८ वैशाख २०८१ शनिबार
अन्य

ट्विटरमा सलमान बेल

गत साता बलिउड कलाकार सलमान खानको जीवनमा एउटा ठूलो घटना भयो । २० वर्षअघि ‘हम साथ साथ है’ फिल्मको सुटिङका दौरान राजस्थान जोधपुरमा दुर्लभ जनावर कृष्णसार मारेको अभियोगमा जोधपुर अदालतले यी बलिउड स्टारलाई पाँच वर्षको जेल र १० हजार भारतीय रूपैयाँ जरिवाना सुनायाे।

दुई रात जेलमा बिताएपछि सलमान खानलाई शनिबार धरौटीमा रिहा गरियो । जोधपुर अदालतका न्यायाधीश रविन्द्रकुमार जोशीले शनिबार धरौटीमा रिहा गर्ने आदेश दिएपछि सन् १९९८ को घटनामा सजाय पाएका खान जेलबाट निस्किन सफल भए । ५० हजारका दुई वटा धरौटी राखेपछि उनलाई जेलबाट रिहा गरिएको हो । अदालतले उनलाई आफ्नो स्वीकृतिविना देश छोडेर जान नपाउने पनि आदेश दिएको छ । रिहा हुनासाथ मुम्बई पुगेका उनी त्यहाँको उच्च अदालतमा पुनरावेदन दिने उनका वकिलहरूले बताएका छन्।

गत बिहीबार सलमान खानलाई पाँच वर्षको कैद सजायको फैसला भएपछि सामाजिक सञ्जाल सलमानमय भयो । करौडौं फ्यान रहेका यी बलिउड कलाकारलाई शनिबार धरौटीमा रिहा गरेपछि पनि सामाजिक सञ्जालमा यसबारे धेरै टिप्पणी भए । ट्विटरमा ह्यासट्याग सलमान बेल ट्रेन्डिङ भयो।

सलमान खानलाई धरौटीमा रिहा आदेश दिने न्यायाधीश जोशीको शनिबार नै सरुवा भयो । यससँगै ट्विटरमा प्रयोगकर्ताहरूले आलोचना सुरु गरे । ‘भ्रष्ट सरकार र भ्रष्ट न्यायाधीशका लागि यो (भारत) एक नमुना देश हो । जसको कुनै पनि आरोप प्रमाणित भएको छैन, ती निर्दोष सन्तलाई सरकारले जेलमा सडाएर राखेको छ । जसको आरोप प्रमाणित भएको छ, त्यसलाई (सलमान खान) सजाय सुनाएपछि पनि धरौटीमा छोडेको छ।’

पुर्वा शर्माले ट्विटरमा ह्यास ट्याग सलमान बेल प्रयोग गर्दै ट्विट गरेकी छिन्, ‘वन्यजन्तु संरक्षणलाई प्रवद्र्धन र समर्थन गर्ने कलाकारहरू किन अहिले केही पनि बोल्दैनन् जब लोपोन्मुख प्रजातिलाई मार्ने मान्छेलाई अदालतले धरौटीमा रिहा गरेको छ।’

सलमान खान जेलबाट रिहा भएपछि उनका प्रशंसकहरूले उल्लास मनाएका थिए । उनको मुम्बईस्थित निवास ग्यालेक्सी अपार्टमेन्टको अगाडि हजारौंको संख्यामा रहेका प्रशंसकहरूले खुसी मनाएका थिए । सामाजिक सञ्जालमा पनि उनको रिहाइको स्वागत निकै देखिन्थ्यो । खानका एक जना फ्यान फैजाले ह्यासट्याग सलमान बेल प्रयोग गर्दै ट्विट गरेकी छिन्, ‘यदि कृष्णसार भारतमा दुर्लभ हो भने सलमान खान अझ धेरै दुर्लभ हुन् । मेरा लागि उनी सधै उत्कृष्ट हुन् । सत्य र न्यायका लागि डाइ हार्ट फ्यान।’

अनिश शर्माले यस्तै फ्यानहरूको प्रतिक्रियालाई कानुनी राजमाथि धज्जी उडाएको भन्दै यही ह्यासट्याग प्रयोग गरी ट्विट गरेका छन्, ‘ब्राजिल र दक्षिण कोरियामा पूर्वराष्ट्रपतिले भ्रष्टाचारको आरोपमा १० वर्षको कैद सजाय पाउँछन् । तर, भारतमा, पटकपटक कानुन तोड्ने सलमान खान दोषी प्रमाणित भएको दुई दिनमा (जेलबाट) छुट्छन् । र, मानिसहरुले उल्लास मनाउँछन्।’

उनी थप्छन्, ‘जब मानिसहरूले अदालतले दोषी ठहर्याएको मानिस धरौटीमा रिहा भएको खबरले खुसी मनाउँछन् भने तपाईंले यी मानिसहरू कता जाँदैछन् र संविधानप्रति उनीहरूको सम्मान कस्तो छ भनेर अनुमान गर्न सक्नुहुन्छ । कानुनलाई सम्मान गर्ने कुनै पनि समाजमा, यस्ता दोषीहरूलाई बहिष्कार गर्नुपर्छ।’

पंकज दोभालले ह्यासट्याग सलमान बेल प्रयोग गर्दै भारतीय न्याय प्रणालीबारे ट्विट गरेका छन्, ‘जसले भारतमा न्याय प्रणाली ढिलो छ भनेर गुनासो गर्छन्, फैसला २० वर्षमा मात्र आउन सक्छ । तर, यसको ठ्याक्कै उल्टो, धरौटीको फैसला भने केही दिनमै हुन्छ।’

सलमान खानले ‘विइङ ह्युमन’ को नामबाट गरिरहेको च्यारिटीसँग पनि उनको यो सजाय र रिहाइलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले जोडेका छन् । ह्यासट्याग सलमान बेल प्रयोग गर्दै दी टप बन नामको ह्यान्डलको ट्विट छ, ‘तिमी कथित सेलिब्रेटी भए पनि तिमीले तिम्रै पैसाबाट केही च्यारिटी गर्दैमा कुनै पनि अपराध न्यायसंगत ठहर्याउन सकिँदैन।

देशको कानुन, शासन र संविधानभन्दा माथि कोही छैन । तिमी जेलकै लागि लायक छौं।’‘सल्लु भाइ’ भनेर पनि चिनिने गरेका यी बलिउड सेलिब्रेटीको जेल सजाय र धरौटीमा रिहाइबारे सामाजिक सञ्जालमा अझै पनि टिप्पणी, चर्चापरिचर्चा र बहस जारी छ ।
 

प्रकाशित: २६ चैत्र २०७४ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App