८ वैशाख २०८१ शनिबार
अन्य

युरोपियन क्रोध

सरकार यति बेला बहुत क्रुद्ध छ । सरकार मात्र होइन, विपक्षी पनि क्रुद्ध छ । जो विपक्षी होइनन्, उनीहरू पनि क्रुद्ध छन् । यसर्थ यति बेला पूरा देश नै क्रुद्धमय छ भन्दा फरक नपर्ला।

अहिले जहाँ जानुस्, क्रोधबाहेक केही भेटिँदैन । संसद्, सरकार, सडक, चियापसल, पाँचतारे होटल, पार्टी कार्यालय, सरकारी कार्यालय जहाँ गए पनि क्रोधैक्रोध मात्र भेटिन्छ ।
हिजो पनि बाटोमा एकजना मन्त्रीज्यू भेटिनुभयो ।

पहिलेदेखि चिनजान भएकै मन्त्री हुनुहुन्थ्यो । उहाँ गाडीमा आउँदै हुनुहुन्थ्यो । गाडीको डिक्कीमा भने एउटा ठूलो पोको राखिएको थियो । सामान्यतः मन्त्री चढ्ने गाडीको डिक्कीमा यस्तो पोका–सोका राख्ने गरिँदैन । तर उहाँको गाडीमा ठूलै पोको राखेको देखेर मलाई जिज्ञासा भयो । मैले त्यसबारे जान्ने प्रयासस्वरूप उहाँलाई अभिवादन गरेँ, ‘मन्त्रीज्यू नमस्कार !’

‘नमस्कार, नमस्कार !’ उहाँले पहिले–पहिलेजस्तै हात मिलाउनुभयो ।‘अनि, मन्त्रीज्यू कता नि ? बजार गएर आउनुभएको कि ?’ मैले प्रश्न गरेँ ।‘होइन, मन्त्रालय जान लागेको ।’ उहाँले सामान्य उत्तर दिनुभयो ।‘अनि यो !’ मैले पोकातिर इसारा गरेँ ।‘ओहो यो ! यो त क्रोध हो । क्रोधको पोको !’ उहाँ हल्का गम्भीर देखिनुभयो।

‘क्रोधको पोका ? कहाँबाट ल्याउनुभएको ?’ कुरो सुनेर म पनि हल्का गम्भीर भएँ।मन्त्रीज्यूले भन्नुभयो, ‘बालुवाटारबाट ल्याएको हो । अहिले बालुवाटार जाने सबैलाई यही पोका दिएर पठाउने गरिएको छ ।’‘अनि, कहाँ लाने त यो पोको ?’ मैले सोधेँ ।उहाँले भन्नुभयो, ‘यो सबैतिर बाँड्ने हो । मन्त्रालय लगेर मातहतका सबै विभाग र कार्यालयतिर बाँडेर पठाउँछु ।

अहिले सबै मन्त्रीहरू यही क्रोधको पोको लिएर दौडिरहेका छन् ।’मन्त्रीज्यूको उत्तरमा झन् ठूलो रहस्य लुकेको जस्तो लाग्यो । पुनः सोधेँ, ‘हैन, यति धेरै क्रोध कहाँबाट आएछ त बालुवाटारमा ? विदेशबाट आएको हो कि ?’मन्त्रीज्यूले स्पष्ट पार्ने कोसिस गर्दै भन्नुभयो, ‘विदेशबाट आएको त होइन, तर विदेशका कारण आएको चाहिँ हो । अस्ति भर्खरै युरोपियन युनियनको चुनावी रिपोर्ट आयो नि, त्यसैको फलस्वरूप बालुवाटारमा यो क्रोध उत्पन्न भएको हो।

त्यो पनि एकैचोटि यति धेरै उत्पन्न भयो कि त्यो बालुवाटारमा राख्ने ठाउँ नभएर सबैतिर वितरण भइरहेको छ ।’‘यस्तो अथाह क्रोध उत्पन्न हुने गरी युरोपियन युनियनको प्रतिवेदनमा के थियो नि मन्न्त्रीज्यू ?’मन्त्रीज्यू एकाएक क्रोधित हुनुभयो । उहाँले क्रुद्ध हुँदै भन्नुभयो, ‘नचाहिने कुरा थियो ।’‘कस्तो नचाहिने ?’

यति भन्दै उहाँले आफ्नो गाडीबाट एक मुठी क्रोध झिकेर मलाई पनि दिनुभयो । ‘ल तपाईं पनि लिएर जानुस्, अलिकति क्रोध । अनि कुरा बुझ्नुहुन्छ ।’ मन्त्रीज्यूले दिनुभएको क्रोध मैले आफ्नो कोटको भित्री गोजीमा हालेँ । सायद क्रोध आएपछि म पनि कुरा बुझ्छु कि ?

‘नेपाललाई केही सुझाव थियो । अब नेपालले के गर्नुपर्छ, के गर्नुपर्दैन भन्ने सुझाव त्यसमा दिइएको थियो । त्यही सुझावका कारण यो क्रोध उत्पन्न भएको हो ।’‘तर, युरोपियन युनियन त हाम्रो असल मित्र हो । मित्रले दिएको सुझावमा किन क्रोध आउनुपर्‍यो त मन्त्रीज्यू ?’ मैले नबुझेर सोधेँ।

मन्त्रीज्यूले भन्नुभयो, ‘सच्चा मित्रको काम भनेको हामीलाई जे चाहिएको हो, त्यो दिने हो । हामीलाई चाहिँदै नचाहिने कुरो दिएर के काम ? चाहिने कुरो पो दिनुपर्छ । अहिले हामीलाई चाहिरहेको छ पैसा । नगद सहयोग । तर युरोपियन युनियन पैसा दिनुको साटो सुझाव दिइरहेका छन् । के काम त्यो सुझावको ?’

‘तर, म त सुन्दै छु, युरोपियन युनियनले नेपाललाई पैसा पनि दिएको छ । विभिन्न समयमा आर्थिक सहयोग गरेको भनेर समाचार त आइरहेकै देख्छु म त ।’ मैले आफूले कुनै बेला पढेको समाचारको ज्ञान प्रयोग गरेँ ।‘अब हामीलाई त्यो पैसा पनि चाहिएन,’ मन्त्रीज्यूको क्रोधमाथि अर्को थपियो, उहाँसँग क्रोधको कुनै कमी थिएन।

‘किन र मन्त्रीज्यू ? हामीलाई त आर्थिक सहयोग आवश्यक छ भन्नुभएको होइन तपाईंले ?’
‘आवश्यक त छ, तर युरोपियन युनियनको आवश्यक छैन,’ उहाँले आफूसँग भएको पूरा क्रोध बाहिर निकाल्दै भन्नुभयो, ‘युरोपियन युनियनले हामीलाई दिन आर्थिक सहयोगको कुनै अर्थ छैन । त्यो सहयोगले हाम्रो विकास हुँदैन ।’‘किन मन्त्रीज्यू ?’

‘हेर्नुस्, युरोपियन युनियनले दिने पैसा कहाँ–कहाँ प्रयोग भइरहेको छ ? उनीहरूले दिएको पैसा हामीले संसदीय व्यवस्थालाई सुदृढ बनाउने, सांसदहरूलाई तालिम दिने, लोकतन्त्रलाई बलियो बनाउने, गाउँ–गाउँमा लोकतन्त्रबारे प्रचार गर्ने, गाउँलेलाई तालिम दिने, शान्ति प्रक्रियालाई सहयोग गर्ने, यस्ता काममा खर्च गर्नुपर्छ । त्यस्तो पैसा हामीलाई के काम ?’

‘अनि कस्तो पैसाको काम छ त ?’ मैले आफूले थाहा नपाएको बुझ्न खोजेँ।‘हामीलाई त अहिले विकासका लागि पैसा चाहिएको छ । देश समृद्धिको बाटोमा गइरहेको छ । देशले विकासको संकल्प गरिसक्यो । त्यसैले पैसा पनि विकासका लागि चाहिएको छ । तर युरोपियन युनियन त्यसका लागि पैसा दिँदैन । लोकतन्त्र सुदृढ गर भनेर पैसा दिन्छ।

पैसाले लोकतन्त्र सुदृढ हुन्छ ? त्यसैले त्यो पैसाको आवश्यकता छैन । जति पैसा दिन्छ, त्योभन्दा बढी सुझाव दिन्छ । यति बेला हामीलाई सुझावको कुनै आवश्यकता छैन । भएकै सुझाव त कहाँ राखुँ भइरहेको बेला अर्को सुझाव के काम ? हामीलाई यति बेला पैसा चाहिएको छ । आर्थिक सहयोग चाहिएको छ । दिने भए त्यही देऊ नभए सुझाव नदेऊ । हामी त्यही भनिरहेका छौँ।’

यति भन्दै उहाँले आफ्नो गाडीबाट एक मुठी क्रोध झिकेर मलाई पनि दिनुभयो । ‘ल तपाईं पनि लिएर जानुस्, अलिकति क्रोध । अनि कुरा बुझ्नुहुन्छ ।’मन्त्रीज्यूले दिनुभएको क्रोध मैले आफ्नो कोटको भित्री गोजीमा हालेँ । सायद क्रोध आएपछि म पनि कुरा बुझ्छु कि ?
 

प्रकाशित: १७ चैत्र २०७४ ०१:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App