coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

वीरगन्जको परवानिपुर गण्डक सडक खण्डमा दोस्रो ‘६ लेन’

परवानिपुरपुरदेखि गण्डक चोकसम्मको ६ लेन सडक निर्माण कार्य हुँदै । तस्बिर :रितेश/नागरिक

वीरगन्ज – वीरगन्ज बजार क्षेत्रलाई जोड्ने परवानिपुरपुरदेखि गण्डक चोकसम्म अर्को ६ लेन सडकको निर्माण सुरु भएको छ । मुख्य बजार क्षेत्रतिर जाने बाटो भने पहिलो चरणको ६ लेन योजनामा परेको थिएन।

पूर्वपश्चिम राजमार्गको पथलैयादेखि वीरगन्जको अलौंस्थित एकीकृत जाँच चौकी (आइसिपी)सम्म जोड्ने व्यपारिक मार्ग विस्तार योजनाअन्तर्गत निर्माणाधीन ६ लेन सडक परवानिपुरपुरबाट नै दक्षिण–पश्चिमतिर मोडिन्छ । बाँकी रहेको सडक खण्ड अब दोस्रो चरणमा उक्त योजनाअन्तर्गत बनेपछि वीरगन्जको मुहार फेरिनेमा स्थानीयमा विश्वस्त छन्।

पहिलो चरणको योजनाअनुसार ६ लेन सडक त्रिभुवन राजपथमा पर्ने पर्साको लिपनी बिर्ताको परवानिपुरपुरदेखि नयाँ बाइपास हुँदै अलौंस्थित (आइसिपी)मा गएर जोडिएको छ । परवानिपुरपुरको सोही बिन्दुबाट सवा चार किलोमिटर सिधै दक्षिण गण्डक चोकसम्म दोस्रो चरणको ६ लेनले जोडिरहेको छ । नेपालको ७० प्रतिशत व्यापार हुने वीरगन्ज नाका त्रिभुवन राजपथको सडकखण्डले अहिलेसम्म सवारी आवागमन धानिदै आएकोमा अब ६ लेन सडक दुईतिरबाट वीरगन्ज्मा जोडिन लागेको छ।

‘ढिलै भएपनि यी सडकहरु बनेपछि वीरगन्ज नयाँ स्वरुपमा फेरिने छ, यहाँका जनताले राहतको श्वास फेर्नेछन्,’ वीरगन्जका नगरप्रमुख विजय सरावगीले भने, ‘जाम, दुर्घटना र धुँवाधुलोबाट धेरै हदसम्म जनताले राहत पाउने छन् ।’उनले परियोजनामा आइपर्ने कुनै पनि किसिमका बाधा अवरोधलाई पन्छाउन वीरगन्ज महानगरपालिकाको टिम तयार रहेको बताए । नेपालमा सवारी साधन न्यून संख्यामा रहेका बेला सन् १९५९ मा त्रिभुवन राजपथ बनेको थियो।

सडक ५८ वर्षपछि मुहार फेर्न लागेको हो । सडकको डिजाइनअनुसार सडकको मध्य भागमा यसलाई दुईतिर बाड्ने हरियालीसहितको ‘डिभाइडर’ हुनेछ भने दुवैतर्फ तीन–तीन लेन बाटो हुनेछ । प्रत्येक लेन तीन मिटरको हुनेछ । मुल सडकको संरचनाबाहेक दुवैतर्फ पाँच–पाँच मिटरको सर्बिलेन्स लेन पनि हुनेछ । सबै ६ लेन गरेर ५० मिटर चौडा हुनेछ । पहिलो चरणको कार्यमा भौतिक प्रगति करिब ३० प्रतिशत पुगेको बेला दोस्रो चरणको पनि काम थालिएको हो।

२७ किलोमिटर ६ लेन सडक बनाउन बेग्लाबेग्लै ६ वटा ठेक्का सम्झौता गरिएको छ भने दोस्रो चरणको ४.२४ किलोमिटरको निर्माणका लागि दिवा सपना जेभी निर्माण कम्पनलिे यसको ठेक्का लिएका हुन् । निर्माण कम्पनीले बेलैमा काम सकाए दुवैतिरको ६ लेन सडक एकैसाथ सम्पन्न हुन सक्ने अनुमान गरिएको छ।

४० करोड ३१ लाख ८० हजार रुपैयाँ लागतमा यसलाई तयार गर्न मंसिर ६ गते सम्झौता भएपछि निर्माण कम्पनीले काम सुरु गरेको  थियो । काम गर्ने ठाउँ खाली नपाउनु बाहेक अरु कुनै समस्या नभएको  सडक विभागअन्तर्गतको सडक योजना कि इन्जिनियर सौम्या आनन्दको भनाइ छ।

‘निजी घर र उद्योगलगायत भौतिक संरचनाले केही समस्या भइरहेको र त्यसलाई हटाउन हामी स्थानीय तहमा निर्वाचित प्रतिनिधिसँग समन्वय गरिरहेका छौं,’ आनन्दले भनिन्, ‘सरकारी संरचनामा नारायणी सिँचाइ कार्यालयको पर्खाल परेको छ, त्यसलाई हटाउन कुनै समस्या छैन्, विद्युत्का ‘पोल’ (खम्बा) हटाउन पनि यसपालि टेन्डरभित्रै राखिएकाले त्यसमा पनि सहज नै होला ।’ नेपाल विद्युत् प्राधिकरणले आफ्नो खम्बा, ट्रान्सफर्मरलगायत बेलैमा नहटाई दिएर योजना निर्माणमा ढिलाइ भएको प्रसस्त उदहारण छन्।

यसपालि विद्युत् प्राधिकरणका यस्ता कुरा हटाउन टेन्डरभित्रै राखिएको हो। ‘यस्ता कुराहरु हटाउने र व्यवस्थापन गरेर राख्ने जस्ता काममा प्राधिकरणले प्राविधिक रुपमा सुपरीवेक्षणको काम गरिरहेको आनन्दले बताइन् । उनले प्राधिकरणबाट कुनै समस्या नभएको उल्लेख गरिन्।


 

प्रकाशित: २७ चैत्र २०७४ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App