१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

साना सवारीको मनपरीले यात्रुलाई सास्ती

सवारी चालकलाई ट्राफिक नियमबारे जानकारी दिँदै ट्राफिक प्रहरी । तस्बिर : डिबी बुढा

जुम्ला – साना सवारीले मनपरी भाडा असुल्न थालेपछि कर्णाली राजमार्गमा चल्ने लामोदूरीका यात्रुले सास्ती व्यहोरिरहेका छन् । सवारी टिकट काट्दा एउटा भाडा उल्लेख गर्ने र यात्रुबाट चर्को शुल्क असुल्न थालेपछि यात्रु मर्कामा परेका हुन्। यसअघि प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलको संयोजकत्वमा बसेको यातायात व्यवस्थापन समितिको बैठकले सुर्खेत सम्म ९ सय २८ रुपैयाँ र नेपालगञ्जसम्मको १ हजार एक सय ७८ रुपैयाँ भाडा निर्धारण गरिएको थियो। 

यातायात व्यवस्थापन समितिले तोकेको भाडादरमा सवारी सञ्चालन गर्न नमान्नेलाई हदै सम्मको कारवाही गर्न जिल्ला ट्राफिक कार्यालय जुम्ला र राजमार्ग आसपासका प्रहरी चौकीलाई निर्देशन गरिएको थियो । तर बैठकले भाडा तोकेको दुई साता बित्न नपाउँदै सवारी धनीले मनपरी भाडा असुल्न थालिसकेका हुन्। यातायात व्यवस्थापन समितिले तोकेको भाडामा सवारी चलाउन व्यवसायीले दस्तखत समेत गरेका छन्। 

अहिले नेपालगञ्ज सम्म एक हजार ६ सय रुपैयाँ र सुर्खेत सम्म एक हजार दुई सय रुपैया भाडा लिने गरेको यात्रु गुनासो गर्छन । यात्रुहरूका अनुसार चलानीमा र टिकटमा फरक फरक भाडादर उल्लेख गरिएको पाइएको हो । सनराईज यातायात हुँदै नेपालगंज जान लागेकी यात्रु विष्णुमाया बुढाले चलानीमा एक हजार दुई सय रुपैया उल्लेख गरेको भएपनि यात्रुबाट एक हजार पाँच सय रुपैया असुलेको गुनासो गरिन । उनका अनुसार बीचबाटोमा यात्रुले ठगिएको भन्दै आवाज उठाउँदा उल्टै प्रहरीलाई रिचार्ज खर्च उपलब्ध गराएर तै चुप, मै चुप गराउने गरेका छन्। 

ठूला बसले साविककै भाडामा सवारी बोक्दै आएकोमा साना सवारीले एकै यात्रुबाट पाँच सय रुपैयाँसम्म ठग्दै आएको यात्रुहरु बताउँछन्। यातायात व्यवस्थापन समितिले गरेको निर्णय विपरितका क्रियाकलाप भइरहँदा समेत स्थानीय प्रशासन र सरोकारवाला मुकदर्शक बनेको आरोप स्थानीयको छ । चलानी र टिकटमा एउटै भाडादर कायम गरिनु पर्ने, नियमविपरित चल्ने सवारीलाई रुपैयाँ खाएर छाड्ने प्रचलनको अन्त्य भई तत्काल कारवाही गरिनु पर्ने माग यात्रुको छ। 
जुम्लाबाट सनराईज, गो कर्णाली, रारा कर्णाली, बुलबुले, मध्येपश्चिम, काक्रेविहार र कर्णाली यातायातले साना सवारी सञ्चालन गर्दै आइराखेका छन । साना सवारी साधनले यात्रुवाट मनपरी शुल्क असुलेको बारेमा छानविन गरी तत्काल भाडामा एकरुपता ल्याउन माग गरिएको छ । यात्रु बिष्णुमाया बुढाले बाटोमा पर्ने प्रहरी चौकीमा महंगो भाडा असुलेको बारेमा गुनासो गर्दा प्रहरीले सवारी चालकबाट रकम लिएर कानुनको उलंघन गर्ने गरेको बताइन । उनका अनुसार टाठाबाठा भन्दा पनि सोझासिधा यात्रु बढी ठगिने गरेका छन्। जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख असई माधव रावत यातायात व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर्न व्यवसायीलाई दबाब दिँदै आएको बताए । उनले भने, समितिको निर्णय कार्यान्वयन नगर्ने समितिको सवारी चलाउन दिइने छैन । उनले यातायात व्यवसायीले पछिल्लो समयमा समितिसँग भएको सहमति कार्यान्वयन नगरेको बताए । अर्को बैठक आव्हान गरेर भाडा समायोजन बारेमा निर्णय हुने उनको भनाई छ। 

छोटो दूरीमा चल्ने सवारीले पनि यात्रुलाई भाडा महंगो लिने गरेको गुनासो बढेको छ । मनपरी भाडा असुल्ने, क्षमता भन्दा बढी यात्रु कोच्नेदेखि यात्रुवाहक सवारीमा मालसामान राख्ने गरेको पाइएको हो । ट्राफिक कार्यालय जुम्लाका प्रमुख असई रावत यात्रु आफ्नै कारणले ठगिने गरेको बताउँछन्। उनले भने, यात्रुको दबाबका कारण पनि सवारीले क्षमता भन्दा यात्रु राख्ने गरेको पाइएको छ। हतार भएको वाहनामा जति भाडा पनि तिरिदिने परिपाटीले कर्णाली सडकमा समस्या उब्जने गरेको उनको भनाई छ। 

 

प्रकाशित: १५ चैत्र २०७४ ०८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App