७ वैशाख २०८१ शुक्रबार
अर्थ

गाईपालनले फेरियो जीवन

प्यूठान – माण्डवी गाउँपालिका–३ का कृष्ण अधिकारी पहिले होटल व्यवसायमा संलग्न थिए। चकचकेमा होटल सञ्चालन गर्दै आएका अधिकारीलाई विनोद होटलका साहु भनेपछि अझै पनि जिल्लावासीले राम्रैसँग चिन्छन्। पछिल्लो समय परिवारमा हुर्कदै गएका सन्तानको खर्च धान्न धौधौ पर्न थालेपछि उनले गाउमै व्यावसायिक गाईपालन गर्ने सोच बनाए। गाउका अन्य जान्नेबुझ्ने व्यक्तिसँग छलफल गरी गाईपालन व्यवसाय सुरु गरे।

२०७१ बाट व्यावसायिक गाईपालन सुरु गरेका अधिकारीको आत्मबल अझै बढ्दै गएको छ। ‘दुई वर्ष पहिलेदेखि उनले गाउमै मधु दूध उत्पादन केन्द्र सञ्चालन गरे,’ अधिकारी भन्छन्, ‘बिस्तारै व्यवसायमा सफलता मिल्दै गएपछि परिवारमा अहिले खुसी छाएको छ।’ नयाँ व्यवसाय सञ्चालन गर्न चाहनेका लागि अधिकारीको दूध उत्पादन केन्द्र सिकाइ केन्द्रसमेत बनेको छ। जिल्लाका विभिन्न स्थानबाट उनको गाईपालन फार्म हेर्न आउने गरेको उनले सुनाए।

गाईका लागि १८ रोपनी क्षेत्रफल खेतमा घासखेती गरेका अधिकारीले भाडामा खेत लिएका छन्। खेतमा विभिन्न प्रजातिका घास लगाएकाले उनलाई हरियो घासको कुनैबेला पनि अभाव हुँदैन। उनले १० रोपनी खेतमा बहुवर्षीय र आठ रोपनीमा मौसमी घास लगाएका छन्। १२ लाख रुपैयाँँ लागतमा आठवटा गाईबाट व्यवसाय सुरु गरेका उनीसँग अहिले सानाठूला गरी २२ वटा गाई रहेका छन्।

‘काम गर्न विदेश जानैपर्छ भन्ने छैन, लाज नमानी काम गरे स्वदेशमै धेरै राम्रा काम गर्न सकिन्छ,’ अधिकारीले भने, ‘जीवन चलाउन उद्योगधन्दा खोल्नुपर्छ भन्ने छैन, जे गरे नि आम्दानी गर्न सकिन्छ।’ थोरै लगानीमा पनि मिहेनत गरेर काम गरे भने गाउँमै केही गर्न सकिने रहेछ भन्ने उदाहरण अधिकारी बनेका छन्। गाईको रेखदेख गर्ने काममा उनकी श्रीमतीले पनि सघाउँछिन्। त्यस्तै उनको फार्ममा एक जनाले आंशिक रोजगारीसमेत पाएका छन्।

२२ गाईमध्ये उनको फर्ममा अहिले नौवटा गाई दुहुना छन्। ती गाईहरुबाट दैनिक १० लिटर दूध उत्पादन हुने अधिकारीले बताए। दूध बिक्रीबाट सबै खर्च कटाएर वार्षिक सात लाख रुपैयाँँ बचत हुने गरेको अधिकारीको भनाइ छ। वार्षिक २५–३० लाख रुपैयाँँको कारोबार हुने गरेको अधिकारीले बताए।

दूध बिक्रीका लागि बजारको समस्या नभएको उनी बताउँछन्। ‘बिहानको दूध जुर्मी बजारमा रहेको किसान डेरीमा पठाउँछौं, साझको स्थानीय बजारमै खपत हुन्छ,’ अधिकारी भन्छन्, ‘बजारमा दूधको माग धेरै छ। माग धेरै आएपनि पु-याउन धौधौ छ।’ २५ वटा गाई अट्न सक्ने गोठ निर्माण गरेका अधिकारीले सरकारी अनुदान नपाएको बताए। उनको फार्म भएको स्थानसम्म सडक सञ्जाल पुगेको छैन। सडक नपुग्दा बोकेरै दैनिक ७० लिटर दूध बजार पु-याउनु पर्ने अवस्था छ। सडक नभएकै कारण अन्य उपभोग्य सामग्री ल्याउनसमेत समस्या पर्ने उनको गुनासो छ।

काम गर्दै जादा सबैको सहयोगले हौसलामिलेको उनले बताए। ‘किसानका लागि उन्नत बीउबिजन कार्यक्रममार्फत गत वर्ष एक लाख अनुदान पाए,’ अधिकारी भन्छन्, ‘दुई वर्षअघि जिल्ला पशुसेवा कार्यालयबाट दुई लाख रुपैयाँ अनुदान दियो।’ गाईका लागि उनले १८ रोपनी खेतभरी घास लगाएका छन्। घास काट्ने मेसिन पनि आफ्नै लगानीमा किनेको उनले बताए। दाङलगायत भैरहवाबाट पराल, दाना ल्याउने गरेको उनले बताए।

लगनशील भएर काममा लागे सफल भइन्छ भन्ने उनको व्यवसायबाट पुष्टी गर्छ। ‘योजना बनाएर धैर्यतापूर्वक काम गरे अवश्य सफल भइन्छ,’ उनले भने, ‘आफ्नो दैनिक जीवनस्तरमा सुधार ल्याउन व्यवसाय आवश्यक छ।’ तर स्थानीय तहको नयाँ संरचानाका कारण सरकारी अनुदान पाउनेमा केही आशंका उत्पन्न भएको अधिकारीले बताए। गाई, भैंसी सुत्केरी भत्ताबापतको रकम जिल्ला पसुसेवा कार्यालयबाट माण्डवी गाउँपालिकामा आएपनि सोको रकम सडक निर्माणमा राखेको उनको आरोप छ। ‘किसानका लागि आएको अनुदान त किसानले पाउनु प-यो नि,’ उनी भन्छन्, ‘अन्य विकासका लागि पनि बजेट विनियोजन भएको छ।’ त्यस्तै गोठ सुधारका लागि आएको ५० हजार रुपैयाँमा पनि गाउँपालिकाले सूचना निकालेर नदिएको बताए।

‘व्यवसाय गरेकाहरुलाई निरुत्साहित गर्ने काम गर्न हुँदैन, गाउँलाई समृद्ध बनाउन सहयोग आवश्यक छ,’ अधिकारी भन्छन्, ‘व्यवसाय नै नगरेका किसानलाई कर्मचारी मिलेर रकम हिनामिना गर्न हुँदैन।’ हाल जिल्लाभर आधा दर्जन गाईफर्म दर्ता भएको जिल्ला पसुसेवा कार्यालयको तथ्याकंमा छ। गाउँपालिकाकै एकल गाई फार्म रहेकाले त्यसको विकासका लागि पहल थाल्ने माण्डवी गाउँपालिकास्थित पसुसेवा कार्यालयका प्राविधिक हस्तराम खडकाले बताए। पाँचजनाको परिवार रहेको उनको परिवारमा अहिले दुई छोरा र एक छोरी रहेका छन्। कक्षा १२, कक्षा ९ र ४ मा उनका छोरा छोरीले पढ्दै छन्।

प्रकाशित: २ वैशाख २०७५ ०५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App