८ वैशाख २०८१ शनिबार
समाज

गाडीमा गीत बजाए रोयल्टी तिर्नुपर्ने

काठमाडौं – भाडाका गाडीले गीतसंगीत बजाएबापत स्रष्टालाई रोयल्टी तिर्नुपर्ने भएको छ। यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि संशोधन गरेर भाडाका गाडीमा गीतसंगीत बजाएबापत रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको हो। रोयल्टी रकम  सवारीसाधन दर्ता तथा नवीकरण गर्दा तिनुपर्नेछ।

विभागका महानिर्देशक रूपनारायण भट्टराईले सार्वजनिक यातायातमा गीतसंगीत अत्यधिक बज्ने भएकाले स्रष्टालाई राहत प्रदान गर्न रोयल्टीको व्यवस्था गरिएको बताए। ‘लामो समयदेखि गीतसंगीतका स्रष्टाले रोयल्टी माग गर्दै आएका थिए। यसपालि कानुनी व्यवस्था गरेर कार्यान्वयनमा ल्याइएको हो,’ उनले भने, ‘यो व्यवस्था कार्यान्वयन भएसँगै स्रष्टालाई बाँच्ने आधार बन्नेछ।’ उक्त व्यवस्था आइतबारदेखि कार्यान्वयनमा आएको छ।

संगीत रोयल्टी संकलन समाजका महासचिव महेश खड्काले लामो प्रयासपछि सार्वजनिक यातायातबाट रोयल्टी संकलन गर्न सम्भव भएको बताए। ‘स्रष्टाले लाखौं रुपैयाँ खर्चेर गीतसंगीत सिर्जना गरेका हुन्छन्। कतिपयले जीवन नै गीतसंगीतमा समर्पित गरेका हुन्छन्,’ उनले भने, ‘निःशुल्क रूपमा गीतसंगीत उपयोग गर्दा स्रष्टा धेरै प्रताडित भइरहेका छन्। त्यसैले सार्वजनिक सवारीसाधनबाट रोयल्टी संकलन गर्न लागेका हौं।’ उक्त व्यवस्था निजी सवारीसाधनमा भने लागू हुँदैन। 

प्रस्तोता समाज नेपालका अध्यक्ष तुलसी पराजुलीले भाडाका गाडीको प्रकृतिअनुसार रोयल्टी रकम तोकिएकोे बताए। उनका अनुसार सार्वजनिक स्थलमा बजाइने गीतसंगीतको समेत रोयल्टी संकलन गर्न सकिने व्यवस्था छ। गीतसंगीत बजाएबापत ठूला बसले वार्षिक दुई हजार,  मिनिबसले १४ सय,  ट्रक÷ट्यांकरले १४ सय, माइक्रोबस, ट्याक्सी र जिपले एक हजार,  पिकअप भ्यानले ९ सय र टेप्पोले ८ सय रुपैयाँ रोयल्टी तिर्नुपर्नेछ।

यातायात व्यवस्था विभागका अनुसार देशभर दुई लाखभन्दा बढी भाडाका गाडी गुड्छन्।  समाजका महासचिव खड्काले सार्वजनिक सवारीसाधनमा गीतसंगीत बजाएबापत वार्षिक २० करोड रुपैयाँभन्दा धेरै संकलन हुने दाबी गरे।  

‘गीतसंगीतमा जीवन समर्पित गरेका धेरै स्रष्टा छन्। स्रष्टाको आर्थिक अवस्था निकै दयनीय छ। सार्वजनिक सवारीसाधनमा बज्ने गीतसंगीतबाट रोयल्टी संकलन गर्न सकेमा स्रष्टाका लागि धेरै राहत हुनेछ,’ प्रस्तोता समाज नेपालका अध्यक्ष पराजुलीले भने, ‘भाडाका गाडीबाट रोयल्टी संकलन गर्ने व्यवस्था लागू गर्न एक दशकभन्दा धेरै समय खर्चियौं। बल्ल सफलता प्राप्त भएको छ।’

रोयल्टीबापत  संकलन हुने  रकम गीतकार, संगीतकार, गायकगायिका, लगानीकर्ता तथा उत्पादकलाई २५–२५ प्रतिशतका दरले वितरण गरिनेछ। रोयल्टी रकमबाट १५ प्रतिशत कर राजस्वमा जम्मा हुनेछ। ‘सम्बन्धित यातायात कार्यालयमा रोयल्टी संकलन गर्न छुट्टै डेस्कको व्यवस्था गरिएको हुन्छ,’ पराजुलीले भने, ‘सवारीधनीले अन्य करजस्तै गीतसंगीतको वार्षिक रोयल्टी तिरे पुग्छ।’

गीतसंगीतको रोयल्टी संकलनका लागि  देशभर सवारीसाधनको दर्ता र नवीकरण हुने ३१ वटै यातायात व्यवस्था कार्यालयमा छुट्टै कर्मचारीको व्यवस्था हुनेछ।  संगीत रोयल्टी संकलन समाजले यसअघि रेडियो तथा टेलिभिजनमा गीतसंगीत बजाएबापत रोयल्टी संकलन गर्दै आएको छ।  प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार प्रतिलिपि गीतसंगीत  बौद्धिक सम्पत्तिअन्तर्गत पर्दछ । यसमा मानवीय बुद्धि, सीप तथा ज्ञानका कारणले आर्जन भएका कृति, रचना वा उपलब्धि समावेश हुन्छन्। सार्वजनिक सवारीसाधनले गीतसंगीत नबझाएमा रोयल्टी तिर्नुपर्दैन। तर, छड्के जाँचका क्रममा बजाएको पाइएमा कानुनी कारबाहीसहित क्षतिपूर्ति तिर्नुपर्नेछ।

प्रतिलिपि अधिकार उल्लंघन गर्ने व्यक्तिलाई कसुरको मात्राअनुसार १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा ६ महिना कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ। दोस्रोपटकदेखि पटकैपिच्छे २० हजार रुपैयाँ देखि दुई लाख रुपैयाँसम्म जरिबाना, एक वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ।

प्रकाशित: १९ चैत्र २०७४ ००:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App