७ वैशाख २०८१ शुक्रबार
समाज

मेची राजमार्गको चौडा बढाइँदै

इलामको कन्याममा मेची राजमार्ग विस्तार गरिँदै। तस्बिरः नागरिक

कन्याम (इलाम) – इलामको सूर्याेदय नगरपालिकाले मेची राजमार्गको चौडा बढाउन थालेको छ। पर्यटकीय क्षेत्र कन्यामलाई लक्षित गरी नगरपालिकाले मेची राजमार्गको हर्कटेदेखि पाल्टाँगेसम्मको ८ किलोमिटर सडक चौडा गर्न थालेको हो।

अहिले दुई लेनको मेची राजमार्ग फराकिलो बनाएर कम्तीमा ४ लेनको बनाउने नगरपालिकाको लक्ष्य छ। हर्कटे र कन्याममा पर्यटकको घुइँचो लाग्ने र सडक ज्यादै साँघुरो भएर दुर्घटनाको जोखिम बढेकाले सडक विस्तार थालिएको नगरपालिकाका मेयर रणबहादुर राईले जानकारी दिए। ‘मेची राजमार्गको सडक क्षेत्राधिकार १५ मिटरको हो तर अहिले स्थानीयसँग साढे ७ मिटर विस्तार गर्ने सहमति भएको छ,’ उनले भने, ‘आफ्नो संरचना हटाउन स्थानीयले केही समय माग्नुभएकाले तत्कालका लागि साढे ७ मिटर मात्र फराकिलो पारिँदैछ।’

सडक विस्तार गरिएपछि कन्याम घुम्न आउने पर्यटकलाई सडक किनारामै पार्किङको सुविधा हुने भएको छ। कन्याममा दिनहुँ सयौं पर्यटक आउँदा सडक अस्तव्यस्त हुने गरेको थियो। ‘कन्याममा पार्किङ गर्ने ठाउँ नपुगेर पर्यटकले नजिकैको कृष्णाश्रम माध्यमिक विद्यालयको आँगनमा दर्जनौं गाडी पार्किङ गर्दा विद्यालयलाई पनि बाधा पुगिरहेको थियो,’ मेयर राईले भने, ‘राजमार्ग विस्तार गरेर पार्किङ गर्नेसम्मको बनाउँदा पनि निकै सहज हुन्छ।’

पहाडको भिरालो जमिन भएकाले सडकको माथिल्लोपट्टि भत्काएर अहिले सडक विस्तार गरिएको हो। ‘माथिल्लो भागलाई अहिलेको सडककै सतहमा ल्याएर विस्तार गर्ने कि आकस्मिक सवारी गुड्ने एक तहमाथि नै अर्काे सडक बनाउने भन्नेमा छलफल गर्दैछौं,’ राईले भने, ‘तल्लो भागमा पनि माथिल्लो भागको माटोले पुरेर सडककै सतहमा ल्याउने कि एक तहमुनि साइकल गुडाउने सडक बनाउने भन्नेमा निर्णय भइसकेको छैन।’ कन्याम घुम्न आउने साइक्लिस्टले धरान र इटहरीलगायतका स्थानमा साइकल नै लिएर आउने गरेकाले यहाँ साइकलको सडक बनाउने अवधारणामा पनि छलफल भएको हो।

हर्कटेदेखि कन्याम हुँदै पाल्टाँगेको छेउसम्म सरकारी चिया बगान भएकाले भौतिक संरचना धेरै छैनन्। पाल्टाँगेदेखि फिक्कलसम्मको करिब ५ किलोमिटरमा भौतिक संरचना बढी छन्। यो खण्ड दोस्रो चरणमा विस्तार गर्ने नगरपालिकाको लक्ष्य छ। हर्कटेदेखि भालुखोपसम्मको करिव २५ किलोमिटर मेची राजमार्ग सूर्याेदय नगरपालिकाभित्र पर्छ। ‘राजमार्गको जमिनमा भौतिक संरचना बनाउँदा कुनै न कुनैबेला समस्या आइलाग्छ भन्ने स्थानीयलाई थाहा छ,’ मुख्य सडक अतिक्रमण क्षेत्र हटाउने संयोजन तथा व्यवस्थापन समिति संयोजकसमेत रहेका वडा–६ का वडाध्यक्ष शिवबहादुर बस्नेतले भने, ‘अहिले उहाँहरूले पनि सडक विस्तारमा सहयोग गर्नुभएको छ।’

नगरपालिकाले कन्याममा पर्यटकका लागि राखिएका घोडालाई पनि बेग्लै सडक बनाएर व्यवस्थापन गर्दैछ। घोडा चढेर रमाउने पर्यटकका कारण राजमार्ग खचाखच भएर दुर्घटनाको जोखिम बढेपछि घोडालाई नजिकैको सडकमा हिँड्ने व्यवस्था मिलाउन लागिएको हो।

नगरपालिकाले दायाँ–बायाँ १५–१५ मिटर सडक विस्तार गर्ने घोषणा गरेपछि स्थानीयले विरोध जनाएका थिए। उनीहरूले सडकपीडित सरोकार संघर्ष समिति नै बनाएर १५ मिटर सडक विस्तारको विरोध गरेका थिए। तर, तत्काललाई दुवैतर्फ साढे ७–साढे ७ मिटर सडक विस्तार गर्ने सहमति भएको नगरपालिकाले जनाएको छ। संघर्ष समितिका संयोजक शिवराज राईले नगरापालिकासँग सडक विस्तारको ‘भद्र सहमति’ भएको बताए।

‘नगरपालिकाले अहिले दुवैतर्फ गरेर सडक १५ मिटर बढाउने भद्र सहमति भएको छ,’ उनले भने, ‘लिखित सहमति होइन, मौखिक हो तर हामी सन्तुष्ट छौं।’ उनले सडकको दायाँ साढे ७ र बायाँ साढे ७ मिटर सडक विस्तार गर्दा आफूहरूले कुनै अवरोध नगर्ने तर घर परेको खण्डमा करिब २ वर्षसम्म समय दिएर सार्न मिल्ने वातावरण बनाउन नगरसँग आग्रह गरेको बताए।

इलामको माइखोला (राजदुवाली पुल)देखि झापासँग जोडिएको कलशसम्म ८ सय १५ घर सडकको दुवैतिर १५–१५ मिटरमा पर्ने भएकाले एकैपटक सबै उठाउँदा सबै सुकुमबासी हुने उनले बताए। ‘पहाडमा दुवैतिर १५–१५ मिटर सडक बढाइरहनु आवश्यक छैन,’ उनले भने, ‘अहिले जतिमा सहमति भएको छ, त्यसले वर्षाैंसम्मको सवारी चाप धान्छ भन्ने लाग्छ।’

प्रकाशित: १९ चैत्र २०७४ ०५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App