८ वैशाख २०८१ शनिबार
राजनीति

चुनाव चिन्ह र ‘जनयुद्ध’ बारे निर्णय लिने जिम्मा ओली र दाहाललाई

काठमाडौं- पार्टी एकताको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठन भएका दुई कार्यदलले चुनाव चिन्ह र प्रस्तावनाबारे निर्णय लिने जिम्मेवारी दुई अध्यक्षलाई दिएका छन्।

कार्यदलले मंगलबार एकता संयोजन समितिलाई प्रतिवेदन बुझाएका थिए। ‘चुनाव चिन्ह र प्रस्तावनामा लेख्ने विषयमा निर्णय लिन कार्यदलले दुई अध्यक्षलाई जिम्मा दिएको छ,’ राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदलका सदस्य देवेन्द्र पौडेलले भने, ‘जनयुद्ध वा जनक्रान्ति के लेख्ने भन्नेबारे छलफल भएको छ त्यसको निर्णय अध्यक्ष द्वयले गर्नुहुने छ।’

मंगलबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रतिवेदन बुझेका थिए। प्रतिवेदन अध्ययन पछि एकता संयोजन समितिको बैठक बिहीबार बस्ने छ।

चुनाव चिन्ह र प्रस्तावनामा लेख्ने विषयमा निर्णय लिन कार्यदलले दुई अध्यक्षलाई जिम्मा दिएको छ

यस्तै कार्यदलले पार्टी एकता बैशाख ९ गते गर्न सुझाव दिएको छ। एकताको मितिबारे पनि एकता संयोजन समितिले अन्तिम निर्णय लिने छ।  एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन्। यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्। कार्यदलले बुझाएको प्रतिवेदनम समाजवादी कार्यक्रमको रुपरेखा समेत तयार पारिएको छ। इतिहासको समिक्षा सहित बनाइएको प्रतिवेदनमा एकीकृत पार्टीको नीति तथा कार्यक्रमबारे समेत उल्लेख गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अगाडि नै दुई पार्टीबीच एकता गर्ने तयारी रहे पनि त्यो सम्भावना टरेको अवस्थामा कार्यदलले प्रतिवदेन बुझाएका हुन्।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६०/४० को सहकार्य गरेका दुई पार्टीले त्यही बेला निर्वाचन पछि पार्टी एकता गर्ने घोषणा गरेका थिए। प्रदेश सरकार र केन्द्र सरकार र अन्य पदहरुमा पनि दुई पार्टीले भागवण्डा मिलाएका थिए। पछिल्लो पटक एमाले र माओवादीबीच ७०/३० अनुपातमा पार्टी एकता गर्ने चर्चा चल्दै आएको छ। यसैबीच ५०/५० अनुपातमा एकता हुनु पर्ने माओवादी अध्यक्ष दाहालको भनाई सार्वजनिक भएछि तरङग छाएको थियो।

 

 

 

 

 

प्रकाशित: २० चैत्र २०७४ १४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App