१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

जन–जीविकाका सवाल

जनतासँग प्रत्यक्ष जोडिएका धेरै सवाल हराएका छन्। जनजीविकासँग जोडिएर आउने समस्यामा बहस छैन। म प्रधानमन्त्रीलाई नै सम्बोधन गरी केही लेख्न चाहन्छु। नेपाली समाज, बहुसङ्ख्यक ग्रामीण समुदाय, गरिब समुदाय जसले यो मुलुकको परिवर्तनका लागि लामो लडाइँ लडे, परिवर्तनका निम्ति बलिदानी गरे, परिवर्तनका निम्ति जीवन व्यतीत गरे। तीमध्ये तपाईं प्रधानमन्त्रीज्यू पनि एक हुनुहुन्छ भन्ने हामीले बुझेका छौँ। तपाईंले विभिन्न समयमा दिनुभएको अभिव्यक्तिअनुसार यो मुलुकको परिवर्तनकै निम्ति लामो लडाइँ लड्नुभयो। १४ वर्ष जेल, नेल भोग्नुभयो। आफ्नो जीवन सेवाभावमै लगाउनुभयो। हो, त्यही व्यक्ति यतिबेला शक्तिशाली अधिकारीसहित मुलुकको प्रमुख शासनको बागडोर सम्हाल्न पुग्नुभएको छ। यो सम्पूर्ण परिवर्तनको आशा र पर्खाइमा बस्नेहरूका निम्ति खुसीको विषय पनि हो। गरिबीको नियति भोग्नुपर्ने बाध्यता हट्नेछन्। अन्याय, अत्याचार, शोषण, दमन, घुसखोरी प्रवृत्तिको अन्त्य हुनेछ भन्ने आशा र एवं विश्वास गरेका छौँ, यही विषय तपाईंको कार्ययोजनाभित्र परेका छन् होला।

०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण ७ लाखभन्दा बढी नेपाली परिवार प्रत्यक्ष प्रभावित भएका छन्। भूकम्प पीडितहरूले३ वर्ष पूरा भइसक्दा पनि पाल र टिनको छानोमुनि बस्नु परिरहेको विषयमा तपाईं पक्कै अनविज्ञ हुनुहुन्न। आजसम्म किन यी परिवार यसरी पुनर्निर्माण नगरी बस्न बाध्य भए, त्यो पनि तपाईंलाई थाहा छ, यसैले सम्पूर्ण भूकम्प पीडित परिवारको प्रभावकारी पुनर्निर्माणका लागि तपाईंको विशेष पहल हुनु आवश्यक छ। नेपाली सबै समान हैसियतका छैनन्, कतिपय गरिब, भूमिहीन, सुकुमबासी, विस्थापित, एकल महिला, जेष्ठ नागरिक, अनाथ बालबालिका भएका परिवारको पुनर्निर्माणको प्रगति हुन सकेको छैन। किनकि उनीहरूसँग नयाँ घर बनाउनका लागि आफूले लगानी गर्न सक्ने पैसा छैन, सरकारले दिने भनेको ३ लाख रुपियाँले सानो झुपडी बनाउन पनि पर्याप्त छैन र सरकारले दिने भनेको सहुलियत ऋण पनि दिन सकेको छैन। यस्तो पीडामा रहेका नेपालीलाई तपाईंको पहिलो सहयोग अपरिहार्य छ, हिजोकै जस्तो नीति, व्यवहार र पद्धतिले यस्ता समस्यामा परेका परिवारको पुनर्निर्माण सम्भव नभएको हुँदा यस विषयमा प्रधानमन्त्रीज्यूको मुख्य ध्यान जाओस्।

नेपालमा अहिले पनि २५ लाखभन्दा बढी घरधुरी गरिबीको रेखामुनि छन्। गरिबीले जीविकोपार्जन धौधौ भएपछि नेपाली युवाहरू विदेशिने क्रम बढ्दो छ। ४० लाखभन्दा बढी नेपाली विदेशमा छन् भनिएको छ, जुन उर्वर शक्ति र सामथ्र्य भएका जनशक्ति हुन्। उनीहरूको पौरख नेपालमा लगानी गर्न सक्ने हो हामीले सोचेका जस्तो नेपालको विकास सम्भव हुन्थ्यो होला। यो विषयमा पनि तपाईं जानकार हुनुहुन्छ। अहिलेसम्म यस्ता गरिबीमा बाँचेका परिवारलाई स्वरोजगारमूलक कार्यक्रम सञ्चालन हुन नसक्दा बाध्यतावश नेपाली युवा विदेश पसेका हुन्। तपाईंको कार्यकाल नेपाली पौरख र शक्ति नेपालमै लगाउने आकर्षणमूलक कार्यक्रम सञ्चालन गरी यस्ता वर्षौंदेखि गरिबीमा बाँचेका परिवारलाई न्याय दिनु तपाईंको मुख्य कार्य होस्। भूमिहीन, सुकुमबासी, एकल महिला, जेष्ठ नागरिक, अनाथ बालबालिका रहेका परिवारलाई विशेष रोजगारमूलक कार्यक्रम सञ्चालन गरी उनीहरूलाई पनि आधारभूत आवश्यकता पूरा गरी जीवन बाँच्ने अधिकारको प्रत्याभूति दिलाउन पहल गरिदिनुहोस्। यस्तो सहयोग सम्पूर्ण परिवारलाई उनीहरूको क्षमता र इच्छाअनुसार गराउने व्यवस्था भइदिए प्रभावकारी हुनेथियो।

सपना धेरै बाँडिए, आश्वासन धेरै दिइए तर कम्युनिस्ट पार्टीबाट मुलुकको सर्वोच्च पदमा पुगेका नेताले पनि जनताको जीवनको समृद्धि ल्याउने काम गर्न सकेका छैन। मुलुकमा दिनहुँ महँगी बढ्दै गएको छ। जनताका आवश्यकताहरू बढ्दै गएका छन्, तर जनताको आयस्रोत छैन। ऋणमा दिनहुँ डुब्दै गएका छन्। जनताका छोराछोरीले राम्रोसँग शिक्षा पाएका छैनन्। विद्यालय शिक्षामा भएको अनियमित र निजी तथा सार्वजनिकको अवधारणा हटाई सबै जनताले सर्वसुलभ शिक्षा पाउने नीति र कार्यक्रम सञ्चालन गरियोस्।

पुस्तौँदेखि आफैँले जोतभोग गर्दै आएको रसुवाको किसानको जग्गा बिर्ता भयो। कसरी बिर्ता भयो पनि किसानलाई थाहा छैन। कहिले उन्मूलन भयो पनि किसानले थाहा पाएनन्। जब किसानले आफू ठगिएको थाहा पाए, किसानहरूले आन्दोलन गरे। उक्त बिर्ता भनिएको जग्गाको पुर्जा बनाएर सरकारले किसानलाई वितरण ग¥यो। २०६६ सालमा तपाईंको पार्टी नेकपा एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्ले निर्णय गरी बिर्ता जग्गाको पुर्जा किसानलाई वितरण गरेको थियो, तर अहिले एकाएक त्यतिबेलाका जग्गाधनी भनिएकाहरूको आफन्तहरूले केही कानुन व्यवसायीसँगको मिलोमतामा किसानको नाममा मुद्दा हाली दुःख दिने काम भइरहेका छन्। मुद्दाको नाममा किसानसँग गैरकानुनी तवरले रकम असुल गर्ने खेल भइरहेका छन्। यसरी जनतालाई दुःख दिनेहरूलाई कारबाही गरी न्याय दिने खालको कार्य गरिनुप¥यो। हामीले सुनेका छौँ, झापा आन्दोलन हुँदा यस्ता सामन्तीलाई कारबाही गरिएको थियो, त्यतिबेलादेखि तपाईंहरूले समाधान गर्न खोजेको यस्तो भूमिसम्बन्धी समस्या अझै पनि रसुवा, नुवाकोटलगायत नेपालका कतिपय जिल्लामा जडकै रूपमा रहेको छ।

संविधानमा लेखिएको छ, सबै नेपाली समृद्ध हुनेछन्, समतामूलक र समाजवादउन्मुख समाज निर्माण हुनेछ, यो परिकल्पना तपाईंको पनि पक्कै होला। त्यही संविधान कार्यान्वयन गर्ने चरणमा तपाईं आगामी ५ वर्षे कार्यकालको लागि नेपाली इतिहासमै एक शक्तिशाली प्रधानमन्त्रीको हैसियतमा हुनुहुन्छ। यस्तो अवस्थामा पनि नेपाली जनताले वर्षांैदेखि भोग्दै आएका समस्याहरू, गरिबी, अन्याय, अत्याचार, भ्रष्टाचार, बेतिथिको अन्त्य होस्। एक पल्ट बाँच्न पाउने नेपालीले कम्तीमा जीवनमा सुख, शान्ति, अमनचैनसँग बाँच्न पाऊन्, यो विषयमा तपाईंको उचित ध्यान जाओस्।

प्रकाशित: २७ चैत्र २०७४ ०४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App