coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सिमानामा छैन सुरक्षा उपस्थिति

पाँचथर – केही दिनअघि जिल्ला प्रहरी कार्यालय पाँचथरको टोली भारतसँग सीमा जोडिएको तिम्बुपोखरीदेखि फालोटसम्म सीमास्तम्भको अवस्थाबारे स्थलगत अवलोकन गरेर फर्कियो । त्यस क्रममा प्रहरी टोलीले केही सीमास्तम्भ हराएको पायो।

१० दिन लगाएर फागुनको दोस्रो साता सो क्षेत्रका सीमास्तम्भको अध्ययन गरिएको सूचना अधिकृत प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए। हराएका सीमास्तम्भमध्ये तीनवटाको डोब भेटिएको उनले बताए। ताप्लेजुङसँग सीमा जोडिएको ३५ नम्बर स्तम्भदेखि प्रहरी टोलीले अवलोकन थालेको थियो। भएका मध्ये केही स्तम्भको अवस्था कमजोर छ। फालोटदेखि इलामको सिमानासम्मका सीमास्तम्भको विस्तृत विवरण आउन बाँकी रहेको छ। यस क्षेत्रमा ४५.२ किलोमिटर सीमाक्षेत्र पर्छ। यहाँ जग्गे, मझौला र साना गरी एक सय १७ पिलर रहेकामा केही पिलर हराएका हुन्।

४५.२ किलोमिटर सीमाक्षेत्रमा रहेका जग्गे, मझौला र साना गरी एक सय १७ पिलरमध्ये केही हराएका छन्।  

म्बन्धित क्षेत्रका प्रहरीचौकीले प्रारम्भिक जानकारी लिँदा फालोटदेखि सन्दकपुरसम्मका ६८  मध्ये १९ सीमास्तम्भ भेटिएका छैनन्। यसको विस्तृत अध्ययन हुन बाँकी छ । यसअघि विस्तृत रुपमा अवलोकन गरिएका भन्दा बाहेक क्षेत्रको केही दिनमै स्थलगत अनुगमन गर्ने तयारी भएको बस्नेतले बताए। 

सुरक्षाकर्मी नहुँदा चोरी निकासी मौलायो
सीमाक्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति शून्य छ। यसैको फाइदा उठाउँदै चोरी निकासी मौलाएको छ। महत्वपूर्ण जडीबुटी र रेडपान्डाजस्ता बन्यजन्तुको चोरी निकासी भइरहेको छ। बन कार्यालयको समेत ध्यान सीमाक्षेत्रमा पुग्न सकेको छैन। यस क्षेत्रमा सतुवा, बिख, बिख्मा, पाखनवेद, पाँचऔंले, टुड्की, टिमुर, जटामसी, लौठसल्ला, बन लसुन, केन्जो, चिम्फिङलगायतका जडीबुटी पाइन्छन्। 

उक्त क्षेत्रमा नेपालतर्फको सीमा प्रहरी चौकी च्याङथापु बजारमा छ। उक्त ठाउँबाट नेपाल–भारत सीमा २४ किलोमिटर दूरीमा पर्छ। सिमानामा पर्ने चिवा भन्ज्याङसम्म सडक पुगेको छ तर सीमा प्रहरी चौकीसँग सवारीसाधन छैन। सडक पुगेपछि चिवाभन्ज्याङमा चहलपहल बढेको छ।

चिवाभन्ज्याङमा रहेको सीमा प्रशासन कार्यालय सहयोगीको भरमा छ। कार्यालय खोल्ने र बन्द गर्नेबाहेक अरु काम हुँदैन।  भारत प्रवेश गर्न नेपालीले चिवाभन्ज्याङमा रहेको सिक्किम प्रहरीको चौकीमा तीनवटा फोटो टाँसेर पूरा विवरण भरेपछि मात्र अनुमति पाउँछन्। भारततिरबाट नेपाल प्रवेशमा कुनै रोकटोक छैन। सीमा क्षेत्रमा प्रत्येक ६ किलोमिटर दूरीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को क्याम्प छ। उनीहरुको सक्रियता उत्तिकै छ। बेलाबेला भारतीय सुरक्षाकर्मीले नेपालीलाई दुःख पनि दिने गर्छन्। नेपालतर्फ भने सुरक्षा उपस्थिति शून्य छ। सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीको एउटा पनि क्याम्प सीमाक्षेत्रमा छैन। यहाँका याङवरक र फालेलुङ गाउँपालिका भारतको सिक्किम र पश्चिम बंगालसँग जोडिएका छन्। 

सीमाक्षेत्र र सीमास्तम्भको संरक्षण हुन नसकेको पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी स्विकार्छन्। भन्सार चौकी नहुँदा समस्या भएको उनको भनाइ छ। भन्सार र सशस्त्र प्रहरी बलको क्याम्प राख्न पहल गर्ने उनले बताए। भौगोलिक विकटताका कारण सीमाक्षेत्रभन्दा टाढा रहेका सुरक्षाकर्मीले रेखदेख गर्न नसक्ने उनको भनाइ छ। 

सीमाक्षेत्रमा नेपालतर्फ उजाड बन्दै गएको छ। नेपालतर्फको वनक्षेत्र मासिँदैछ। भारततर्फ भने सिंहलीला नेसनल पार्क बनाएर संरक्षण गरिएको छ।

नेपाली सुरक्षाकर्मीको अनुहार बिरलैमात्र देख्न पाइने सिक्रेका राजकुमार राई बताउँछन् । स्थानीयले पटकपटक सुरक्षाकर्मी माग गरे पनि व्यवस्थापन हुन सकेको छैन । सुरक्षाकर्मी नहुँदा असुरक्षा महसुस हुने गरेको राईले बताए । सीमाक्षेत्रमा केही घटना भए सुरक्षाकर्मी अर्को दिनमात्र पुग्ने अवस्था छ।

जिल्ला सुरक्षा समितिले सीमाक्षेत्रमा सशस्त्र प्रहरीको क्याम्प राख्ने निर्णय गरेर गृह मन्त्रालयमा सिफारिस गरे पनि कार्यान्वयन हुन सकेको छैन।

प्रकाशित: १४ चैत्र २०७४ ०१:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App