७ वैशाख २०८१ शुक्रबार
अर्थ

बंगुर फार्मबाट मनग्य आम्दानी

रामेछाप – जिल्लाको मन्थली नगरपालिका वडा नं. १३ देवीटारमा ५० लाख लगानीबाट सञ्चालन गरिएको बंगुर फार्मबाट वार्षिक आठ लाख रुपैयाँभन्दा बढी आम्दानी हुन लागेको छ। युवा संघ रामेछापका अध्यक्ष बुद्ध लामासहित अन्य तीनजनाले सामूहिक रुपमा लगानी गरी खोलेको उक्त फार्ममा हाल २० वटा माउ बंगुर रहेका छन्।

बंगुरका लागि आधुनिक खोर बनाएर सञ्चालन गरिएको बंगुरपालन व्यवसायबाट यतिबेला वार्षिक दुई सयभन्दा बढी बंगुर निर्यात हुने गरेको फार्म सञ्चालक लामाले जानकारी दिए। करिब दुई वर्षको अवधिमा नै आफूले फाइदा लिन थालेको लामाले बताए। राजनीतिक व्यस्ततासँगै लामाले १० रोपनी जग्गा भाडामा लिएर बंगुर फार्म सञ्चालन गरिएको क्षेत्र वरीपरी तरकारी तथा फलफूल खेतीसमेत गरेका छन्।

बंगुरले निकाल्ने मल प्रयोग गरेर उनले गोबर ग्याससमेत सञ्चालन गरेका छन्। पहिलो प्राथमिकता व्यवसायलाई दिएको र दोस्रोमा राजनीतिमार्फत समाज सेवामा सक्रिय रहेको उनले बताए। युवाले केही गरेर देखाउनु पर्छ भन्ने सोच र उद्देश्यले बंगुरपालन व्यवसाय सुरु गरेको उनको भनाइ छ। लामाले आफ्नो फार्ममा लगानी बढाएर अझै विस्तार गर्ने योजनासमेत बनाइरहेको जानकारी दिए।

रोजगारीका लागि ठूलो लगानीमा विदेश गएर अर्काको मुलुकमा पसिना बगाउनुभन्दा स्वदेशमै आत्मनिर्भर बन्ने काम गर्न उनले सुझाए। ठूलो लगानी गरेर बिदेसिनुभन्दा सोही खर्चमा मिहेनत गरे राम्रो आम्दानी हुन्छ,’ उनले भने, ‘पैसा पनि राम्रो कमाइने र मालिक पनि बनिन्छ।’ आगामी दिनमा स्थानीय तहले उद्योग र व्यवसायका लागि नयाँ नीति ल्याएर काम गर्ने वातावरण बनाउनु जरुरी रहेको उनले बताए। ‘केही गरौं भन्ने सोच भएका युवायुवतीलाई सरकारी तवरबाट सहयोग गर्नुपर्छ,’ उनी भन्छन्, ‘मुलुकलाई आत्मनिर्भर बनाउन उद्योगी र व्यावसायिक विकासमा राज्यले पनि लगानी गर्नुपर्छ।’

राज्यले सम्बन्धित निकायमा पठाउने बजेट र सहुलियतको समेत सही सदुपयोग हुनुपर्नेमा उनले जोड दिए। कृषि, उद्योगलगायत क्षेत्रमा आएको बजेटले जति काम हुनुपर्ने हो त्यो हुन नसकेको उनले बताए। कागजी प्रक्रियामा काम भएको देखिए पनि व्यवहारिक रुपमा काम कमै भएको पाइने अवस्थामा कार्यक्रमको कार्यान्वयन र अनुगमन प्रभावकारी हुनुपर्ने उनको भनाइ छ।

प्रकाशित: २ वैशाख २०७५ ०४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App