coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

सबै महानगरपालिकामा महिला प्राविधिक शिक्षालय

काठमाडौं – महिलालाई प्राविधिक तथा व्यावसायिक शिक्षा दिन देशका ६ वटै महानगरपालिकामा एक–एक वटा महिला बहुप्राविधिक शिक्षालय खोलिने भएको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धनमा महानगरहरूमा महिला बहुप्राविधिक शिक्षालय खोलिने भएको सिटिइभिटीका सदस्यसचिव पुष्परमण वाग्लेले बताए। यसका लागि शिक्षा मन्त्रालयमा प्रस्ताव पेस भइसकेको वाग्लेले बताए।

उनले महानगरमा स्थापना हुने प्राविधिक शिक्षालयमा नर्सिङ, कृषि, इन्जिनियरिङ, स्वास्थ्यलगायतका विषय अध्यापन गराइने बताए। ‘हालसम्म महिला केन्द्रित प्राविधिक शिक्षाको व्यवस्था नहुँदा प्राविधिक शिक्षा हासिल गर्न महिला वञ्चित थिए,’ सदस्यसचिव वाग्लेले नागरिकसँग भने, ‘यसले महिलालाई आर्थिक रुपमा सक्षम बनाउनेछ।’

सिटिइभिटीको सम्बन्धनमा प्रत्येक प्रदेशमा एकएक बहुप्राविधिक शिक्षालय खोल्ने गृहकार्य सुरु भइसकेको वाग्लेले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले ७० प्रतिशत प्राविधिक शिक्षा र ३० प्रतिशत साधारण शिक्षा बनाउन ७ सय ५३ वटा स्थानीय तहमा सिटिइभिटीको सम्बन्धनमा एकएक प्राविधिक शिक्षालय खोल्ने घोषणा गरेका थिए।

सिटिइभिटीले देशका सबै स्थानीय तहमा एक–एक प्राविधिक शिक्षालय खोल्ने कार्यविधि बनाएर शिक्षा मन्त्रालयमा प्रस्ताव पेस गरेको छ। प्रस्तावमा चालू आर्थिक वर्षमा ७ प्रदेशमा रहेका प्राविधिक शिक्षालयलाई नमुना शिक्षालय बनाइने तय भएको वाग्लेले बताए। नयाँ आर्थिक वर्षदेखि हाल चालू प्राविधिक शिक्षालयलाई नै स्तरोन्नती गरी नमुना बनाइने पनि उनले बताए। बहुप्राविधिक शिक्षालयमा कृषि, इन्जिनियरिङ्ग, स्वास्थ्य, होटेल व्यवस्थापनलगायत अन्य प्राविधिक विषयको पठनपाठन गराइनेछ। ‘अब प्रदेशस्तरमै वर्षेनी ५–१० हजार व्यक्तिले प्रत्यक्ष रुपमै प्राविधिक तथा सिपमूलक शिक्षाको लाभ उठाउने सक्नेछन्,’ सदस्यसचिव वाग्लेले नागरिकसँग भने। आगामी आर्थिक वर्षमा प्रत्येक प्रदेशमा नमुना बहुप्राविधिक शिक्षालय, सबै महानगरपालिकामा एक–एक महिला बहुप्राविधिक शिक्षालय तथा यो वर्ष २ सय ४० स्थानीय निकायमा एक–एक प्राविधिक शिक्षालय तथा छोटा अवधिको तालिम सञ्चालनका लागि बजेटसहितको कार्ययोजना शिक्षा मन्त्रालयमा पेस गरिरसकिएको वाग्लले जनाए।

सिटिइभिटीका निर्देशक टेकबहादुर मल्लले आगामी आर्थिक वर्षदेखि सरकारले वैदेशिक रोजगारीमा जानेहरूका लागि लक्षित गरी पाठ्यक्रम तयार गरी सिपमूलक शिक्षा दिने तयारी भइरहेको बताए। ‘सरकारले दक्ष र विश्वबजारमा बिक्ने जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षामा जोड दिएको छ,’ मल्लले भने, ‘अब सिटिइभिटीको सातवटै प्रदेशमा प्रदेश कार्यालयबाट प्राविधिक शिक्षा दिइनेछ । केन्द्रले पाठ्यक्रम निर्माण, परीक्षा व्यवस्थापन, अनुगमन मापदण्डलगातको काम गर्ने तथा अन्तिम प्रमाणपत्र दिने कार्य गर्नेछ।’ उनले थपे, ‘कार्यान्वयनको पाटो भने स्थानीय निकायको नै जिम्मामा हुनेछ।’

उनले आगामी शैक्षिक सत्रदेखि नयाँ विषय पनि थपिने बताए। जसमा इन्जिनियरिङ, ब्युटिसियन एन्ड कस्मेटोलोजी, फेसन डिजाइनिङ तथा प्रसूतिलगायतका विषय छन्।

सदस्यसचिव वाग्लेले विदेशिने जनशक्ति सीपयुक्त भएर गएमा राम्रो काम पाउने र आर्थिकस्तरसमेत राम्रो हुने दाबी गरे। ‘सिटिइभिटीले नेपालीहरु कामका लागि कुन–कुन देश जान्छन् त्यसबारे अध्ययन गरी सोहीअनुसारको सीपमूलक पाठ्यक्रम तयारी गरिरहेको छ,’ बाग्लेले भने।

उनले नमुना र महिला दुवै शिक्षालयमा ३ वर्षे डिप्लोमा, छोटो अवधिको तालिमका साथै सीप परीक्षणसमेतको कार्यक्रम सञ्चालन गरिने जनाए। यो वर्ष ७ सय ५३ स्थनीय तहमा सञ्चालन गर्न लागिएको प्राविधिक शिक्षालयमध्ये निजीतर्फका सय, सामुदायिकतर्फ सय र आंगिक साझेदारी तथा परोपकारीबाट ४० गरी कुल २ सय ४० छन्। त्यस्तै, १ सय ९० स्थानीय तहमा भने हाल प्राविधिक शिक्षा चालू छ।

‘२९ वर्षमा १ सय ९० स्थानीय तहमा प्राविधिक शिक्षालय खुले भने आगामी वर्ष २ सय ४० वटा खुल्नेछन्। यो प्राविधिक शिक्षाको क्षेत्रमा ठूलो उपलब्धी हो,’ सदस्यसचिव वाग्लेले भने, ‘सिटिइभिटीबाट हाल देशभर आंगिक ३४, साझेदारीमा ५, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा १ सय ८५ र निजी सम्बन्धनमा ४ सय २९ गरी कुल ६ सय ५३ प्राविधिक शिक्षालयमा गरी ४० हजार विद्यार्थीले शिक्षा तथा सीप हासिल गरिरहेका छन्।’

प्रकाशित: २७ चैत्र २०७४ ०३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App