६ वैशाख २०८१ बिहीबार
अन्य

तिमाल जात्रा सुरु

तामाङ जातिले मनाउने तिमाल जात्रा सुरु भएको छ । चैत शुक्ल पूर्णिमामा मनाइने जात्रा बिहीबार सुरु भएको हो । बिहीबार नमोबुद्ध दर्शन गरी चैत शुक्ल चतुर्दशी (शुक्रबार) बौद्धमा मेला भरिन्छ । त्यसपछि बालाजु बाइसधारामा नुहाएर चैत शुक्ल पूर्णिमाको दिन स्वयम्भूमा ठूलो मेला लाग्छ।

तिमाल जात्रा मुख्य रूपमा बौद्ध र स्वयम्भूमा लाग्छ । चैत पूर्णिमाको अघिल्लो दिन बौद्धमा जात्रा लाग्छ । विभिन्न जिल्लाबाट आएका तामाङले बौद्ध स्तूप परिक्रमा गर्ने र बत्ती बाल्ने गर्छन् । मृतकको मुक्तिको कामना गर्दै रातभर बत्ती बाल्ने चलन रहेको संस्कृति अन्वेषक रविन्द्र तामाङ बताउँछन्।

उनी भन्छन्, ‘स्तूपको प्रदक्षिणा गरी, मानेहरू घुमाउँदै स्तूपको उत्तरतर्फको तेस्रो तलामा रहेको एक सय आठ खोपामा दाहिने पारी घुम्न थाल्ने गरिन्छ । लामा पुरोहितलाई मृतकको मुक्तिका लागि पाठपूजा पनि गर्न लगाउँछन् ।’ टाढाबाट आएका रातभर बौद्धमा सेलो गाएर रात बिताउने गरेको तामाङ बताउँछन् ।पूर्णिमाको बिहानै बौद्धबाट बालाजुको बाइसधारामा आएर जात्रालुले स्नान गर्छन् । पूर्णिमाकै दिन बाइसधाराबाट जात्रालु स्वयम्भु पुग्छन् । स्वयम्भूमा पनि बौद्धमा जस्तै पूजा र दर्शन गरिने अन्वेषक तामाङ बताउँछन्।

यो जात्रा तामाङहरूले प्राचीनकालदेखि नै मान्दै आएको विश्वास गरिन्छ । परम्परादेखि नै काभ्रे जिल्लाको तिमाल भेगका तामाङको बाक्लो सहभागिता रहेका कारण यो जात्राको नाम तिमाल जात्रा रहन गएकोे रविन्द्र तामाङ बताउँछन् । जात्रा भर्न नेपाल, भारत, भुटान, बर्मादेखिका तामाङ आउने गरेको उनी बताउँछन्।

जात्राका लागि स्वयम्भू र बौद्धमा तयारी सकिएको छ। जात्राको व्यवस्थापन र सुरक्षाका लागि विभिन्न स्वयंसेवी संघ–संस्थालाई जिम्मा दिइएको स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमिति उपाध्यक्ष ज्ञानु लामाले बताए । भूकम्पले भत्किएका कारण स्वयम्भूको तामाङ गुम्बामा पूजा नहुने उनले बताए । विकल्पमा विभिन्न संघ–संस्थाले लामाको व्यवस्था गरेको उनले बताए।

यो जात्राको उत्पत्तिबारे ठोस तर्क र प्रमाण फेला परेको छैन । काठमाडौं उपत्यकाको स्थापना तथा बौद्ध र स्वयम्भू स्तूप निर्माणसँग यो जात्रा सम्बन्धित हुन सक्ने अन्वेषक तामाङ बताउँछन्।

‘काठमाडौं उपत्यका दहका रूपमा रहेका वेला बन्धुमती नगरबाट आएका विपश्वी बुद्धले जामाचो नागार्जुनको डाँडाबाट यस दहको अवलोकन गरी चैत पूर्णिमाका दिनमा हालको गुहेश्वरी रहेका ठाउँमा कमलको फूल रोपेकाले त्यसैको सम्झनामा जात्रा मनाउन थालिएको मान्न सकिन्छ । यसबाट यस जात्राको उत्पत्ति स्वयम्भू स्तूप निर्माणको पृष्ठभूमिबाटै भएको अनुमान गर्न सकिन्छ,’ उनी भन्छन्, ‘यति मात्र नभई जात्रा बौद्ध स्तूपबाट सुरु हुने हुँदा यसको उत्पत्ति बौद्ध स्तूपको निर्माणको पृष्ठभूमिसँग पनि गाँसिएको हुन सक्छ।’

पहिलेपहिले तिमालका तामाङ वर्षभरि कमाएको धन खर्च गरेर जात्रा भर्न बौद्ध, स्वयम्भू आउने गरेको किंवदन्ती पाइन्छ । तामाङ महिला बाटाघाटामा सुनमा पाइन हाल्दै, नाचगान गर्दै आउने–जाने गर्थे भन्ने जनश्रुति रहेको रविन्द्र तामाङ बताउँछन् । मकवानपुर राज्यको अधीनस्थ रहेको तिमालका अन्तिम राजा रिञ्जेन दोर्जेको पाला (वि.सं. १८१९) सम्म यो जात्रामा राजा स्वयं सहभागी भएको इतिहास पाइएको अन्वेषक तामाङले बताए।

 

प्रकाशित: १६ चैत्र २०७४ ०३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App