coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मानव बेचबिखन ‘ट्रान्जिट’ बन्दै कोहलपुर

कोहलपुर – घटना १, २०७३ जेठ २ गते सिन्धुपाल्चोकका १९ वर्षीया दुई युवतीलाई कोहलपुर बसपार्कबाट प्रहरीले उद्धार ग-यो। वैदेशिक रोजगारको बहानामा भारत लैजाँदै गर्दा दलाल सिन्धुपाल्चोकका ३६ वर्षीय लाक्पासोनम लामा र २७ वर्षीय डिन्डु तामाङ पक्राउ परे। सिन्धुपाल्चोकदेखि विभिन्न नाका कटाउँदै ल्याएका ती एजेन्टले नेपालगन्ज–रुपैडिहा नाका कटाइदिनेलाई २० हजार दिने भन्दै अर्को मान्छे खोजेको सुइँको पाएपछि प्रहरी उनीहरुलाई पक्राउ गर्न सफल भयो। 

घटना २
२०७३ फागुन १५ गते एक किशोरीलाई एक कट्ठा जग्गा नामसारी गरिदिने प्रलोभनमा पारेर विवाह गरियो। उनलाई भोलिपल्ट भारतको पन्जाब लगियो। त्यहाँ एउटा कोठामा थुनेर दैनिकजसो विभिन्न व्यक्तिले बलात्कार गरे। सहन नसक्ने भएपछि उनले ०७४ असोज २९ गते भारतको गडवालमा रहेकी दिदीलाई फोन गरिन्। त्यहाँबाट उनी फुत्किन सफल भई नेपाल फर्किएर दलालविरुद्ध उजुरी दिइन्।
 
घटना ३
२०७४ भदौ ४ गते कोहलपुरबाट प्रहरीले सुर्खेतका १५ वर्षीया किशोरीसहित दुई महिलाको उद्धार ग-यो। प्रहरीका अनुसार निराजन विकले दाङ तुल्सीपुरमा आफूले काम गर्ने कम्पनीमा जागिर लगाइदिने बहानामा उनीहरुलाई बेचबिखन गर्न लैजाँदै थिए। छिन्चुबाट कोहलपुर ल्याइपु¥याएका उनले बोर्डरमा दरोसँग बोल्नु भनेपछि ती किशोरीसँगै आएका बुवाले शंका लागेर प्रहरीमा खबर गरे । त्यसपछि प्रहरीले उद्धार ग-यो।
 
माथिका घटना प्रतिनिधिमूलक हुन्। मानव बेचबिखनका लागि कोहलपुरलाई मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बनाउने गरेको देखिएको छ। किशोरीहरू वैदेशिक रोजगारीको प्रलोभनमा परेर बेचिने गरेको पाइएको छ। भारतको सीमावर्ती क्षेत्रबाट दिल्ली पु-याई विभिन्न मुलुकमा किशोरीको ‘सप्लाई’ हुने गरेको प्रहरीले जनाएको छ। महिलालाई विभिन्न देश पु-याउन मानव बेचबिखन गर्ने गिरोहले नेपालगन्ज–रुपैडिहा नाका बढी प्रयोग गर्ने गरेको छ। वैदेशिक रोजगारका नाममा भारत पु-याउने र त्यहाँबाट घरेलु मजदुरका रूपमा खाडी मुलुक पु-याउने गरेको तथ्य खुल्न आएको कोहलपुर प्रहरीले जनाएको छ। 

मानव बेचबिखनविरुद्ध काम गर्दै आएको केआई नेपाल बाँकेकी इन्चार्ज अपना भट्टले प्रविधिको विकाससँगै मानव बेचबिखनका घटना पनि बढ्दै गएको बताइन्। ‘ग्रामीण भेगका महिला प्रविधिको सहज पहुँचमा भएकाले मानव तस्करलाई अझ सजिलो भएको छ,’ उनले भनिन्, ‘आर्थिक रूपमा विपन्न वर्गका परिवारलाई विभिन्न लालच देखाएर बेचबिखन गर्ने गरेको देखिन्छ।’ 

यस्तै मानवतस्करले बेचबिखन गर्ने उद्देश्य राखेर विभिन्न प्रलोभनमा पारी भारतीय नागरिकसँग विवाहसमेत गरिदिने गरेका छन्। चैत ११ गते कोहलपुरकी १४ वर्षीया किशोरीलाई भारत पिलिभिजन परनपुर जरपुराका २२ वर्षीय एक युवासँग विवाह गर्ने भनी भारत लैजाने तयारी हुँदै थियो। ती किशोरी त्यहाँबाट निस्कन सफल भई अभिभावकलाई जानकारी गराएपछि प्रहरीले दलाललाई  कोहलपुर–१२, चप्परगौडीबाट पक्राउ ग-यो। पक्राउ पर्नेमा कोहलपुर–१२, सुन्दरबस्तीकी ६० वर्षीया शीतली नेपाली, भारत पिलिभिजन परनपुर जरपुराका ५५ वर्षीय सूर्यजित सिंह र सोही ठाउँका २२ वर्षीय सत्नाम ठाकुर छन्। ती बालिकाको भारतीय नागरिक ठाकुरसँग विवाह गरिदिने भन्दै प्रलोभन देखाइएको प्रहरीको भनाइ छ। यस घटनामा अनुसन्धान जारी रहेको कोहलपुर प्रहरी प्रमुख यज्ञप्रसाद भट्टराईले जानकारी दिए। 

विदेशमा गिरोह, नेपालमा दलाल
मानव बेचबिखनको जालो विदेशसम्म फैलिएको प्रहरी अनुसन्धानबाट देखिएको छ। विदेशमा रहेको गिरोहले नेपालमा दलाल खटाउने गरेको पाइएको छ। सिन्धुपाल्चोकका किशोरीलाई विदेश पठाइदिएबापत सो गिरोहले दलाललाई प्रतिव्यक्ति डेढलाख रुपैयाँसम्म दिने गरेको खुलेको छ। दलालहरु पक्राउ पर्नुअघि २५ भन्दा बढी महिलालाई विदेश पठाइसकेको प्रहरी अनुसन्धानले देखाएको छ। काठमाडौंबाट दिल्लीमा किशोरीहरुको नागरिकता र पासपोर्ट कुरियरमार्फत पठाउने गरेको खुल्न आएको छ। विभिन्न नाका हुँदै दिल्ली पुगेपछि त्यहाँ नागरिकता र पासपोर्ट ‘रिसिभ’ गर्ने गरेको प्रहरीको भनाइ छ। ‘अहिले मानव बेचबिखनका गिरोहले हवाई मार्ग पनि प्रयोग गर्ने गरेका छन्,’ कोहलपुर प्रहरी प्रमुख भट्टराईले भने, ‘हामीले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कडाइ गरेका छौं।’

प्रकाशित: १४ चैत्र २०७४ ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App