coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

दुई देशका प्रधानमन्त्रीले गरे ‘आइसिपी’ उद्घाटन

 वीरगन्ज – भारतको राजकीय भ्रमणमा रहेका नेपाल प्रधानमन्त्री खड्कप्रसाद ओली र उनका भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले वीरगन्ज नाकामा बनेको एकीकृत जाँच चौकी अर्थात ‘इन्टरग्रटेड चेक पोष्ट’ (आइसिपी) शनिबार उद्घाटन गरेका छन् । निकै ऐतिहासिक मानिएको उद्घाटनलाई अध्यावधिक बनाउन आइसिपी मुख्य भवन अगाडि बनाइएको शिलालेख दिल्लीबाट नै अनलाइन माध्यमले प्रधानमन्त्रीद्वयले अनावरण गरे।  

नेपालको भारतसंगको व्यापार र भारत भएर हुने तेस्रो मुलुकसंगको व्यापार व्यवस्थित र सहज बनाउन निकै महत्वपूर्ण मानिएको आइसिपीको उद्घाटनको अवसरमा दुबै देशका विशिष्ठ ब्यक्तित्वहरू, उच्च अधिकारी प्रतिष्ठित व्यापारी लगायतको उपस्थिति थियो । सन २०११ को जनवरीमा शिलान्यास भएर में ११ बाट निर्माण थालिएको यो महत्वाकांक्षी परियोजनाको विभिन्न बाधा अवरोध पार गर्दैै अन्ततः उद्घाटन हुन सकेको हो । निर्धारित तालिका अनुसार यसको निर्माण कार्य सन् २०१३ को अक्टोवरभित्र सम्पन्न भई सक्नुपथ्र्यो । विभिन्न अवरोधले गर्दा निर्धारित २ वर्षभित्र हुन नसकी करिब ७ वर्षमा सम्पन्न भएको हो । भारतीय सहयोग र सुपरिवेक्षणमा द्विदेशीय सहमति अनुसार आइसिपी निर्माण गरिएको हो। 

आइसिपी उद्घाटनपछि प्रधानमन्त्री ओलीले उक्त क्षणलाई ऐतिहासिक भन्दै यसबाट दुई देशबीचको व्यापार मात्र नभएर समग्र सम्बन्धलाई बलियो बनाएको बताए । भारतीय प्रधानमन्त्री मोदीले अनलाइन कन्फ्रेन्समार्फत सम्बोधन गर्दै आइसिपीको कारण सगरमाथाको देश सागरसंग जोडिएको टिप्पणी गरे । उनले नेपाललाई सडक र रेल ‘कनेक्टिभिटी’ बढाउदै दुई देशको सम्बन्धलाई प्रगाढ बनाउदै लैजानु पर्ने बताए । 

आयात निर्यात सुरु
आइसिपी उद्घाटनसंगै शनिवारदेखि आइसिपी भएर दुबै तर्फबाट आयात निर्यात पनि सुरु भएको छ । उद्घाटनपछि दुबैतर्फका अधिकारीहरूले हरियो झण्डा देखाएर मालवाहक गाडी प्रवेश गराएका थिए । नेपालको लागि भारतबाट आइसिपी भएर २५ ट्यांकर पेट्रोलियम इन्धन भित्रिएको छ भने यताबाट भारततर्फ २ गाडी जुट कार्पेट र एक गाडी जुता निर्यात भएको छ। 

आइसिपी उद्घाटन नेपालको लागि, वीरगन्जको लागि र नेपाल भारत सम्बन्धका लागि एउटा कोषेढुंगा हो भनी उद्घाटन समारोहमा वीरगन्जको अलौंस्थित आइसिपी पुगेका सांसद प्रदिप यादवले भने । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका प्रदेश २ का प्रदेशसभा सदस्य ओमप्रकाश शर्माले ब्यपारको क्षेत्रमा दूरगामी तथा ऐतिहासिक उपलब्धी भएको बताए । वीरगन्जका नगरप्रमुख बिजय सरावगीले बहुप्रतिक्षित आइसिपी सुरु हुनुलाई नेपाल भारतको आर्थिक तथा व्यापारिक सम्बन्धको नयाँ युगको सुरुवात भने। 

आइसिपीको नेपालतर्फको संरचनाको स्वामित्व ग्रहण गरेको नेपाल सरकारको ‘इन्टर मोडेल यातायात विकास समिति’का कार्यकारी निर्देशक लक्षमण बहादुर बस्नेत, पर्साका प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंह भारतीय महावाणिज्यदूत बिसि प्रधान, वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेबन्तक पोखरेल, सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख सूर्य सेढाई, भारतको ल्याण्ड पोर्ट अथरिटीका अधिकारी शौरभ कुमार, भारतीय भन्सारका अधिकारी सन्तोष कुमार लगायतको उपस्थिति रहेको थियो। 

प्रकाशित: २४ चैत्र २०७४ ११:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App