८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न– बोआओ फोरममा किन नगएको ?

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले चीनको बोआओ फोरममा नेपालले भाग नलिएकोमा असन्तुष्टि जनाएका छन्। 

विहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उपाध्यक्ष रावलले बोआओ नेपालको लागि ठूलो फोरम भएको भन्दै भाग किन नलिएको भनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गरे। बोआओ फोरममा नेपालले भाग लिनुपर्दथ्यो भन्दै के कति कारणले नलिएको भन्दै सरकारसँग जवाफ समेत मागे।

‘चीनले बोलाएन कि वा बोलाएरपनि नगएको हो कि, नेपालले भाग लिनुपर्दथ्यो, यो नेपालको लागि ठूलो फोरम हो, किन छुट्यो मेरो जिज्ञासा छ’, रावलले प्रश्न गरे।  

परराष्ट्र मन्त्रालयका अनुसार चीनले बोआओ सम्मेलनमा सहभागिताका लागि नेपाल सरकारलाई निमन्त्रणा दिएको थियो। उक्त सम्मेलनमा यसअघि नेपालका तर्फबाट राष्ट्रप्रमुख (प्रधानमन्त्री/राष्ट्रपति) ले सहभागिता जनाउने गरेको भएपनि यसपटक वाम गठबन्धनले नेतृत्व गरिरहेको सरकारका तर्फबाट प्रतिनिधित्व भएन। 

उल्टै सोही समयमा प्रधानमन्त्री ओली भारत भ्रमणमा गए। ओली भारत भ्रमणमा गएका बेला एमाले नेता माधवकुमार नेपाल भने सांघाई कोअपरेशन अर्गनाइजेशन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजित ‘क्षेत्रीय शान्ति प्रवर्द्धन ः मानवता लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा सहभागी हुन बेइजिङ गएका थिए।

वाम सरकारले देश आर्थिक समृद्ध बनाउने, छिमेकसँग सन्तुलित सन्बन्ध राख्ने नारा दिइरहेका बेला प्रधानमन्त्री ओलीले उत्तरी छिमेकी चीनको महत्वपूर्ण भनिएको बोआओ सम्मेलनलाई उपेक्षा गरेपछि कुटनीतिक शास्त्रका ज्ञाता समेत रहेका नेता रावलले प्रधानमन्त्रीमाथि प्रश्न उठाएका हुन्।

‘विराटनगरको कार्यालय हट्ने कुरा उठ्यो की उठेन ?’

त्यस्तै नेता रावलले ‘भारतले विराटनगरमा कोशीमा बाढी आउँदाखेरी खोलेको कार्यालय हट्ने कुरा दिल्लीमा यसपटक भयो की भएन मेरो जिज्ञासा छ’ भन्दै प्रधानमन्त्रीसामु अर्काे प्रश्न राखे। भारतले नेपाल सरकारको अनुमतिविना स्थापना गरेको महावाणिज्य दूतावास कार्यालय तत्काल हटाउनुपर्ने भन्दै उनले सन् १९५० को सन्धि र महाकाली सन्धि पुनरावलोकन गर्नुपर्ने धारणा राखे। उच्च तहमा भ्रमण हुँदापनि सरकारले यी विषयमा किन प्रश्न उठाएन भन्दै रावलले जिज्ञासा राखेका हुन्।

प्रकाशित: २९ चैत्र २०७४ ११:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App