६ वैशाख २०८१ बिहीबार
समाज

काठमाडौं पूर्ण खोपयुक्त जिल्ला घोषणा

काठमाडौं खोपयुक्त जिल्ला घोषणा कार्यक्रमको लागि आयोजित -यालीका सहभागीहरू। तस्बिरः नागरिक

काठमाडौं – राजधानी काठमाडौं सोमबारदेखि पूर्ण खोपयुक्त जिल्ला घोषित भएको छ। जिल्लाभरका बालबालिकालाई पूर्ण रुपमा खोप दिलाउन सफल भएकाले पूर्ण खोप जिल्ला घोषणा गरेको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

कार्यालयले राजधानीमा स्वास्थ्यकर्मी तथा नर्सिङ विद्यार्थीहरुको सहभागितामा -याली र सभाको आयोजना गर्दै सो घोषणा गरेको हो। राजधानीको त्रिपुरेश्वर, सुन्धारा, स्वास्थ्य मन्त्रालय र शान्ति बाटिकाबाट निस्केको -याली खुल्लामञ्चमा पुगेर सभामा परिणत भएको थियो।

-यालीमा सहभागीले ‘खोप लगाऔं, रोग भगाऔं,’ ‘खोप लगाउन पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो, खोप लगाई बालबालिकाको मृत्युदर घटाऔं’ लेखिएको प्लेकार्ड बोकेका थिए।

१५ महिनाभित्र ११ खोप लगाए बालबालिका स्वस्थ

धोषणा सभालाई सम्बोधन गर्दै उपराष्ट्रपति नन्दकिशोर पुनले एक दिन मात्र नभएर सधैंका लागि बालबालिकालाई पूर्ण खोप दिने वातवरण बनाउनुपर्ने बताए। ‘पूर्ण खोप कार्यक्रम सधैंका लागि हुनुपर्छ र कुनै पनि बालबालिका खोप लगाउनबाट वञ्चित हुनु हुँदैन,’ उपराष्ट्रपति पुनले भने।

काठमाडौं ४० औं पूर्ण खोपयुक्त जिल्लाका रुपमा घोषित भएको हो। सरकारले सन् २०१७ भित्रै सम्पूर्ण देशलाई पूर्णखोप जिल्ला घोषणा गर्ने कार्यक्रमअनुसार काठमाडौंलाई खोपयुक्त घोषणा गरिएको हो। २०६९ सालमा अछामको भागेश्वर गाविसबाट पहिलो पटक पूर्ण खोप गाउँ घोषणा गरिएको थियो।

सन् २०११ को नेपालको जनस्वास्थ्य सर्वेक्षण अनुसार ८७ प्रतिशतले पूर्ण खोप लगाएका, १० प्रतिशतले कुनै न कुनै खोप नलगाएको र ३ प्रतिशतले कुनै पनि खोप नलगाएको प्रतिवेदन आएपछि सरकारले पूर्ण खोप कार्यक्रमअघि सारेको थियो। यो कार्यक्रमअन्तर्गत सोमबारसम्म ४१ वटा जिल्ला पूर्ण खोप जिल्ला घोषणा भइसकेका छन्।

स्वास्थ्य स्वयंसेवकमार्फत घर–घर पुगेर पूर्ण खोप लिए/नलिएको बारेमा सर्वेक्षण गरेपछि काठमाडौंलाई पूर्ण खोप जिल्ला घोषणा गरेएको जिल्ला जनस्वास्थ्य कार्यालयकी भेक्टर कन्ट्रोल निरीक्षक गीता आचार्यले बताइन्। सर्वेक्षणको क्रममा काठमाडौंका कतिपय वडामा पूर्ण खोप नलगाइएका व्यक्ति पाइएको काठमाडौं महानगरपालिकाका जनस्वास्थ्य अधिकृत हरिप्रसाद लम्सालले बताए। सर्वेक्षण अभियानसँगै खोप छुटेका बालबालिकालाई खोप दिएको र घर–घरमा खोपको महत्वबारे जनचेतना जगाउन सफल भएको निरीक्षक आचार्यले बताइन्। ‘आजको कार्यक्रमको उद्देश्य पनि अबदेखि कोही पनि खोप लगाउनबाट नछुटून् भन्ने हो,’ उनले भनिन्।

जिल्ला जनस्वास्थ्य प्रशासक झाका अनुसार सरकारले विभिन्न ११ वटा खोप निःशुल्क आफ्ना स्वास्थ्य संस्थामार्फत उपलब्ध गराएको छ। डिसिजी, पेन्टाभ्यालेन्ट, डिक्टोरिया, टिटानाश, हेपाटाइटिस बि, निमोकोकल, रुवेला, जापानिज इन्सेफलाइटिस, इन्फुलुऐन्जा, ओरल पोलियो हुन्। यी खोप लगाएमा क्षयरोग, दादुरा, रुवेला, लहरेखोकी, धनुष्टंकार, निमोनियाँ, जापानिज इन्सेफलाइटिसलगायतका रोगले आक्रमण गर्दैनन् र बालबालिका सरुवा रोगटबाट मुक्त हुने डा. झाले बताए।

उनी भन्छन्, ‘सात पटक स्वास्थ्य संस्था पुगेमा एघारवटै खोप लगाउन सकिन्छ।’ सबै खोप बच्चा जन्मिएको १५ महिनाभित्र लगाइसक्नुपर्ने उनले सुझाए। यी खोपमध्ये कुनै छुटेमा बालबालिकाको यीमध्ये कुनै रोगका कारण मृत्यु हुन सक्ने र जीवित भए रोगको संक्रमणको सिकार हुनसक्ने  डा. नरेन्द्र झाले बताए।

काठमाडौं जिल्लामा जिल्लाका सरकारी अस्पताल, नगरपालिकाका प्रत्येक स्वास्थ्य कार्यालय, त्रिवि शिक्षण अस्पताल, वीर, कान्ति बाल र प्रसूति गृह र काठमाडौं महानगरपालिकाका २८ वटा सहरी स्वास्थ्य क्लिनिकमार्फत यी खोप वितरण भइरहेका छन्।

प्रकाशित: २७ चैत्र २०७४ ०३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App