coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्वार्ता

‘सहरमा बस्नेको मन धमिलो छ’

देवकी वन्दना, गायिका
मनपर्ने सहर कुन हो ?
मलाई मनपर्ने सहर तानसेन, पोखरा र बुटबल हो । बुटवल नजिकै लुम्बिनी छ । सहर पनि सफा छ । त्यस्तै, पाल्पा पनि रमाइलो लाग्छ । यहाँका डाँडापाखाहरू सुन्दर लाग्छ । पोखरा पनि सुन्दर छ । पोखरालाई नेपाली मात्रै नभएर विदेशीले पनि मन पराउँछन् । यो सहरमा छुट्टै दृश्य र मनोरञ्जन लिन पाइन्छ । यहाँको प्राकृतिक सुन्दरता मनमोहक छ । फेवाताल, प्याराग्लाइडिङ र गुफा पोखराका मुख्य आकर्षण हुन् । यी चिजले धेरैलाई पोखरामा तानेको छ । पोखरामा घुम्ने र आनन्द लिने पर्याप्त ठाउँहरू छन् ।
नेपालभन्दा बाहिर मन परेको सहर ?
मलाई न्युयोर्क र युएसका साना सिटीहरू धेरै सुन्दर लाग्यो । त्यहाँका सहर अति नै सुन्दर छन् । यी सहर ऐतिहासिक छन् । यहाँ पुराना वस्तुहरूलाई मौलिकता झल्कने गरी सजाएर राखिएको छ । त्यहाँका भित्री सहरहरू पनि उत्तिकै रमणीय छन्, चारैतिर सफा छ । सहरमा देखिने हरेक कुरा नयाँ लाग्छन् ।
कुन–कुन सहर पुग्नुभयो ?
लन्डन, भारत, हङकङ, दुबई, कतार, युएसलगायत देशका सहर पुगेकी छु ।
काठमाडौं कस्तो लाग्छ ?
काठमाडौं पनि राम्रै लाग्छ । तर, पछिल्लो समय अलिकति भद्रगोल भएको छ । देशैभरका मानिसहरू यही थुप्रिएका छन् । अवसर खोज्दै काठमाडौं छिर्नेहरूको संख्या अझै पनि घटेको छैन । सरकारकै गैरजिम्मेवारीले काठमाडौं फोहर बनेको हो । धराप सडक, पार्किङ असुविधा, अस्तव्यस्त बिजुलीका तार, ट्राफिक जामलगायत सहरवासीका मुख्य समस्या हुन् । यी विषयमा सहरवासीले जिम्मेवार निकायलाई घच्घच्याउन सकेका छैनन् । यहाँका सहरमा बस्नेको मन पनि धमिलो छ । एकले अर्कोलाई सम्मान गरेको देखिन्न ।
तपाईं बसेको सहर वरपर कस्तो होस् भन्ने लाग्छ ?
सडक फराकिलो होस् । सबैतिर सफा, हरियाली र प्रदूषणमुक्त होस् । सहर सुरक्षित होस् । हाम्रा सहरमा खास सुविधाहरू छैनन् । सबैतिर अस्तव्यस्त मात्रै छ । जसले सहर बनाउनुपर्ने थियो त्यही निकायका व्यक्ति नै यसबारे जिम्मेवार भएर लागेनन् ।
सहर किन अस्तव्यस्त भएको होला ?
सहरमा बस्नेको बेवास्ताले सहर बिग्रिएको हो । यदि नागरिकले पनि आफ्नो दायित्व नबिर्सिएको भए सहर यति अव्यवस्थित हुने थिएन ।
विदेशका सहर घुम्दा कस्ता सुविधाहरू देख्नुभयो ?
विदेशका सहर धेरै नै सम्पन्न छन् । नागरिकले हरेकखाले सेवा–सुविधा सहजरूपमा लिन सक्छन् । सहरमा सबैले समान अधिकार पाउँछन् । उनीहरूको दाजोमा पुग्न हामीलाई धेरै समय लाग्छ । मैले घुमेका अधिकांश सहर आधुनिक सहरको अवधारणा अनुरूप विकास भएका छन् । तर, हाम्रा सहर आधुनिकताको हकमा पछाडि नै छन् । सहरलाई विकास गर्छु र समस्या उन्मुलन गर्छु भनेर प्रतिवद्धता गरी निर्वाचित भएका जनप्रतिनिधिहरू अवैध कामतिर लागेका छन् ।
हाम्रा सहरलाई विदेशका जस्तै बनाउन के गर्नुपर्ला ?
त्यति धेरै दुःख गर्नु पर्दैन । जिम्मेवार निकायमा बसेकाहरूले विकासका काम गरिदिए पुग्छ । भ्रष्टाचार नगरिदिए हुन्छ । यहाँ त सानो काम गर्न पनि घुस खाने प्रवृत्ति छ। यहाँको ऐतिहासिक पक्षलाई हेर्ने हो भने हाम्रा सहर विश्वमै नमुना हुन्छन्।

यहाँका सहरको ऐतिहासिक पक्ष धेरै राम्रो छ । विदेशका धेरै सहरहरू मानिसले नै सिँगारेका हुन् । खानेपानी, बिजुली, यातायातलगायत क्षेत्रमा हामीले धेरै दुःख पाएका छौं । सरकारले योजनालाई मूर्त रूप नदिएकाले सहरमा धेरै समस्या देखिएका छन् । यसको समाधान गर्ने हो भने सहर सुन्दर बन्न सक्छ ।
सहर व्यवस्थित पार्न सरकारले कसरी काम गर्नुपर्ला ?
भएका योजनालाई समयमै सकाउने । यस्तै, भ्रष्टाचार नगर्ने, सडक व्यवस्थित पार्ने, ट्राफिक व्यवस्थापन गर्ने, फोहोर समयमै उठ्ने गरी नियम बनाउने, सरकारी सेवा सुविधालाई चुस्त बनाउने, देशभित्र भएका सम्भावनाको अध्ययन गर्नेलगायत कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने हो भने हाम्रा सहर पनि व्यवस्थित नै बन्छन् ।
उपत्यकाको मुख्य समस्या के देख्नुहुन्छ ?
उपत्यका समस्यै समस्याको सहर भनेर नामाकरण गर्दा पनि हुन्छ । किनकी यहाँ सबैतिर समस्यै समस्या छन् । सडक निर्माण, पार्किङ, बिजुलीका तार व्यवस्थापन, ट्राफिक जामलगायत नै उपत्काका मुख्य समस्या हुन् ।
उपत्यकाको मनपर्ने र नपर्ने पक्ष के हो ?
यहाँको मौसम र ऐतिहासिक मठ–मन्दिर ज्यादै मन पर्छ । धुवाँधुलो, ट्राफिक जाम, खाल्डाखुल्डी सडक, अव्यवस्थित पार्किङ, लगायत पक्ष मन पर्दैन ।
नेपाल र विदेशका सहरमा कस्तो भिन्नता पाउनुभयो ?
मैले घुमेका सहर सफा थिएँ । अरु देशका देशका सहर आधुनिक तवरले विकास भइरहेका छन् । आधुनिकताको पक्षलाई हेर्दा हामी धेरै पछाडि छौं । ती सहरसँग नेपालका सहर दाज्दा धेरै भिन्नता देखिन्छ । इतिहास, मौलिकता,  हावापानी, सम्पदा, डाँडाकाँडा र प्राकृतिक सौन्दर्य अरु देशमा भन्दा यहाँ फरक छन् । तर, प्रकृतिले निःशुल्क दिएको कुरालाई पनि हामीले बनाउन सकेनौं ।
सहर नजिकै कतै घुम्न जानुप¥यो भने कता जानुहुन्छ ?
मेरो घर बुटवलमा हो । यहाँबाट नजिक पर्ने लुम्बिनी र पाल्पाका केही डाँडापाखाहरू घुम्न मनपर्छ ।
मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
मलाई जोमसोम जान मन छ ।
पछिल्लो समय पुगेको सहर कुन हो ?
पछिल्लो समय म मुम्बई पुगेको थिए । कामको सिलसिलामा त्यहाँ पुगेकी थिएँ ।
प्रस्तुति : शिवहरि घिमिरे
 

प्रकाशित: १९ चैत्र २०७४ ०२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App