८ वैशाख २०८१ शनिबार
अन्य

बिदाको दिन पाइँदैन सवारी

उपत्यकामा चल्ने धेरैजसो सार्वजनिक सवारी साधन सार्वजनिक बिदाको दिन रिजर्भमा चल्ने गरेको पाइएको छ । यातायात व्यवसायीहरूले रुट पर्मिट विपरित सवारीसाधन रिजर्भमा चलाउँदा यात्रुहरूले सास्ती खेप्नुपरेको छ ।

बिदाका दिन सवारी कम चल्ने भएकाले बसमा यात्रुको निकै भीडभाड हुने गरेको छ । बस रोक्ने स्थानमा पनि यात्रुको बाक्लो भीड लाग्ने गरेको छ।बिदाका दिन नियमित रुटमा चल्ने सवारी संख्या कम हुने यात्रुहरूको गुनासो छ । ‘सार्वजनिक बिदा दिन भक्तपुरबाट काठमाडौं जान मुस्किल पर्छ,’ गत शनिबार भक्तपुरको च्यामासिंहमा बस कुरिहरेकी सविना बानियाँले नागरिकसँग भनिन्, ‘व्यवसायीहरूको दादागिरीका कारण यात्रुले सास्ती खेप्नुपरेको छ, यसबारे जिम्मेवार निकायले पनि कुनै चासो दिएको देखिन्न।’

उनले बिदाको दिन च्यामासिंहबाट कलंकी र रत्नपार्क दुवै रुटका बस नपाइने दुखेसो पोखिन्। ‘स्टपमा सवारी कुर्नेहरूको संख्या अत्यधिक हुन्छ,’ उनले थपिन्, ‘अरुबेला पाँच मिनेटको फरकमा चल्ने बस शनिबार भने एक घण्टा बित्दासम्म पनि पाइँदैन ।’भक्तपुरको मध्यपुर बस व्यवसायी संघले प्रत्येक पाँच मिनेटमा छुट्ने गरी ४० बस च्यामासिंहबाट सञ्चालन गर्दै आएको छ ।

‘दुवै रुटमा दैनिक ४० बस चल्छन्,’ संघका अध्यक्ष प्रकाश डंगोलले भने, ‘बिदाको दिन रुट पर्मिट विपरित हिँड्न पाइँदैन, नियम मिचेर हिँड्ने केही सवारीलाई हामीले कारबाही पनि गरेका छौं ।’उनले पछिल्लो समय शनिबार चल्न नमान्ने र रिजर्भमा हिँड्ने सवारीलाई संघले जरिवाना तिराएको जानकारी दिए । ‘संघको अनुमतिमा रिजर्भमा हिँड्न पाइन्छ । तर, पैसाको लोभमा मनपरी रिजर्भमा हिँड्न पाइन्न,’ उनले भने।

बिदाको दिन काठमाडौंको सुन्धारा, भृकुटीमण्डप, रत्नपार्क, बानेश्वर, कोटेश्वर, तीनकुने, माइतीघर, कुपन्डोल, ग्वार्को, सातदोबाटो, चावहिल, बौद्ध, जोरपाटीलगायत क्षेत्रमा सवारी साधन पाउन मुस्किल पर्छ । भक्तपुरको मलविनायक, च्यामासिंह, सूर्यविनायकदेखि काठमाडौं रुटमा पनि यात्रुहरूले सास्ती खेप्नुपर्ने अवस्था छ।

‘बिदाको दिन काठमाडौंको सुन्धारा, भृकुटीमण्डप, रत्नपार्क, बानेश्वर, कोटेश्वर, तीनकुने, माइतीघर, कुपन्डोल, ग्वार्को, सातदोबाटो, चावहिल, बौद्ध, जोरपाटीलगायत क्षेत्रमा यात्रुलाई सार्वजनिक सवारीसाधन पाउन मुस्किल पर्छ । भक्तपुरको कमलविनायक, च्यामासिंह, सूर्यविनायकदेखि काठमाडौं रूटमा पनि यात्रुले सास्ती खेप्नु पर्ने अवस्था छ।’
 

यात्रुहरूका अनुसार शनिबार धेरैजसो सार्वजनिक बस रिजर्भमा चल्छन् । जसका कारण सडकमा सवारीको उपस्थिति पातलो देखिन्छ ।‘व्यावसायीहरूको ज्यादतीका कारण यात्रुहरूले समस्या झेल्नुपरेको छ,’ भक्तपुर, कौशलटार बस्दै आएका नरेन्द्र चुदालीले भने, ‘नियमित रुटमा चल्ने सवारी त्यसरी रिजर्भमा गुड्न नपाउने कानुनी व्यवस्था छ।

तर, हाम्रो देशमा कानुनलाई लत्याएर मनपरी गर्ने चलन छ ।’बिहीबार रत्नापार्क बसपार्कमा भेटिएका बा३ख ९२९१ नम्बर बसका चालक जीवन लामाले बिदाको दिन कहिलेकाहीँ रिजर्भमा हिँड्ने गरेको सुनाए। उनले शनिबार यात्रुको चाप कम हुने र कमाई पनि थोरै हुने भएकाले बसको मालिकले नै रिजर्भमा लगाउने गरेको बताए । ‘कहिलेकसो मात्रै रिजर्भमा हिँड्छौं,’ उनले भने, ‘अरु दिन यात्रुहरूको चाप बढी हुन्छ, शनिबार कम हुने भएकाले बाहिरतिर चलाउनुपर्छ ।’
पिक आवरमा पाइँदैन सवारी
उपत्यकाका मुख्य रुटमा बिहान र बेलुकी पिक आवरमा सवारी पाउन कठिन हुन्छ । सार्वजनिक सवारीमा यात्रुहरूको चाप बढी देखिन्छ । यसको कारण नियमित रुटमा चल्ने धेरैजसो बसले स्कुले विद्यार्थी ओर्सानु हो।

बिहान (८–११ बजे) र बेलुकी (४–७ बजे) पिक आवरमा नियमित रुटका बस विद्यार्थी बोक्न प्रयोग भएको देखिन्छ । नियमित रुटका बसले विद्यार्थी ओर्सादा अन्य यात्रुहरूलाई सवारीको अभाव हुने गरेको छ । उक्त समय बसको संख्या कमी भएपछि यात्रुहरूले ठेलमठेल गरेर यात्रा गर्नु पर्ने बाध्यता छ । पिक आवरमा काठमाडौंको सुन्धारा, भृकुटीमण्डप, गौशाला, सिनामंगल, रत्नपार्क, बानेश्वर, कोटेश्वर, तीनकुने, माइतीघर, कुपन्डोल, ग्वार्को, सातदोबाटो, चावहिल, बौद्ध, जोरपाटीलगायत सार्वजनिक सवारीसाधन पाउन मुस्किल पर्छ।

उनीहरू लामो समय कुर्दा पनि बस नआएको गुनासो गर्छन् । ‘बिहान र बेलुकी पिक आवरमा सवारी पाउन मुस्किल पर्छ,’ बुधबार भृकुटीमण्डप छेउमा बस कुर्दै गरेका सुरेश खड्का (२६)ले भने, ‘यो समयमा अन्य गाडीको भन्दा बसको संख्या कम देखिने गरेको छ ।’ उनले स्टपमा बस नहुँदा हरेक दिन सास्ती खेप्नुपरेको सुनाए।सार्वजनिक यातायात व्यवस्था ऐनअनुसार अनुमति पाएको रुटबाहिर सार्वजनिक सवारीसाधन चलाउनु परे पटके इजाजतपत्र लिनु पर्छ । तर, सार्वजनिक सवारीसाधनले ऐन–नियम उल्लंघन गरेर नियमविपरित सवारी सञ्चालन गरिरहेका छन्।

उपत्यकाका निजी विद्यालयले प्रत्येक बिहान–बेलुका १२ सयदेखि १३ सय सम्म सार्वजनिक सवारीसाधन प्रयोग गरेको ललितपुर ट्राफिक प्रहरी इन्चार्ज सीताराम हाछेंथुले बताए । उनका अनुसार निजी विद्यालयले यसो गर्न लागेको धेरै समय भएको छ । सार्वजनिक सवारी प्रयोग गर्ने उपत्यकामा नाम चलेका स्कुल छन् । अहिले उपत्यकाका १५ सय निजी विद्यालयले प्रयोग गर्ने पहेंलो रङका तीन हजार पाँच सय सवारीसाधन छन्।

‘निजी विद्यालयले पिक आवरमा सार्वजनिक बस प्रयोग गरिदिँदा पिक आवरमा बस पाउन मुस्किल परेको हो,’ उनले भने । उनका अनुसार बिदाको दिन केही सवारी जथाभावी रिजर्भमा हिँड्ने गरेकोले पनि यात्रुहरूले समस्या भोग्नुपरेको हो।

प्रकाशित: ३० चैत्र २०७४ ०५:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App