७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

महिला कण्डम प्रयोगकर्ता बढे

पाल्पा– महिला कण्डम वितरण गर्ने नेपाल परिवार नियोजन संघका अनुसार जिल्लामा महिला कण्डम प्रयोगकर्ताहरु बढ्न थालेका छन्। सन् २०१६ मा ३२ जनाले महिला कण्डम लगेकोमा २०१७ मा १ सय ३० जनाले यसको प्रयोग गरेका छन्।

चालु आवको दुई महिनाको अवधिमा १६ जना प्रयोगकर्ताहरुले महिला कण्डम लगेको शाखा प्रबन्धक शोबाकान्त न्यौपानेले बताए। धेरैलाई अहिलेसम्म महिला कण्डमका विषयमा जानकारी नभएको तथा प्रयोग गर्न हिचकिचाउने गरेको उनी बताउँछन्। बारम्बार यौनहिंसामा पर्नेहरु तथा घरमा जाँडरक्सी खाएर श्रीमतीसँग इच्छा विपरित यौनकार्य गर्नेहरुका लागि यसले फाइदा पु¥याउने गर्दछ।

पुरुष कण्डमको माग पनि बढ्दो छ। संघले २०१६ मा ६५ हजार ३३१, २०१७ मा ८८ हजार ४२२ र चालु आवको दुई महिनामा १२ हजार ४७५ वटा कण्डम वितरण गरेको छ। स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली ‘डिएचएसआईएसटु’ मा रिपोटिङ्ग तथ्याङ्क अनुसार गर्भनिरोधक उपाय अवलम्बन गर्ने २०१७ मा १ हजार २ सय ३२ नयाँ प्रयोगकर्ता र १२ हजार ५ सय ३१ निरन्तर प्रयोगकर्ता छन्। २०१८ को दुई महिनाको अवधिमा १ सय ६ जना नयाँ प्रयोगकर्ता थपिएको तथ्याङ्क छ।
 
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालु आवको फागुन मसान्तसम्म जिल्लामा जम्मा २ लाख ३ हजार ८ सय ८ वटा कण्डम वितरण गरिएको छ। सोही अवधिमा पिल्स १५ हजार ५ सय ३१ साईकल, डिपो २६ हजार ९ सय ७७, आईयुसिडी २३ हजार २ सय ४९ र इमप्लान्ट २१ हजार ८ सय ९० प्रयोगकर्ताहरु जिल्लामा रहेका छन्।

गाउँ, टोल र समुदायमा गर्भपतनबाट हुने भेदभाव र लाञ्छना हटाउनुपर्नेमा स्वास्थ्यस्वयंसेविकाहरु प्रतिबद्ध रहेको समेत संघले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बताए। उनीहरुले यौन तथा प्रजनन शिक्षा संवेदनशील विषय भएकोले गाउँ तथा शहरमा आफुहरुले अभियाननै सञ्चालन गर्ने उनीहरुले बताए। संघले जिल्लामा एक महिनाभित्रै पाठेघरको क्यान्सर परीक्षण तथा उपचार सेवा सुरु गर्ने जनाएको छ।

प्रकाशित: १५ चैत्र २०७४ १६:१३ बिहीबार

महिला कण्डम प्रयोगकर्ता बढे