coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘काठमाडौं फुटबल ग्राउन्डजस्तै हो’

पूर्णकला बिसी, गायिका

तपाईंलाई मनपर्ने सहर कुन हो ?
मलाई मनपर्ने सहर पोखरा हो । यो सहर सुन्दर लाग्छ । यहाँका हरेक चोकहरू शान्त र रमणीय छन् । अहिलेसम्म यो सहर सबै पक्षमा व्यवस्थित छ । धुवाँधुलो र प्रदूषण पनि खासै देखिँदैन । फराकिलो सडक, फेवाताल र सहर वरपरका पर्यटकीय मार्गले पोखरा धेरै पर्यटकहरूको आर्कषकको केन्द्र बनेको छ।

नेपालभन्दा बाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
गीत–संगीतकै सिलसिलामा केही देशका सहर पुगेकी छु । यही सिलसिलामा दुबई, कतार, मलेसिया र जापानका मुख्य सहर पनि राम्ररी घुम्ने मौका पाएँ ।  

त्यहाँका सहर कस्तो लाग्यो ?
विदेशका सहर धेरै नै व्यवस्थित छन् । सहरमा हरेकखाले सेवा–सुविधाहरू छन् । बाहिरका सहरको तुलनामा हाम्रा सहर धेरै नै पछि छन् । बाहिरी मुलुकका सहर रमणीय भएकाले जति घुमे पनि दिक्क लाग्दैन । त्यहाँ फोहर कतै देखिन्न । हेर्दै मन लोभ्याउने किसिमका वस्तुहरू राखिएका छन् । घुमेकामध्ये मलाई जापानको टोकियो एकदमै रमणीय लाग्यो । किनकि त्यहाँका मानिसहरू मिजासिला छन् । मुसुक्क हास्ने, अप्ठेरो परेको बेला सहयोग गर्ने भावना छ जापनिजहरूमा ।

बाहिरी मुलुकको तुलनामा नेपालका सहरमा के भिन्नता पाउनुभयो ?
मौलिकताको कसीमा नेपालका सहर धेरै अगाडि छन् । तर, आधुनिकतालाई हेर्दा हामी पछि छौं । अरु देशका सहर धेरै विकसित भइसक्दा पनि हाम्रोमा अझै सडक चौडा पार्ने काम सकिएको छैन । यदि यहाँको भौगोलिक र प्राकृतिक पक्षलाई ध्यानमा राखेर काम गर्ने हो भने नेपालका सहर धेरै राम्रा बन्न सक्छन् ।

हाम्रा सहर विकास हुन नसक्नुको कारण के होला ?
सरकार जिम्मेवार भएन । सहरमा बस्नेहरू जिम्मेवार भएनन्। सबैले आफ्नोमात्रै हेरे । सहरमै बसेर यहाँको विकासलाई ध्यान दिएनन् । विकास गर्छु भन्दै हात जोडेर सत्ता पुग्नेहरूले आफ्नो दायित्व बिर्सिए । उनीहरूले हाम्रा सहरलाई कसरी विकास गर्दा सुहाउँछ भन्ने अध्ययन गर्न सकेनन् । ऐतिहासिक, मौलिक र प्राकृतिक पक्षलाई नियाल्दा नेपाल धेरै अगाडि छ । यहाँका सहरजस्तो मौसम कतै पाइन्न ।

तपाईंकोे सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
म बसेको सहर यस्तो होस्– जहाँ सबैखाले सेवा सुविधाहरू पाइयोस् । सहरका चोकचोकमा सुन्दर पार्क होस् । सहरवासीमा एकताको भावना होस्, माया होस् । सडक व्यवस्थित होस् । सहरभित्रका सेवा सुविधा सहजै लिन सकियोस् । अनि मात्र सहर सहरजस्तै हुन्छ ।

उपत्यका कस्तो लाग्छ ?
पहिले–पहिले काठमाडौं भनेपछि मन हुरुक्कै हुन्थ्यो । तर, अहिले यहाँको अस्तव्यस्त सम्झँदा दिक्क लाग्छ । उपत्यका सबैतिर दिक्कलाग्दो भइसकेको छ । सहरवासीकै हेलचेक्रयाइले बिग्रिएको हो । किनकि सहरमा बस्नेले सरकारलाई टेरेनन्।

पद र पैसा हुनेले सहरको दुरुपयोग गरे । यही काठमाडौं हो, जसले आज कैयौं मानिसहरूका सपना पूरा गरिदिएको छ । यहाँका सेवा–सुविधा लिएर मानिसहरू संसारमै चर्चित बने । तर, उनीहरूले काठमाडौंलाई केही पनि दिएनन् ।

त्यसोभए काठमाडौं कसरी व्यवस्थित बन्ला त ?
काठमाडौं हरेक क्षेत्रका लागि उर्वरभूमि मानिन्छ । यो ठाउँ एउटा फुटबल ग्राउन्ड जस्तै हो । जसले गोल गर्न सक्छ, उसले विजयी हात पार्न सक्छ । काठमाडौंमा आएर धेरैले आफूलाई बनाए । तर, आफू बसेको ठाउँलाई बनाउनतर्फ ध्यान दिएनन् । पहिले त्यति सुन्दर देखिने काठमाडौं अहिले कुरूप भयो । भएभरका मानिस यही थुप्रिए । सरकारले यहाँ भएका सुविधा अन्त सार्न सकेन । भत्काइएका सडक समयमै मर्मत भएनन्।

यसमा सरकार नै गैर–जिम्मेवारी देखिन्छ । यदि बनाउने सामथ्र्य छैन भने सडक भत्काएर जनतालाई किन सास्ती दिनु यसलाई व्यवस्थित पार्न यहाँ भएका सुविधा विकेन्द्रीकरण गर्नुपर्छ । यसो भए मानिसहरू भीडभाड केही कम हुन्छ । सरकारमा बस्नेले पैसाको मात्रै सपना देख्नु भएन । उपत्यकाको मुख्य विशेषता यहाँका पुराना कला–कृति हुन् । यिनलाई जीवितै राख्नुपर्छ । सरकारले यहाँका मौलिकता गुम्न नदिने खालको नीति बनाउनुपर्यो ।

उपत्यकाको मुख्य समस्या के–के देख्नुभएको छ ?
यहाँको मुख्य समस्या भनेको खानेपानी हो । अहिले सहरमा जताततै खानेपानीको हाहाकार छ । खाल्डाखुल्डी सडक, ट्राफिक जाम, धुवाँधुलोलगायत सहरका मुख्य समस्या हुन्।

सहरलाई सफा र सुन्दर बनाउन के गर्नुपर्ला ?
जथाभावी फोहर नफ्याक्ने, विकास निर्माणका काम छिटो सक्ने, वृक्षरोपण गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित पार्ने, ठाउँ–ठाउँमा आराम स्थल बनाउनेजस्ता काम हुनुपर्छ।यसबाहेक धुवाँधुलो, ट्राफिक जाम, पार्किङलगायत विषयलाई केन्द्रमा राखेर काम गर्न जरूरी देखिन्छ ।

काठमाडौंको मनपर्ने पक्ष के हो ?
यहाँको मौसम र मठ–मन्दिर राम्रो लाग्छ । काठमाडौंमा सबैखाले सेवा–सुविधा पनि छन्, यो यहाँको राम्रो पक्ष हो । गर्न सक्ने र इच्छा हुनेलाई काठमाडौंले हरेक सुविधा दिएको छ । यहाँको मौसम पनि सदावहार छ ।

यहाँको मनपर्ने खानेकुरा के हो ?
सबैखाले खानेकुरा मिठो लाग्छ ।

मन भएर पनि घुम्न नपाएको ठाँउ कुन हो ?
मलाई आफ्नै देशको रारा घुम्न मन छ ।

पछिल्लो समय पुगेको ठाँउ ?
पछिल्लो समय गुल्मी र अर्घाखाँचीका विभिन्न ठाउँ पुगेकी थिएँ ।

प्रस्तुति : शिवहरि घिमिरे

 

प्रकाशित: २३ चैत्र २०७४ ०१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App