५ वैशाख २०८१ बुधबार
समाज

बिल–भरपाईं पेस नगर्दा पुननिर्माणको काममा ढिलाईं

इटहरी- झन्डै आठ महिना अघि आएको बाढीले इटहरीका चारवटा वडा तहस–नहस भए। चार सय ९० परिवारको घर भत्काएर पूर्ण रुपमा क्षती पुर्‍यो। घर भत्काएपछि पीडित परिवार थुप्रै दिनसम्म विद्यालयमा आश्रय लिएर बसे। बाढी पीडितले दाताको सहयोगमा अधिकतरले घर ठड्याएर बस्न थालेका छन्।

साउन २७ गते राति आएको बाढीले इटहरी वडा नं. ३, ४, ९ र १० मा तहसनहस पारेको थियो। नदीमा आएको बाढीले इटहरी क्षेत्रमा मात्र नौ जनाको मृत्यु भएको थियो । बाढीले गर्दा इटहरीसहित जिल्लाभरका पीडित परिवारका निम्ति सरकारले पछिल्लो समय प्रति परिवार २५ हजार निकासा गरेर वितरण स्थानीय स्थानीय तहलाई जिम्मा दिइयो ।  यो रकम वितरण गर्न स्थानीय तहले भने ढिलाई गरेका छन्।

‘पैसा वितरण गर्न  पठाएका छौं । भरपाई आई सकेको छैन,’ इटहरी उपमहानगरपालिकाका प्रशासकीय अधिकृत पीताम्बर अधिकारीले भने । उनका अनुसार, पैसा वितरण गरेको भरपाई उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयले ताकेता गरि रहेपनि वितरण नसकिदा समस्या भएको छ। स्थानीय तहले बाढी पीडितका निम्ति विभिन्न संस्था र सरकारी निकायबाट प्राप्त भएका सामग्री भने तत्कालै उपलब्ध गराइएको थियो।

 ‘अब दुई–तीन दिन भित्रमा भने जसरी भएपनि पैसा वितरण गरेको भरपाईं प्रशासन कार्यालयमा पेस गर्नेछौं,’ अधिकारीले नागरिकसँग भने।

यस बर्ष आएको बाढीले विनास निम्त्यिाउँदा सुनसरीमा दुई अर्ब भन्दा बढीको क्षती पुगेको थियो। बाढी पीडितलाई क्षतीपूर्ति प्रदान गर्नका निम्ति सरकारले रकम निकासा गरेपछि जिल्ला प्रशासन कार्यालयले माघ ३ गते जिल्लाका १२ वटै स्थानीय तहलाई गरि कुल आठ करोड आठ लाख रुपैयाँ रकम उपलब्ध गरायो। यो रकम कुल तीन हजार दुई सय ३२ परिवारलाई घर मर्मत गर्न र लुगा खरीद गर्न भनी उपलब्ध गराएको थियो।  

प्रशासन कार्यालयका अनुसार, सवैभन्दा बढी रकम गढी गाउँपालिकालाई एक करोड ५६ लाख ७५ हजार प्रदान गरिएको थियो । गढी गाउँपालिकापछि दुहवी नगरपालिकालाई एक करोड तीस लाख ७५ हजार र इटहरीलाई एक करोड २२ लाख ५० हजार उपलब्ध गराइएको थियो। यस्तै, भोक्राहा नरसिंह गाउँपालिकालाई एक करोड नौं लाख २५ हजार, इनरुवा नगरपालिकालाई ३६ लाख ५० हजार र बर्जु गाउँपालिकालाई ६३ लाख ५० हजार बाढी पीडितका लागि निकासा गरिएको थियो।

बाढी पीडितका लागि देवानगन्जमा ७२ लाख, हरिनगरमा ६० लाख, कोशी गाउँपालिकामा ३४ लाख, रामधुनी नगरपालिकामा १४ लाख २५ हजार, बराहक्षेत्रमा तीन लाख ५० हजार र धरान उपमहानगरपालिकाका लागि पाँच लाख निकासा गरेको थियो।

सरकारले पछिल्लो समय निकासा गरेको आठ करोड आठबाहेक बाढीले क्षती पुर्‍याएपछि दैनिक ७० रुपैयाँका दरले प्रति परिवार २१ सयका दरले ४४ लाख रुपैयाँ पनि वितरण गरिएको थियो। जिल्लाभरका बाढी पीडितलाई एक लाख ५१ हजार केजी चामल बाढी पीडितलाई वितरण गरिएको थियो भने एक हजार ५० केजी नुन वितरण गरिएको थियो। सरकारी निर्णय अनुसार, नेपाल खाद्य संस्थान र साल्ड टे«डिङ् कर्पोरेशनमार्फत प्राप्त चालम र नुन वितरण गरिएको थियो।

सरकारी सहयोगबाहेक विभिन्न संस्थाले त्रिपाल, खाद्यन्न लगायतका सामग्री पनि वितरण गरेका छन्। तर, जिल्ला प्रशासन कार्यालयले पटक–पटक ताकेता गर्दा पनि वितरण गरिएको सामानको विवरण र पैसाको विल भरपाईं जिल्लाका १२ वटै स्थानीय तहबाट उपलब्ध गराएका छैनन्।

‘बाढी पीडितलाई रकम बुझाएको बिल भरपाई पटक–पटक माग गर्दा पनि स्थानीय तहले उपलब्ध गराएको छैनन,’ सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले भने, ‘बिल भरपाईं नदिँदा पुर्ननिर्माणका लागि आउने रकम रोकिएको छ।’ उनका अनुसार, स्थानीय तहले उपलब्ध गराउनसाथ त्यसको रेकर्ड केन्द्रीय र प्रदेश सरकारलाई पठाइनेछ।  

बर्खाअघि नै पुर्ननिर्माणको काम गरेमा सहज हुनेछ । तर, स्थानीय तहले ढिलाई गर्दा समस्या भएको छ। बाढीले पूर्वाधारतर्फ ४० करोड ८४ लाख ६५ हजारको क्षती पुर्‍याएको थियो। पूर्वाधारतर्फ सडक, पुल, कल्भर्ट, झोलुङ्गे पुल, नहर, कुलो, पैनी, बाँध, तटबन्धमा क्षती पुगेको थियो।

सडक अन्तर्गत नै पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा भत्काउँदा ७० लाख र कोसी राजमार्गमा दुईं करोड ४० लाखको क्षती पुगेको थियो । पूर्व–पश्चिम, कोसी र अन्य सडकबाहेक दुहवी–इनरुवा तथा दुहवी–कप्तानगञ्ज सडक भत्काउँदा ४५ लाखको क्षती पुगेको थियो।

बाढीले सरकारी विद्यालयमा तीन करोड रुपैयाँको क्षती पुगेको थियो। बाढीले तीन हजार २३२ वटा घर पूर्णरुपमा क्षती पुगेको  थियो। पूर्ण रुपमा घर क्षती हुँदा आठ करोड आठ लाख रुपैयाँको नोक्सानी हुन पुगेको थियो। बाढीले १३ हजार ६६९ घरमा आशिंक क्षती पुगेको थियो। यी घरमा क्षती पुग्दा १३ करोड ६६ लाख ९० हजारको नोक्सानी पुगेको थियो।

बाढीले पशु धनतर्फ, कृषितर्फ बाली र जमीन कटान, माछा पालन, खानेपानी तथा वन जंगल नास ठूलै क्षती गरेको थियो । बाढी साउन २७ गते राति आएको थियो ।

प्रकाशित: १८ चैत्र २०७४ १२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App