७ वैशाख २०८१ शुक्रबार
राजनीति

एकता अलमलमा

काठमाडौं  – नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया केही समयका लागि पर धकेलिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आइतबार महत्वपूर्ण वार्ता स्थगित गरेर परिवारसँग बिदा मनाउन हिँडेपछि  दुई पार्टीबीच आगामी ९ गते हुने भनिएको एकता तत्कालका लागि टरेको हो।

दुवै पार्टीका नेताहरुले वैशाख ९ गते पार्टी एकता हुने भनेर सार्वजनिक कार्यक्रमहरुमा बताउँदै आएका थिए । दाहालले आइतबार वार्ता छाडेर हिँडेपछि दुई दलबीच विश्वासको वातावरण बनिनसकेको देखिएको छ। पछिल्लो समयमा माओवादी नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीको पार्टी र सरकार सञ्चालन कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गर्दैै आएका छन्।

दुवै दलबीच एकीकृत दलमा एमाले र माओवादीबाट सहभागिताको अनुपात, पार्टी विधानमा जनयुद्ध राख्ने वा नराख्ने र चुनाव चिह्नका विषयमा सहमति जुट्न बाँकी छ।प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली कर्णाली प्रदेशका तीनदिने भ्रमण सकेर काठमाडौं फर्के पनि अध्यक्ष दाहाल सपरिवार आराम गर्न भन्दै सिन्धुपाल्चोकको सुकुटेतर्फ लागेका हुन् ।

ओली र दाहालबीच एकताका विषयमा आइतबार साँझ छलफल हुने कार्यक्रम तय भएको थियो । ‘दुवै अध्यक्षबीच आइतबार वान अन वान छलफल हुने कार्यक्रम थियो । त्यसपछि सोमबार संयोजन समितिको बैठक बस्ने पूर्वतयारी थियो,’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘तर आइतबार दुई अध्यक्षबीच छलफल हुन सकेन । छलफलमा समाधान हुन बाँकी रहेका विषय टुंग्याउने भनिएको थियो।’

एकीकृत पार्टीमा प्रतिनिधित्वको अनुपात, पार्टी विधानमा माओवादी जनयुद्ध राख्ने वा नराख्ने र चुनाव चिह्नबारे निकास दिन नसकेपछि त्यसलाई अन्तरिम विधान मस्यौदा कार्यदलले दुवै दलको शीर्ष नेताहरु सम्मिलित केन्द्रीय एकता संयोजन समितिमा पठाएको थियो।

कार्यदलले वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर एकता गर्न सुझाव दिएको थियो । दुवै पक्षबीच यस विषयमा अनौपचारिक सहमति पनि रहेको थियो। एकता संयोजन समितिको बैठक नबसेका कारण कार्यदलको प्रतिवेदनमाथि छलफल नै हुन सकेको छैन।

नेम्वाङले वैशाख ९ गते एकता हुने सम्भावना टरिनसकेको बताए । तर माओवादी केन्द्रका अध्यक्ष दाहालसँग आइतबार बिहान भेटेका माओवादी हेडक्वार्टरका सदस्य मणि थापाले भने ९ गते एकता हुने सम्भावना कम भएको बताए ।‘अध्यक्ष दाहालले दुई पार्टीबीच वैशाख ९ गते एकता घोषणा हुन सक्ने बताउनुभएको त छैन तर उहाँको आशय तत्काल एकता हुन नसक्ने देखिन्छ,’ थापाले भने।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आइतबार महत्वपूर्ण वार्ता स्थगित गरेर परिवारसँग बिदा मनाउन हिँडेपछि दुई पार्टीबीच आगामी ९ गते हुने भनिएको एकता प्रक्रिया तत्कालका लागि टरेको हो।

कार्यदलले प्रधानमन्मन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि नै मस्यौदा प्रतिवेदन बुझाएको थियो । प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्केपछि चैत २७ गते समितिको बैठक बस्ने कार्यक्रम थियो । तर बैठक अहिलेसम्म बस्न सकेको छैन।गत बुधबारका लागि बोलाइएको बैठक अध्यक्ष दाहाल अस्वस्थ भएपछि स्थगित भएको थियो । दाहाल बिहीबार गृहजिल्ला चितवन लागेका थिए भने प्रधानमन्त्री ओली मुगुको रारा पुगेका थिए।

दाहालका साथ माओवादी केन्द्रका नेता अग्नि सापकोटा पनि सुकुटे गएका छन् । दाहाल सोमबार अपराह्न राजधानी फर्कने कार्यक्रम रहेको उनी निकट स्रोतले बतायो । विगतमा पनि दाहाल महतपूर्ण निर्णय लिनुअघि र तनाव छल्न सुकुटे जाने गरेका थिए।

यसैबीच माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) ले सांगठनिक प्रतिनिधित्वको अनुपात बराबरी भएमात्रै पार्टी एकता गर्न अध्यक्ष दाहाललाई सुझाव दिएको छ । अध्यक्ष दाहालसँगको भेटमा वाइसिल पदाधिकारीले यस्तो सुझाव दिएका हुन्।

‘एमालेसँग एकता गर्न तीन विषयमा पार्टी अध्यक्षको ध्यानाकर्षण गराएका छौं,’वाइसिएलसका अध्यक्ष दीपशिखाले भने, ‘यो हाम्रो मात्रै नभएर पार्टी कार्यकर्ता पंक्तिको पनि धारणा हो।

’दाहालसँग आइतबार बिहान भएको भेटमा उनीहरुले बराबरीका आधारमा एकता गर्ने, जनयुद्ध स्वीकार्नुपर्ने र दुई अध्यक्षात्मक प्रणाली नभई एकजना प्रधानमन्त्री र अर्को अध्यक्ष भएर पार्टी चलाउनुपर्ने सुझाव दिएका थिए।‘अध्यक्ष दाहालले दुई अध्यक्ष रहने विषयमा सहमति भइसकेको भन्दै त्यसबाट पछि हट्न नसक्ने बताउनुभयो।

अन्य विषयमा भने आफ्नो पनि धारणा रहेको बताउनुभयो,’ दीपशिखाले भने, ‘जनयुद्ध विधानमा राख्ने वा नराख्ने भन्ने विषय होइन । एमालेले स्वीकार्ने वा नस्वीकार्ने भन्ने हो। त्यसमा अध्यक्ष दाहालले आफ्नो धारणा पनि त्यही रहेको बताउनुभएको छ।’अध्यक्ष दाहालले एमाले अध्यक्षको कार्यशैलीको कारण केही अविश्वास बढेको बताएका थिए।

दाहालले प्रधानमन्त्री ओलीको सरकार सञ्चालन कार्यशैलीप्रति असन्तुष्टि जनाएको दीपशिखाले बताए।आइतबार बिहान वाइसिएल र दाहालबीच भेटघाट चलिरहँदा एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल दाहाल निवास खुमलटार पुगेका थिए।

दाहाल र नेपालबीच एकताका विषयमा छलफल भएको बताइएको छ । पछिल्लो समयमा माओवादी नेतृत्वमा एकता अघि बढाउने जाँगर नदेखिएको समाचार सार्वजनिक भएपछि दाहालसँग भेट्न नेपाल खुमलटार पुगेका थिए।

प्रकाशित: ३ वैशाख २०७५ ००:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App