coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

बलात्कारविरुद्ध सक्रिय व्यवहार

२०३८ साल वैशाखमा भएको एउटा भयावह बलात्कार काण्डमा संलग्न अपराधीहरू अहिलेसम्म सार्वजनिक हुन सकेका छैनन्। ‘नमिता–सुनिता हत्याकाण्ड’ को नामले चिनिने उक्त घटना भएको ३७ वर्ष पुग्न लाग्दा पनि रहस्यमै छ। काठमाडौंबाट पोखरा घुम्न गएका नमिता र सुनिता भण्डारी र मीरा पराजुलीको बलात्कारपछि हत्यामात्र भएन, त्यो घटनाका साक्षी मानिएका वन विभागका कर्मचारी चूडामणि अधिकारीको समेत प्रहरीले हत्या गरेको घटना अहिले पनि धेरैका स्मृतिमा ताजा छ। त्यो बलात्कार र हत्या काण्डमा संलग्न व्यक्तिहरूमाथि कारबाही हुन सकेको भए नेपाली समाजमा यस्ता अपराध गर्नेहरूले डराउनुपर्ने अवस्था आउन सक्ने थियो। शक्तिशाली व्यक्तिहरू जोडिएपछि ती घटनामा संलग्नलाई कारबाही नभई दण्डहीनताले प्रश्रय पाउँदा आज समाजमा त्यस्तै घटना बढेका छन्। उक्त बलात्कार तथा हत्या काण्डमा जसरी प्रहरी प्रशासनको समेत संलग्नता थियो, आज पनि त्यसरी नै संलग्नता देखिँदै आएको छ। बलात्कारमा प्रहरीसमेत आफैं संलग्न वा घटनामा संलग्न व्यक्तिलाई जोगाउन सक्रिय हुँदै आएको देखिएको छ। राजधानी काठमाडौंको दरबारमार्गस्थित होटल ल्यान्डमार्कमा गत माघ ७ मा भएको सामूहिक बलात्कार काण्डमा संलग्न विकास गौतम, शैलेश कार्की, दीपक श्रेष्ठ र रवि पौडेललाई जोगाउन खोज्ने प्रहरी नै अहिले कारबाहीमा तानिएका छन्। दरबारमार्ग प्रहरीका डिएसपी तिलक भारतीलाई कार्यालयबाट हटाइनुका साथै प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र प्रहरी नायब निरीक्षक चन्द्रबहादुर भण्डारीलाई निलम्बन गरी कारबाही भइरहेको छ।

मुलुकमा भइरहेका बलात्कार र महिला हिंसाका घटनालाई गम्भीरतापूर्वक लिँदै सरकारले कानुनमा आवश्यक सुधार गर्न र सचेतता कार्यक्रम अघि बढाउनु आवश्यक छ। बलात्कारका घटनामा दण्डहीनताले प्रश्रय नपाउने सुनिश्चितता हुनुपर्छ।

केही समययता बलात्कार र हत्याका घटना दैनिकजसो सार्वजनिक हुन थालेका छन्। यसको अर्थ अहिलेमात्र यस्ता घटना भएका हुन् भन्ने होइन। दण्डहीनताको अवस्था रहेका कारण दैनिकजस्तो आपराधिक घटना हुँदै आए पनि सार्वजनिक हुन सकेका थिएनन्। समाजमा पहुँच भएका व्यक्तिहरूले प्रहरी प्रशासनकै मिलेमतोमा बलात्कारका घटनासमेत मिलाउने गरेका कारण पीडितले खुम्चिएर बस्नुको विकल्प थिएन। ज्यानै जाने घटना भएपछि मात्र स्थानीय प्रशासनले यसमा ध्यान दिएर खोजबिन गरेको पाइन्छ। तर, कतिपय घटनामा उजुरी दर्ता गर्नसमेत नमानेर पीडित परिवारले साह्रै दुःख पाएका घटनासमेत सार्वजनिक भएका छन्। भर्खरै सुर्खेतमा एसइई परीक्षा दिन आएकी छात्रा गोरीकला रोकायको बलात्कारपछि हत्या भएको घटना जिउ नै सिरिंग पार्ने खालको छ्। सुर्खेत पञ्चपुरी नगरपालिका बाबियाचौरमा परीक्षा दिन आएकी छात्राको बलात्कार र हत्यामा संलग्नता रहेको आरोपमा ट्राफिक प्रहरी जवान हरि कोइराला, पञ्चपुरी– ८ माझीगाउँका खुमप्रसाद बाँस्तोला र निजका भाइ लक्ष्मीप्रसाद बास्तोला अहिले थुनामा परेका छन्। यस्तो अमानवीय घटनमा प्रहरी जवान संलग्न हुनुले त्यो संस्थाले आचरणबारे तालिम दिन नसकेको देखिएको छ। एउटा प्रहरी कर्मचारीले गर्न हुने र नहुने विषयमा जागरण अभियान सञ्चालन गर्नुपर्ने देखिएको छ। बलात्कार र हत्यामा संलग्न हुनेदेखि तिनलाई बीचैमा मिलाउनेसम्मका घटनामा प्रहरीको संलग्नताले त्यो संस्थाप्रतिको जनआस्था कमजोर हुन जानेछ। कानुन र व्यवस्था कायम गर्नुपर्ने निकायका व्यक्तिहरू अनुशासित हुन सक्दा पनि धेरै फरक पर्छ। वास्तवमा बलात्कारका घटनामा घरपरिवार र छरछिमेक तथा निकट व्यक्तिहरूको संलग्नता देखिनु सबैभन्दा डरलाग्दो पक्ष हो। घरबाहिर अध्ययन र कामको सिलसिलामा जाने किशोरी र युवतीहरू आक्रमणको सिकार भएकै छन्। त्योभन्दा खतरनाक निकटस्थ व्यक्तिबाटै यस्तो भयावह स्थिति आउनु आफैंमा चिन्ता गर्नुपर्ने अवस्था हो। यही चैत ११ गते दिउँसो पूर्वी चितवन खैरहनीकी १० वर्षीया बालिकालाई एउटै कक्षामा पढ्ने दुई साथीले सामूहिक बलात्कार गरेको घटनाले स्थिति अत्यन्तै भयावह अवस्थामा पुगेको देखाउँछ । चिनेजानेका र निकट व्यक्तिबाटै यस किसिमको व्यवहार हुनु भनेको समाजमा नैतिकताको धरातल खस्किनु हो।

देशका प्रमुख स्थानमा महिला पुग्दैमा आधा आकाश ढाक्ने नारी जातिको उत्थान भइहालेको मान्न सकिने रहेनछ। ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्त तत्र देवता’ (जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवताको बास हुन्छ) भनेर ठूल्ठूलो स्वरमा आदर्श छाँट्दैमा पनि समाज सुसंस्कृत भएको मान्न सकिन्न। महिलाले मुलुकमा गर्न नसक्ने काम केही रहेनन्। तर, तिनलाई जीवनका हरेक क्षणमा असुरक्षित तुल्याएर तिनको सहभागिता सबै ठाउँमा कसरी हुन सक्ला र? राजधानीको दरबारमार्गमा मात्र होइन, उपत्यकाकै लतिलपुरमा अर्की युवतीसमेत केही अघि सामूहिक बलात्कारको सिकार भइन्। त्यो घटनामा संलग्नलाई कारबाही गराउन जाहेरी दिँदासमेत नलिइएको तथ्य सार्वजनिक हुन पुग्दा न्याय आफैं डाँको छाडेर रुनुपर्ने अवस्था सिर्जना भयो। डल्लुमा एक किशोरी बलात्कारपछि मारिइन्। पीडित परिवारले अझै न्याय पाउन सकेको छैन। गत फागुन १६ गते पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर–५ निचुटामा आठ वर्षीया बालिका सामूहिक बलात्कारको सिकार भइन्। निचुटाकै एक सामुदायिक विद्यालयको कक्षा १ मा अध्ययनरत बालिकालाई माछा दिने प्रलोभन दिएर तीन जना युवकले बलात्कार गरेका थिए। सानोतिनो प्रलोभन दिएर हुने यस्ता घटनाबाट समुदायले सजग हुनुपर्ने अवस्था पनि सिर्जित भएको छ। खासगरी सामूहिक बलात्कारका घटना व्यापक भइरहँदा भारतको नयाँदिल्लीमा केही वर्षअघि भएका सामूहिक बलात्कारका घटनाले सिंगै मुलुकको अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत हुन पुगेको थियो। त्यहाँका नागरिक अन्तर्राष्ट्रिय क्षेत्रमा पुग्दा बलात्कारका घटनाका बारेमा चासो राख्दा उनीहरूलाई लाज लाग्ने अवस्था थियो। त्यतिमात्र होइन भारत भ्रमणमा जान चाहनेहरूले समेत एकपटक सोच्नुपर्ने अवस्था आएको थियो। अहिले हुँदाहुँदा नेपालको नाम पनि बदनाम भइरहेको छ। मुलुकमा भइरहेका बलात्कार र महिला हिंसाका घटनालाई गम्भीरतापूर्वक लिँदै सरकारले कानुनमा आवश्यक सुधार गर्न र सचेतता कार्यक्रम अघि बढाउनु आवश्यक छ। बलात्कारका घटनामा दण्डहीनताले प्रश्रय नपाउने सुनिश्चितता हुनुपर्छ। उतिबेला नमिता–सुनिता बलात्कार तथा हत्याकाण्डका दोषी पत्ता लगाई हदैसम्म कारबाही गर्न सकेको भए मुलुकमा यस्तो भयावह स्थिति हुने थिएन। कानुनको डरले सुध्रिन बाध्य पार्न सक्ने थियो।

प्रकाशित: १६ चैत्र २०७४ ०६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App