८ वैशाख २०८१ शनिबार
अन्य

सदाबहार सारी

धार्मिक पूजादेखि स्कुल तथा कलेजका कार्यक्रमको पहिरन हो, सारी । त्यसैले यो नारीको सदाबहार फेसन बनेको छ ।  चिसो मौसमको अन्त्यसँगै सारीको मौसम सुरु भएको छ ।
गर्मी बढेसँगै सारी लगाउनेको संख्या बढेको व्यापारी बताउँछन् । बजारमा गर्मी सिजनको सुरुवातसँगै सारीका विभिन्न डिजाइन र फेसनको ट्रेन्ड बढ्दो देखिन्छ।

मञ्जु बन्जाडे ढकाल १२ वर्षदेखि कुपन्डोलमा ‘ड्रिम वेयर’ बुटिक सञ्चालन गर्दै आएकी छिन् । समर सिजनमा लाइट कलरको सारी प्रयोग गर्नु उपयुक्त हुने उनी बताउँछिन् । उनी भन्छिन्, ‘सारी लगाउँदा आफ्नो शरीरको बनावट, अनुहारको कम्प्लेक्स मिल्न जरुरी हुन्छ।

त्यहिअनुरूप कलर रोज्नु पर्छ ।’ सारी लगाउने तरिका र रङमा ध्यान दिन सके आकर्षक देखिने उनी सुनाउँछिन् । सानो कद हुने र अलिक मोटो शरीर हुने महिलाले साह्रै छोटो वा लामो ब्लाउज नलगाउन उनको सुझाव छ।

होचो कद भएकी महिलाले ५ देखि ६ इन्च ब्याक देखिने ब्लाउज लगाउन सुझाउँछिन् उनी । घाँटी छोटो र कुम चौडा हुने महिलाले भने अलिक खुला डिजाइनको ब्लाउज लगाउँदा आकर्षक देखिने उनको भनाइ छ । उनी भन्छिन्, ‘अरुले लगाएको देखेरभन्दा पनि आफूलाई सुहाउँदो रंग, डिजाइनको सारी सेट लगाउँदा लुक्स फरक र एक्स्ट्रा देखिन्छ ।’ पश्चिमेली फेसनले गर्दा सारीप्रतिको मोह कम भए पनि यसको माग भने नघटेको उनी बताउँछिन् ।
सारीका प्रचलित डिजाइन
रेडिमेड सारी
सारी लगाउन झन्झट मान्नेहरूका लागि रेडिमेड सारी उपयुक्त हुन सक्छ । बजारमा विभिन्न डिजाइन र रङका रेडिमेड सारी पाइन्छन् । बढ्दो फेसन र आधुनिकताले भरिएको जीवनशैलीमा फेसनले ठूलो महत्व छ सारीलाई आधुनिकतासँगै परम्परालाई पनि थेग्ने फेसनका रूपमा लिइन्छ ।

सारी लगाउन लामो समय खर्चिनु पर्ने र हिँडडुल गर्दा असहज हुने भएकाले रेडिमेड सारी निकै उपयोगी हुने आरभ कलेक्सनकी बिना महर्जन बताउँछिन् ।पाटनकी सोनी मालाकार अफिसको वार्षिक उत्सवमा सादा सारीमा सजिएकी थिइन् । उनले कलेजी रंगको सादा सारीमा बोर्डर हालेर लगाएकी थिइन्। 

उनी भन्छिन्, ‘मलाई फर्मल प्रोग्राममा सादा सारीमा सजिन रुचाउँछु । मलाई चम्किलो रङ, धेरै बुट्टा भएको सारी मन पर्दैन ।’ लगाउन र हिँडडुल गर्दा सजिलो हुने भएकाले रेडिमेड सारी लगाएको उनले बताइन् । हल्का कलेजी रङको सारीमा सजिँदा राम्री देखिएको महसुस भएको उनले सुनाइन् ।
जापनिज सिफन
ट्राभलिङ एड एजेन्सी, सानेपाकी निशा श्रेष्ठ जापनिज सिफनको सारी लगाउन मन पराउँछिन् । अघिपछि अन्य पहिरन लगाउने निशा पूजाआजामा भने सारीमा सजिन रुचाउँछिन् ।

उनी भन्छिन्, ‘जात्राको समयमा सारीमा सजिन मन पर्छ ।’ विगतको तुलनामा सारी लगाउने ट्रेन्ड कम भएको उनको बुझाइ छ । विशेष पर्व, पूजाआजाको कार्यक्रममा सारीमा नै आफूलाई राम्रो लाग्ने उनी बताउँछिन् । निशालाई सिफनको सारी लगाउन मन पर्छ । उनी भन्छिन्, ‘सिफनको सारी लगाउँदा निकै हलुका हुन्छ, यताउता काम गर्न पनि सजिलो हुने भएकाले सिफनको सारी लगाउँछु ।’ सिफनको सारीको फेसन सदाबहार हुने र हरेक कार्यक्रममा लगाउन मिल्ने उनी बताउँछिन्।

उनी पूजाआजाका बेला सकेसम्म सारी नै लगाउन मन पराउँछिन् । उनी भन्छिन्, ‘सारी लगाउँदा धेरै समय लाग्छ । त्यति मात्र नभएर धेरै कुरामा ध्यान दिनु पर्छ, सारीको सेट, सारीमा लगाइने सुहाउँदो गरगहना, शृंगारका सामग्री र स्यान्डलमा पनि निकै ध्यान दिनुपर्छ ।’ विशेष समारोह र पारिवारिक कार्यक्रममा सारी लगाउने निशा अन्य कार्यक्रममा भने वेस्टर्न फेसनमा सजिने बताउँछिन् ।
भाइब्रेन्ट सारी
वसन्त ऋतुमा नयाँ पालुवा पलाएसँगै मौसम नै रंगीन र रोमान्टिक हुने भएकाले फेसनमा समेत फ्लोरल बहार आउँछ । वसन्त ऋतुमा हरेक ड्रेसमा रंगिन फेसन चल्ने मञ्जु बन्जारा ढकाल बताउँछिन् । विभिन्न थरीका फूल फुल्ने मौसम भएकाले यो मौसमलाई रंगीन लुगाको फेसनका रूपमा चिनिने उनले बताइन्।

कुपन्डोलमा रहेको ड्रिम वेयर फेसनकी सञ्चालक मञ्जु हिजोआज भाइब्रेन्ट सारीको डिजाइन निकै चलेको अनुभव सुनाउँछिन् । उनी भन्छिन्, ‘भाइब्रेन्ट सारी भनेको दुई–तीन थरी रङ मिसिएको सारी हो ।’ कलर कम्बिनेसन हेरेर भाइब्रेन्ट सारीको माग रहेको उनी बताउँछिन् ।
गर्मी मौसममा कूल लुक्स देखाउने फेसन उपयुक्त हुने उनी बताउँछिन् । ‘फेसन भनेकै ट्रेन्ड हो, सबैले फ्लो गरे त्यो नै फेसन हुन्छ,’ उनले भनिन् । चिसोभन्दा गर्मी मौसममा सारीको आकर्षण बढी हुने उनले अनुभव सुनाइन्।

उनी भन्छिन्, ‘फेसन हरेक समयमा गरिने भए पनि स्प्रिङ सिजनलाई फेसनको मौसम नै मानिन्छ । चारैतिर रंगीन र हराभरा हुनाले फेसनमा पनि रंगीन लुगा लगाउने ट्रेन्ड चलेको हो।’नेपालटारकी रितु राजबाहक आफूलाई सुहाउँदो सारीको खोजीमा असनको न्यु सारी कलेक्सनमा भेटिइन् । आफूलाई सुहाउँदो सारी खोज्नमा व्यस्त देखिएकी रितु कुन सारी रोज्ने भनेर निर्णय लिन दोधारमा थिइन्।

पसलेले भाइब्रेन्ट सारी देखाएपछि भने उनको खोजी पूरा भयो । सुन्तला रङ, हलुका गुलाबी र रातो रङको कम्बिनेसन भएको सारी लगाउँदा निकै सुहाएको थियो । भाइब्रेन्ट सारी लगाउँदा मौसमअनुसार सुहाउँदो देखिइकाले यही किनेको उनले बताइन् ।
बनारसी सारी     
भारतको सहर बनारसमा उत्पादन गरिने सारी अहिले निकै चल्तीमा रहेको बताउँछिन्, आरभ कलेक्सनकी बिना महर्जन । बनारसमा मात्र बन्ने भएर सारीको नाम नै बनारसी सारी राखिएको हो । बिना भन्छिन्, ‘बनारसी सारी धेरै प्रकारका हुन्छन् । लुगा चिन्न जरुरी हुन्छ ।’ बनारसी सारी ३५ सय रूपैयाँदेखि ३५ हजार रूपैयाँसम्म पर्ने उनी बताउँछिन् । विवाहित महिलाको विशेष रोजाइमा पर्ने उनी अनुभव सुनाउँछिन्।

बनारसी सारीका धेरै प्रकार हुने उनले बताइन् । ‘बनारसी सारीमा महिलाको सुन्दरता निकै झल्किन्छ । रोयल लुक्स देखिन रुचाउनेले बनारसी सारी खोज्न आउँछन्,’ उनले भनिन् । कान्जिभरम सारी, ढकाई जलमेहन्दी सारी, जर्जट सारीलगायत सामान्य प्रकारका बनारसी सिल्कका सारी नेपालमा बढी चलेको उनले बताइन् ।  
क्लासिक सारी (कडाई)
क्लासिक सारीको फेसन सदाबहार रहने ट्रेन्ड हो । पुल्चोकमा रहेको जुनजेली क्वालिटी ब्युटी क्राफ्टमा कार्यरत बिनिता तामाङ भन्छिन्, ‘फेन्सी डिजाइन सारी, हाफ जर्जट, कडाई, प्लेन बोर्डरका सारीको राम्रो माग छ ।’ उमेर अनुसारको महिलाको रोजाइ फरक हुने उनी बताउँछिन्। 

विशेष पर्वहरूमा सारीलाई उपहारका रूपमा दिने प्रचलन निकै बढेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘आमाको मुख हेर्ने दिन, तीज, दसैं, तिहार, छठलगायत अन्य अवसरमा उपहारका रूपमा सारीको प्रयोग गरिन्छ।’

निर्मला श्रेष्ठले सारी लगाउन थालेको ३० वर्ष भइसक्यो । घरमा बस्दादेखि बाहिर हिँड्दासम्म सारीमा नै सजिन रुचाउने निर्मलाले प्रायः रातो रङको सारी लगाउँछिन् । ‘घरमा बस्दा हलुका खालको धोती लगाउन मन पर्छ । अरु लुगा लगाउँदा असहज हुन्छ,’ उनले भनिन्।

विवाह, व्रतबन्ध, चाडपर्वलगायत कार्यक्रममा सारी लगाउन सहज हुने उनी बताउँछिन् । उनी भन्छिन्, ‘गर्मी मौसममा कुर्ता वा अन्य लुगा लगाउँदा टाइट भए जस्तो असहज महसुस हुन्छ, हलुका सारी लगाउन मन पर्छ ।’ अन्य लुगाभन्दा सारीमा घरधन्दा गर्न सहज हुने उनको अनुभव छ । पार्टी तथा जात्रामा जाँदा भने कडाई गरिएका गह्रौं सारी लगाउने गरेको उनी बताउँछिन् ।

 

प्रकाशित: २६ चैत्र २०७४ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App