coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘प्रतिस्पर्धा चाहिन्छ’

बनेपा – अरनिको राजमार्गमा हालीमुहाली गर्दै आएका यातायात समितिले मयूर यातायातको रुट परमिट खारेजीको माग गर्दै बुधबार पनि आफ्ना बस/मिनिबस चलाएनन्।

काभ्रेका ग्रामीण तथा सहरी रुटबाट यात्रा गर्दै आएका स्थानीय काभ्रे बस र काभ्रे मिनिबस समितिका बस÷मिनिबस नचल्दा पैदलै गन्तव्यतर्फ लागेका समाचार सोसल मिडियामा आउन थालेपछि बुधबार साझा यातायात सहकारी संस्थाले कोटेश्वरबाट बनेपासम्म बस पठायो। बनेपा र पनौतीमा साझाबा बसलाई स्वागत गर्ने र फोटो खिच्नेको भीड नै लाग्यो।

यात्रुले पनि पहिलोपटक पनौती र बनेपामा साझाका बस देख्नमात्रै नभई यात्रासमेत गर्न पाए। काभ्रे बस र काभ्रे मिनिबस समितिले वर्षौंदेखि कब्जा जमाएको बनेपामा मयुर यातायातसहित साझा, सिटी मेट्रो र सिटी यातायातका बस सञ्चालनमा आए। मयुरका बस पहिलोपटक धुलिखेल बसपार्कसम्म पुगे भने पनौतीमा साझाका बस।

‘मयूर यातायातलाई धुलिखेलसम्मको रुट इजाजत दिएको विरोधमा कोटेश्वर पूर्व यातायात समन्वय समितिले चक्काजाम गर्दा सयौं सर्वसाधारणले दुःख पाइरहेका थिए। यस परिस्थितिमा यातायात व्यवस्था विभागको आग्रहमा हामीले बनेपासम्म जाने निर्णय गरेका हौं’, साझा यातायातका लेखा अधिकृत गोपालप्रसाद पन्तले भने।

साझाले बुधबार स्वयम्भूबाट सूर्यबिनायकसम्म चलिरहेका १६ वटा बसलाई बनेपासम्म चलाएको हो। त्यस्तै, स्वयम्भूबाटै धुलिखेलसम्म २० वटा बस चलाउने तयारी साझाले गरिरहेको छ।

काभ्रे प्रहरीले बुधबार बनेपा, धुलिखेल र पनौती हुँदै काठमाडौं आतेजाते गरेका नयाँ बसलाई भक्तपुरको सिमाना साँगासम्म सुरक्षा दियो।  ‘कानुनी प्रक्रिया पूरा गरेर आएका मयूरलगायत सबै बसलाई सुरक्षा दिन्छौं’, जिल्ला यातायात व्यवस्थापन समितिका सदस्य एवं काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाले भने।

कोटेश्वर पूर्वका ११ वटा समितिहरुको आह्वान भनिए पनि हिमाल–तराई यातायातले बिपी राजमार्ग हुँदै पूर्वी मध्य पहाडी जिल्लाहरुमा सेवा दिएको छ। यस्तै अरनिको यातायात समितिले पनि नयाँ बस सञ्चालनमा अवरोध गरेन। मध्य उपत्यका बस व्यवसायी संघले विज्ञप्तिमार्फत मयूर यातायातविरुद्ध विभिन्न समितिहरुले सञ्चालन गरेको आन्दोलन र बन्दमा संघको कुनै संलग्नता नरहेको प्रष्टमात्रै पारेन, आफ्ना सबै बस सेवालाई पूर्ववत रुपमै सञ्चालन गरिरह्यो।

उपभोक्ता हित संरक्षण ऐन, प्रतिस्पर्धा ऐन र मुलुकी ऐनले बन्देज लगाएको सिन्डिकेटलाई सर्वोच्च अदालतले समेत खारेज गरिसकेको अवस्थामा धेरै वर्षदेखि सास्ती खेप्दै आएका स्थानीयलेसमेत मयूरको सेवालाई साथ दिन थालेका छन्। यसको दृष्टान्तका रुपमा अरनिको राजमार्गको जनागालमा सोमबार अवरोध गरिएको मयूरका बसलाई स्थानीयले सुरक्षा दिँदै सञ्चालनमा सहयोग  गरेका थिए।

मयूर यातायात प्रालिले बनेपासम्म प्रविधिमैत्री बस सेवा सञ्चालन गरेको तीन साता भएको छ। अरनिको राजमार्गमा एकाधिपत्य जमाउँदै आएका यातायात व्यवसायीले जति नै अवरोध गरे यात्रुको रोजाइमा मयूर परेको छ। चैत १ गतदेखि मयूर यातायातका बस बनेपाबाट कोटेश्वर हुँदै चक्रपथ घुमेर पुनः बनेपा आइरहेका छन्। ‘कोटेश्वर हुँदै चक्रपथ जाने यात्रुहरुलाई साह्रै राहत भएको छ। आफूहरुले चक्रपथमा सेवा नदिने भएपछि त्यहाँसम्म सेवा दिन्छु भन्नेलाई रोक्न खोज्नु दादागिरी हो’, धुलिखेलका शिक्षक खड्गप्रसाद सापकोटाले भने।

बनेपा नगर विकास समितिका पूर्वअध्यक्ष रबीन शाक्यले यातायात व्यवसायीको एकाधिकार अन्त्य हुन लागेको भन्दै खुसी व्यक्त गरे। यस्तै सामाजिक सञ्जालमर्फत पनि एकाधिकार कायम गर्न आन्दोलनरत यातायात व्यवसायीमाथि कडा प्रहार गरिएको छ। बनेपाका बैंकर इन्द्रनारायण भैलले यातायातमा सिन्डिकेटविरुद्ध  सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरो गाउँ सहरमा मैले मात्र व्यवसाय गर्न पाउनुपर्छ। अरु आउन पाउँदैन, अनि आफूचाहिँ जहाँ पनि जान पाउनुपर्छ। यो कस्तो व्यावसायिक सिद्धान्त, सरकार किन मौन?’ त्यस्तै काभ्रे जेसिजका पूर्वअध्यक्ष सुनेश शाक्यले आन्दोलनरत यातायात व्यवसायीलाई लक्षित गर्दै फेसबुकमा लेखेका छन्, ‘आन्दोलन होइन सुविधा दिएर प्रतिस्पर्धा गर्नुस्, बनेपालीले साथ दिनेछन्।’

नेपाल बार एसोसियसनका पूर्वकेन्द्रीय सदस्य सागर बिष्टले पनि यातायात क्षेत्रमा एकाधिकार होइन प्रतिस्पर्धा हुनुपर्ने फेसबुकमा लेखेका छन्।   

काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले बुधबार बस सेवा बन्द गर्ने यातायात समितिहरुको विवरण गृह मन्त्रालयमा पठाइने बताए।

प्रकाशित: २२ चैत्र २०७४ ००:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App