सिँचाइ गरिँदैछ। सदरमुकाममा खानेपानीको चरम अभाव भइरहेका बेला नजिकैको बजारबाट बग्ने ढलको पानी फिल्टर गरेर मैदानमा सिँचाइ गरिँदैछ। ‘अघिल्ला वर्षहरूभन्दा गतवर्ष मैदान निकै राम्रो थियो,’ अध्यक्ष चेम्जोङले भने, ‘यो वर्षका लागि मैदान अझ सफ्ट बनाइएको छ, खेलाडीका लागि मात्र होइन, यहाँ आइपुग्ने जोकोहीले हरियो खेलमैदान देख्न सक्छन्।’

पटक–पटक प्रयास गर्दा पनि स्थायी प्यारापिट बनाउन नसकेको चेम्जोङले बताए। बर्सेनि बाँसको अस्थायी प्यारापिट बनाउँदै भत्काउँदै गर्नुपरेकाले लाखौं रुपैयाँ त्यसमै खर्च भइरहेको छ। ठूलो टुँडिखेल नेपाली सेनाको मातहत रहेकाले पनि भौतिक संरचना निर्माणमा प्रतियोगिता आयोजकलाई समस्या हुनेगरेको छ। प्रतियोगिताको दोस्रो र तेस्रो संस्करणको उपाधि झापा ११ ले उचालेको थियो भने पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबको पोल्टामा परेको थियो।

प्रकाशित: १३ चैत्र २०७४ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App