८ वैशाख २०८१ शनिबार
कला

‘फान’ अवार्डमा ‘छक्का पञ्जा’को दबदबा

काठमाडौं– अघिल्लो वर्ष रिलिज भएर सर्वाधिक कमाईको रेकर्ड राखेको फिल्म ‘छक्का पन्जा’ले राजधानीमा शुक्रबार भएको दोस्रो संस्करणको ‘फान अवार्ड २०७३’मा ‘उत्कृष्ट फिल्म’ सहित १० विधामा अवार्ड जितेको छ। 

फिल्मका लागि दीपकराज गिरी ‘उत्कृष्ट पटकथा’, ‘उत्कृष्ट खलपात्र’, दीपाश्री निरौला ‘उत्कृष्ट नव–निर्देशक’, केदार घिमिरे ‘उत्कृष्ट हास्य कलाकार’, जितु नेपाल ‘उत्कृष्ट सहअभिनेता’, वर्षा राउत ‘उत्कृष्ट सहअभिनेत्री’, दीपकराज, केदार घिमिरे र जितु नेपाल ‘उत्कृष्ट संवाद’, राजनराज सिवाकोटी ‘उत्कृष्ट संगीतकार’, कविराज गहतराज ‘उत्कृष्ट नृत्य निर्देशक’ बने।

फिल्म ‘जात्रा’ कथा अभिनेता र सम्पादनमा विजेता बन्यो ।  फिल्मका लागि विपिन कार्की ‘उत्कृष्ट अभिनेता’, मित्र गुरुङ ‘उत्कृष्ट सम्पादक’ भए । त्यस्तै फिल्म ‘गाजलु’का लागि निर्देशक हेमराज बिसी ‘उत्कृष्ट निर्देशक’ र नायिका सृष्टि श्रेष्ठ ‘उत्कृष्ट नवनायिका’, फिल्म ‘डाइङ क्याण्डल’का लागि सिर्जना सुब्बा ‘उत्कृष्ट अभिनेत्री’, रविन आचार्य ‘उत्कृष्ट छायाँकार’, ‘के म तिम्रो होइन र’का लागि आर्यन अधिकारी ‘उत्कृष्ट नव–नायक’, गौरी मल्ल ‘उत्कृष्ट चरित्र अभिनेत्री’ बने।

यसैिगरी फिल्म ‘किस्मत २’का लागि अभिनेता सन्तोष पन्त ‘उत्कृष्ट चरित्र अभिनेता’, ‘जय परशुराम’का लागि एनबी महर्जन ‘उत्कृष्ट द्वन्द्व निर्देशक’, ‘शब्द’का लागि डा. कृष्णहरि बराल ‘उत्कृष्ट गीतकार’, ‘पुरानो डुंगा’का लागि कालिप्रसाद बास्कोटा ‘उत्कृष्ट गायक’ र ‘लुट २’का लागि मीना निरौला ‘उत्कृष्ट गायिका’ बनिन्।

नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनेता नीर शाहलाई १ लाख ११ हजार १ सय ११ रुपैंयाँसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरे । त्यस्तै चलचित्र पत्रकारद्वय लक्ष्मण सुवेदी र ध्रुव लम्साललाई ‘चलचित्र पत्रकारिता सम्मान’ प्रदान गरिएको थियो।  

कार्यक्रममा प्रधानमन्त्री ओलीले चाँडै हुन लागेको आफ्नो भारत भ्रमणमा फिल्मकर्मीलाई पनि सहभागी गराउने आश्वासन दिए । ‘यसपटक प्रधानमन्त्रीको भ्रमणमा चलचित्र क्षेत्रको पनि प्रतिनिधित्व हुँदैछ । तपाइहरुले बुझ्नुभयो होला म के तर्फ संकेत गर्दैछु ’ उनले कार्यक्रममा भनेका थिए। 

ओलीले कथा भन्दा पनि समयको माग अनुसारका फिल्म बनाउन पनि आग्रह गर्दै नेपाल ह्यान्डसम र ब्युटीफुलहरुको देश भएकाले अभिनयलाई देशको माग अनुसार ढाल्न सुझाव दिए। ओलीले आफ्नो भारत भ्रमणका क्रममा बलिउडका कलाकारसँग भेटेर सहकार्य गर्ने टुंगो लागेको पनि जानकारी गराए। 

 

प्रकाशित: १८ चैत्र २०७४ ०४:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App