६ वैशाख २०८१ बिहीबार
राजनीति

सहिद वान्तवाको जन्मघरमा मुख्यमन्त्री राई

इलाम- १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले नागरिकले आफूहरूलाई सहिदको सपना पूरा गर्ने जिम्मेवारी दिएको बताएका छन्। उनले सहिदले देखेको समानता र न्यायमा आधारित आर्थिक क्रान्तिको सपना पूरा गर्न अझै बाँकी नै रहेको बताए।

 ‘सहिदले देखेको जनतालाई देशको मालिक बनाउने सपना चाहिँ पूरा भएको छ,’ सहिद रत्नकुमार बान्तवाको ३९औं स्मृति दिवस अवसरमा इलामको चित्रेस्थित रत्नको जन्मघरमा आयोजित समारोहमा उनले भने, ‘सहिद रत्न मेरो प्रेरणाको स्रोत हुनुहुन्छ, उहाँहरूजस्ता सहिदले देखेको सपना पूरा गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ।’ मुख्यमन्त्री राईले कम्युनिस्टको नेतृत्वमा इतिहासकै पहिलो शक्तिशाली सरकार बनेको भन्दै अबको ५ वर्षमा समृद्धिको सपना पूरा गर्ने बताए । ‘अब शान्तिपूर्ण, राजनीतिक स्थायित्व, सुशासन र विकासले भरिपूर्ण नेपाल बन्नेछ,’ उनले भने, ‘सिंगो राष्ट्र अहिले विकास र समृद्धिमा केन्द्रित छ ।’

रत्न–बम प्रतिष्ठानले आयोजना गरेको स्मृति दिवसमा सहभागी हुन एमाले पोलिटब्युरो सदस्य प्रदीप नेपाल, केन्द्रीय कमिटी सदस्य देवराज घिमिरे, राष्ट्रियसभा सदस्य अगमप्रसाद बान्तवा, प्रदेशसभा सदस्यद्वय रामबहादुर मगर र धीरेन शर्मा, जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराललगायतको सहभागिता थियो । कार्यक्रममा प्रगतिशील लेखक संघले संघमा आबद्ध रहेर योगदान गर्ने इलाम नगरपालिकाका प्रमुखसमेत रहेका महेश बस्नेत, रविमान लम्जेल र लेखक संघका केन्द्रीय अध्यक्ष मातृका पोख्रेललाई सम्मानसमेत गरियो । रत्नकै परिवारका सदस्य रहेका राष्ट्रियसभा सदस्य अगमप्रसाद बान्तवाले बुबा मानबहादुर र आमा धनरानीको स्मृतिमा १ लाख ३० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको प्रतिष्ठानका जिल्ला अध्यक्ष डा. देवी क्षेत्री दुलालले बताए।

२००८ साल चैत २७ मा जन्मेका रत्नकुमार बान्तवालाई २७ वर्षकै उमेरमा २०३५ साल चैत २७ गते सुरक्षाकर्मीले इलामकै इभाङ गाउँमा गोली हानी हत्या गरेको थियो । अखिल नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी कोअर्डिनेसन कमिटी सदस्य रहेका रत्नकुमार बहुप्रतिभाका धनी मानिन्थे । उनलाई सरकारले २०७२ फागुन १८ गते सहिद घोषणा गरेको थियो ।

       बुबा गर्जमान राई र आमा पुष्पमायाका कोखबाट गरिब किसान परिवारमा जन्मिएका बान्तवा ६ दाजु–भाइ र ६ दिदी–बहिनीमध्ये चौथो सन्तान थिए । २०२५ सालमा एसएलसी उत्तीर्णपछि केही वर्ष स्थानीय रक्से प्राइमरी स्कुलमा सहशिक्षकका रूपमा सेवा गरे । पछि सानीआमाको सहयोगमा धरानबाट आइएको अध्ययन पूरा गरी बान्तवाले काठमाडौंमा धेरै दुःख कष्ट र अभावविरुद्ध संघर्ष गर्दै आफ्नो बिएडसम्मको अध्ययन पूरा गरेका थिए।

प्रकाशित: २७ चैत्र २०७४ १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App