७ वैशाख २०८१ शुक्रबार
राजनीति

गाउँपालिका उपाध्यक्षको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

जुम्ला– जुम्लाको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायको परीक्षा दिँदै गरेकी एक जना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। राहदेव मावि मोफ्लामा उपाध्यक्ष रोकायको परीक्षा दिँदै गरेकी विमला रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको हो। नक्कली परीक्षार्थी विमलाले लिएको प्रवेश पत्रको फोटोमा केरमेट गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय जुम्लाबाट गएको प्रहरी नायव उपरीक्षक डा. तपनकुमार दाहालको टोलीले उनलाई पक्रेको हो।

डीएसपी दाहालका अनुसार जिल्ला शिक्षा कार्यालय जुम्लामा पेश गरिएको कागजात र परीक्षा हलमा लिइएको प्रवेश पत्र तुलना गर्दा विवरण मिलेको थिएन। उनले भने, ‘स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको परीक्षा दिँदै गर्दा उपाध्यक्ष रोकायाले राखेको नक्कली परीक्षार्थी पक्राउ परेकी हुन्।’

राहदेव मावि मोफ्ला केन्द्रमा २ सय २० जना परिक्षार्थी छन्। उपाध्यक्षको सट्टामा परीक्षा दिने नक्कली परीक्षार्थी विमलालाई दस्तखत किर्ते मुद्धा लगाइने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। सट्टामा परीक्षा दिन लगाउने उपाध्यक्ष रोकायालाई पक्राउ गरेर कारवाही गर्ने डीएसपी दाहालले जानकारी दिए। उनका अनुसार उपाध्यक्ष रोकाया फरार छिन्। विमलाले यसअघिका सबै परीक्षा दिइसकेकी छिन्।

यसअघि कालिका मावि तलिकुडुमा अर्कैको परिक्षा दिँदै गरेका ४ जनालाई नियन्त्रणमा लिएर दस्तखत किर्ते अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १५ चैत्र २०७४ १३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App