८ वैशाख २०८१ शनिबार
शिक्षा

शिक्षकको परीक्षा सरेको स-यै

काठमाडौं – सरकारले चैत २३ गतेका लागि तोकिएको अस्थायी शिक्षकको परीक्षा स्थगित गरेको छ। यस पटक पनि गरी परीक्षा चार पटक स्थगित भइसकेको परीक्षा कहिले हुने भन्ने टुंगो छैन।

परीक्षा स्थगित भएपछि त्यसको तयारीमा रहेका अस्थायी शिक्षकहरु घरको न घाटको स्थितिमा रहेका छन्। बझाङकी ममता शाह शिक्षक सेवा आयोगले चैत २३ गतेका लागि तोकेको परीक्षाका लागि धनगढीमा आएर तयारी गर्दै थिइन्। तर चौथो पटक पनि परीक्षा स्थगित भएपछि उनी दिक्क छिन्। उनले १८ वर्षअघि बझाङको माजेसेनको भैरव निमाविमा ०५६ सालमा अस्थायी नियुक्ति पाएकी हुन्।

सेवा आयोगले पहिलो पटक स्थायीका लागि २०७३ चैतमा विज्ञापन ग-यो। शिक्षा ऐन आठौं संशोधनका आधारमा ५१ प्रतिशत कोटा खुलातर्फ र ४९ प्रतिशत आन्तरिक शिक्षकका लागि छुट्याएर ०७४ असार २४ लाई परीक्षा तोकियो।

परीक्षामा सहभागी हुन नचाहने केही शिक्षकले सम्पूर्ण शिक्षकको परीक्षा भाँड्नु न्यायोचित नहुने परीक्षा तयारी गरिरहेका अस्थायी शिक्षकहरूको ठहर छ ।

‘असार २४ गतेको परीक्षाका लागि काठमाडौं आएर तयारी कक्षामा भर्ना भएर तयारी थालें,’ शाहले नागरिकसँग भनिन्, ‘तर परीक्षा स्थगित भएर भदौ ३ अनि भदौ १० हुँदै अन्तमा चैत २३ गते हुने भयो।’ उनले गुनासो गरिन्, ‘पटक–पटक परीक्षा स्थगित गरेर आयोगले परीक्षामा जुटेका अस्थायी शिक्षकलाई घर न घाटको बनाएको छ। परीक्षा तयारीकै क्रममा २ लाख सिकिइसक्यो। अझै परीक्षाको टुंगो छैन।’

बझाङकै अर्की शिक्षिका ज्योति मल्लले परीक्षाको तयारीका क्रममा बझाङ काठमाडौं आउजाउ गर्दा लाखौं सकिइसकिएको बताइन्। ‘घरपरिवार बालबच्चा सबै मिलाएर परीक्षा तयारी गरेकी थिएँ,’ मल्लले नागरिकसँग भनिन्, ‘सधैं सरेको स-यै।’

बझाङकै चन्देश्वर माविका प्रावि शिक्षक विश्वप्रकाश जोशी ०६६ सालदेखि शिक्षण पेशामा छन्। चार पटकको परीक्षा स्थगितका कारण मानसिक, शारिरीक र आर्थिक तनाव झेलिरहेका जोशीले परीक्षामा सहभागी हुन नचाहने केही शिक्षकले सम्पूर्ण २५ हजार शिक्षकको परीक्षा भाँड्नु न्यायोचित नभएको बताए। ‘सरकारले अब छिटो परिक्षा सञ्चालन नगरे अस्थायी शिक्षकहरु नै संघर्ष समीति बनाएरै सडक आन्दोलनमा उत्रने छन्,’ जोशीले भने, ‘अस्थायी शिक्षकहरुको टुंगो नलागेसम्म शिक्षा क्षेत्रले निकास पाउँदैन।’

असार २४ को परीक्षा बाढीपहिरोका कारण स्थगित भएको थियो। भदौ ३ र भदौ १० गतेको परीक्षा पनि बाढी पहिरोकै कारण स्थगित भयो । त्यसबीचमा पूर्व शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षा ऐन २०२८ को नवौं संशोधन गरी ७५ प्रतिशत सिट आन्तरिक शिक्षकलाई र २५ प्रतिशत सिट खुलालाई व्यवस्था गरियो।

संशोधित ऐनलाई समेत समेटेर पछिलो पटक शिक्षक सेवा आयोगले चैत २३ गते परीक्षा मीति तोकियो। पहिलो पटकको विज्ञापनमा १५ हजार र पछिलो पटकको विज्ञापनमा साढे सात हजारको आवेदन प-यो।

नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्माले सरकारले अस्थायी शिक्षकहरुको परीक्षा छिटोभन्दा छिटो सम्पन्न गराएर निकास दिनुपर्ने बता । उनले परीक्षा सञ्चालन गराउन शिक्षक संगठनले सरकारालई दबाब दिने कार्यक्रम तय गरी अघि बढ्ने तयारी भइरहेको पनि जनाए।

नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले सार्वजनिक शिक्षाको स्तर उकास्न र अस्थायी शिक्षकहरुको वर्षौदेखिको समस्या अन्त गर्न सरकारले खुला र आन्तरिक दुवै तर्फको  अस्थायी शिक्षकहरुको परीक्षा तत्काल सञ्चालन गर्नुपर्ने माग राखे। उनले महासंघको मंगलबारको बैठकले बिहीबार शान्तिपूर्ण सांकेतिक आन्दोलन गर्ने निर्णय गरेको बताए। ‘महासंघको मंगलबारको बैठकले बिहीबार बिहान प्रधानमन्त्री ज्यूलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय भएको छ,’ अध्यक्ष थापाले भने, ‘सरकारले छिटो परीक्षा सञ्चालन गरी २५ हजार अस्थायी शिक्षकहरुको समस्या समाधान गरी शिक्षा क्षेत्रलाई ठोस निकास दिनुपर्छ।’

शिक्षक सेवा आयोगका सचिव तुलसी थपलियाले आयोगले परीक्षाको आन्तरिक तयारी गरिरहेको तर परीक्षा मिति कहिले तोकिने टुंगो नलागेको बताए।

प्रकाशित: २१ चैत्र २०७४ ०२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App