८ वैशाख २०८१ शनिबार
अन्य

बिबिए सकेर टिमुरको अचार व्यापार

भृकुटीमण्डपमा अहिले स्वदेशी जुत्ता प्रदर्शनी चलिरहेको छ । त्यसकारण पनि भृकुटीमण्डपमा मानिसको आउजाउ बाक्लै देखिन्छ।

त्यही मौका छोपी प्रदर्शनीस्थलको गेटअगाडि दुई जनाले टिमुरको छोपको स्टल चलाएका छन् । केही दिनअघि उनीहरू स्टलमा ग्राहकलाई टिमुरको छोप चखाउन व्यस्त थिए, अर्घाखाँचीका हिमाल बेलबासे र राजेश पान्डे।

उनीहरू ग्राहकलाई छोपबारे जानकारी पनि दिइरहेका थिए।बिबिएको पढाई सकेर उनीहरू बुटवलमा टिमुरको अग्र्यानिक छोप उत्पादन गरिरहेका छन् ।यसअघि उनीहरू सिस्नुको पाउडर उत्पादन गर्दै आएका थिए । तर, सोचेजस्तो सफलता नपाएपछि बन्द गर्नुपरेको बेलबासे बताउँछन् । उनी भन्छन्, ‘सिस्नुको पाउडरको महत्वबारे सबैलाई जानकारी नभएर सोचेजस्तो व्यापार हुन सकेन, त्यसपछि उत्पादन नै बन्द गर्नुपर्‍यो ।’ पाउडर उत्पादन गर्दा उनीहरू बिबिए पढ्दै थिए।

त्यसपछि उनीहरूले नयाँ योजना बनाए– टिमुरको छोप उत्पादन गर्ने । सिस्नुको व्यवसाय बन्द भएपछि छोप बनाउने सोच आएको बेलबासेले बताए । रिसर्च गरेर उत्पादन गरिएको उनको भनाइ छ । त्यसकारण पनि यो स्वास्थ्यवद्र्धक भएको र स्वाद पनि राम्रो रहेको उनले दाबी गरे ।उनीहरूले जुम्लामा छोपबारे अध्ययन गरेका हुन् । जुम्ला पुगेपछि यसको स्वादबारे थाहा भएको उनी बताउँछन्।

‘नयाँ काम गर्नु पर्छ भन्ने सोच भएर टिमुरको छोप उत्पादन गर्न सुरु गरेका हौं । नयाँ स्वाद चखाउने उद्देश्यले यसको उत्पादन गरेका हौं,’ उत्पादन सुरु गर्नुअघिको क्षण सम्झदै उनले भने । आत्मनिर्भर बन्न छोपको उत्पादन सुरु गरेको बेलबासे बताउँछन् ।उनका अनुसार टिमुरको छोप विभिन्न प्रकारका जडीबुटीसँगै तिल, टिमुर, मरौठी, सिस्नु, हर्रो, बर्रो, अमला, पुदिना, निम, अदुवा, प्याज, लसुन, जिम्बु, ल्वाङ र सुकमेल राखेर बनाइन्छ । यसमा खुर्सानीलाई स्टिम गरेर प्रयोग गर्ने सकिने उनको भनाइ छ।

टिमुरको छोप विभिन्न तरिकाले खान सकिने उनी बताउँछन् । ‘दाल, भात, मासु र फलफूलसँग पनि छोप खान सकिन्छ,’  उनले भने ।२१ थरी स्वादको छोप बनाउने योजना रहेको पान्डेले बताए । भेजिटेबल तथा नन भेज स्वादमा पनि छोप बनाउने योजना रहेको उनी सुनाउँछन्।

स्वास्थ्यका कारण खान नपाउनेका लागि नकारात्मक असर नगर्ने तरिकाले छोप बनाइएको उनको दाबी छ । ‘परम्परागत स्वादलाई ध्यान दिएर बनाएकाले यसले स्वास्थ्यमा कुनै असर गर्दैन,’ उनले भने ।उनको उद्योगमा महिला र अपांगता भएका व्यक्तिहरू काम गर्छन् । ‘सानो उद्योग भए पनि दुई–चार जनालाई काम दिन पाउँदा खुुसी लाग्छ,’ उनले भने।

सुरुवातमा एउटा कोठाबाट छोप बनाउन सुरु गरेको उनले सुनाए । ‘सुरुमा परिवारका सदस्य तथा छिमेकीलाई चखायौं, सबैले राम्रो प्रतिक्रिया दिएपछि काम सुरु गर्‍यौं,’ उनले सम्झिए ।
त्यसपछि छोप नजिकैका पसलमा ५० रूपैयाँमा बेच्न राखेको उनले सुनाए । यसको चर्चा हुन थालेपछि सानो कारखाना खोली उत्पादन सुरु गरेको उनी बताउँछन् ।खाद्य अनुसन्धानमा परीक्षण गरी बजारमा ल्याएको उनले बताए । उनी भन्छन्, ‘बजारमा पाइने अचारप्रति अधिकांशको नकारात्मक सोच छ,’ उनी भन्छन्, ‘अचारप्रतिको मोह उजागर गर्न हामीले उत्पादन गरेका हौ।’

उत्पादनको बजारीकरणमा समस्या रहेकाले स्वदेशमै केही गर्न चाहनेका लागि चुनौती छ,’ उनी भन्छन् । त्यसकारण आफूहरूले फरक तरिकारले विज्ञापन गरिरहेको उनी बताउँछन् । ‘साँझ परेपछि हामी मानीसको भीड हुने ठाउँमा जान्छाै। र, सबैलाई चखाउँछाै। ग्राहकको माग अनुसार पसलमा टिमुरको छोप दिएर आउँछौं,’ उनी भन्छन्।

टिमुरको छोपको राम्रो प्रतिक्रिया पाइरहेको उनी बताउँछन् । यसमा सुधार्नु पर्ने कुरामा ध्यान दिइरहेको उनले बताए।नेपालमा थुप्रै सम्भावना भएकाले पैसा कमाउन चाहनेले विदेशमै जान नपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘तर, ढृढ संकल्प र गर्ने विषयमा जानकार हुन जरुरी छ।’

प्रकाशित: २३ चैत्र २०७४ ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App