coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सरोवर होटलमा १ अर्ब २५ करोड लगानी

पोखरामा खुल्ने तयारीमा रहेको होटल सरोवर । तस्बिर : नागरिक

पोखरा – विदेशी पर्यटन बजारमा सस्तो गन्तव्यको रूपमा चिनिँदै गएको पोखराले होटल क्षेत्रमा भने बर्सेनि ठूलो लगानी बढाउँदै आएको छ । त्यसको पछिल्लो उदाहरण हो, करिब १ अर्ब २५ करोड रुपैयाँ लगानीमा लेकसाइडमा पाँचतारे स्तरको सुविधा दिनेगरी खुलेको होटल सरोवर।

आधुनिक प्रविधि जडान र वातावरणमैत्री दाबी गरिएको होटल सरोवर पोखरामै अहिलेसम्मकै सर्वाधिक सुविधासम्पन्न रहेको लगानीकर्ताले बताएका छन् । असार दोस्रो सातादेखि सञ्चालनमा आउने यो होटलको सम्पूर्ण व्यवस्थापन विदेशी चेन होटल सञ्चालक समूह स्विस इन्टरनेसनल होटल्स एन्ड रिसोर्टलाई दिइएको छ । अब यो होटल स्विस इन्टरनेसनल होटल सरोवरका नाममा सञ्चालनमा आउनेछ।

सरोवरका अध्यक्ष प्राडा. भरतराज पहारी र स्विस इन्टरनेसनलका अध्यक्ष हेनरी केनेडीबीच केही दिनअघि सञ्चालन सम्झौतासमेत भइसकेको छ । सरोवरका अध्यक्ष पहारीका अनुसार होटलमा ९६ वटा कोठा छन् । तीमध्ये १३ वटा सुइट (एउटा प्रेसिडेन्ट सुइट, ३ वटा हनिमुन सुइट) र ४९ रोयल डिलक्स बाँकी डिलक्स कोठा छन् । कोठाबाहेक सातवटा सुविधासम्पन्न सेमिनार हल पनि रहेका छन् । होटल ६ रोपनी क्षेत्रफलमा बनेको छ।‘पर्यटनमा सम्भावना देखेर नै यति ठूलो लगानी गरेका हौं,’ सरोवरका अध्यक्ष पहारीले भने, ‘यतिधेरै सुविधा पोखराका कुनै पनि होटलमा छैनन्।

पूरै वातावरणमैत्री हिसाबले हामीले होटल बनाएका छौं ।’ इन्जिनियर समेत रहेका पहारीका अनुसार जमिनमुनिको तापक्रम (जिओथर्मल हिटिङ एन्ड कुलिङ) को प्रयोगबाट सुरुका दुई तलालाई वातानुकूलित बनाइएको छ । होटलका सुरुका दुई तला पूरै भूमिगत छन् । तीमध्ये पहिलो तलामा पार्किङ र दोस्रो तलामा सेमिनार हल रहेका छन् ।‘मेकानिकल सिस्टमले गाडी पार्किङमा पुग्छन् र बाहिर निकाल्न मिल्छ,’ उनले भने, ‘यो निकै नै नयाँ प्रविधि हो ।

अन्डरग्राउन्ड पार्किङमा ४० वटा कारलाई रिमोट प्रणालीबाट पार्किङमा लैजाने र बाहिर ल्याउने प्रविधि जडान गरिएको छ ।’ त्यसबाहेक सरोवरमा सौर्यऊर्जाबाट आवश्यक केही ऊर्जा उत्पादन गर्ने तयारी छ । त्यसका लागि दुई साताभित्र होटलको छानामा सोलार प्यानल जडान गरिसक्ने पहारीले बताए । अध्यक्ष पहारीका अनुसार सोलार प्यानलबाट १ सय किलोवाट क्षमताको ऊर्जा उत्पादन हुनेछ । होटल पूर्णरूपमा सञ्चालन हुँदा रातिको समयमा सबैगरी २ सय किलोवाट बिजुली आवश्यक पर्छ।

‘सौर्य ऊर्जामध्ये ५० किलोवाट दिनको समयमा खपत हुन्छ । २५ किलोवाट ब्याट्री चार्जमा प्रयोग हुने र बाँकी २५ किलोवाट विद्युत् प्राधिकरणलाई बेच्ने हो,’ पहारीले भने, ‘त्यसबाहेक होटलमा प्रयोग हुने उपकरण पनि कम विद्युत् खपत गर्ने गरी मिलाएका छौं ।’ पहारीका अनुसार सबैभन्दा बढी ८० किलोवाट विद्युत् एसीका लागि हो । त्यसको खपत घटाएर ४० किलोवाटमा झारेको उनले दाबी गरे ।  त्यसबाहेक होटल बनाउन प्रयोग गरिएका निर्माण सामग्री पनि न्यून प्रदुषणयुक्त रहेका छन्।

‘इँटाको समेत प्रयोग गरिएको छैन । होटलबाट निस्कने फोहोरलाई समेत रिसाइकल गरी बायोग्यासको रुपमा उपयोग गर्ने हो,’ उनले भने, ‘कसरी हुन्छ, कम ऊर्जा खपत गर्ने र वातावरणमैत्री बनाउन सकिन्छ भन्ने मात्र हाम्रो ध्यान हो ।’ होटलका सेवा सुविधाबाहेक पूर्वी संस्कृति झल्काउने पूर्वाधार पनि होटलमा राखिएको उनले बताए । होटलको स्विमिङ पुलमा पनि तातो पानी उपलब्ध हुनेछ।

सरोवर र स्विस समूहबीच सुरुको पाँच वर्षका लागि सञ्चालन सम्झौता भएको छ । थप पाँचवर्ष अवधि बढाउन सकिने सम्झौतामा उल्लेख छ । ‘सस्ता पाहुना आउँछन् भनेर अब परम्परागत तरिकाले होटल चलाएर लगानी उठाउन सकिन्न,’ सरोवरका निर्देशक डा. मोहन पहारीले भने, ‘अहिले चलेका होटलले अरु व्यावसायिकता अपनाएनन् भने आगामी दिनमा गुणस्तरीय र महंगा पाहुना पाउने छैनन्।

अबको सस्ता पाहुना खोजेर प्रतिस्पर्धा गर्ने होइन । गुणस्तरीय पाहुना भिœयाउन पहल जरुरी छ ।’ सरोवर समूहका अनुसार सुरुको पाँच वर्षको होटल सञ्चालनको सबै जिम्मा स्विस समूहको हुनेछ । होटललाई कुन रुपमा बजारीकरण गर्ने, कस्तो सेवा दिने भन्ने सबै जिम्मा स्विसको हुनेछ । त्यसका लागि उच्चपदमा केही कर्मचारी स्विस समूहले नै ल्याउन सक्नेछ।

पोखरामा होटल क्षेत्रमा ठूलो लगानी गरेपनि प्रवर्द्धनमा कमजोरी रहँदा अरु होटलले महंगा पाहुना पाउन नसकेको अध्यक्ष पहारीको भनाइ छ । ‘ट्राभल एजेन्सी र ‘एफआइटी’ को भरमा मात्र चल्न खोजेर हुँँदैन,’ उनले भने, ‘अब गुणस्तरीय पर्यटकलाई आमन्त्रण गर्न जरुरी छ । त्यसका लागि सुविधा पनि उस्तै हुनुपर्छ ।’ ‘अहिलेसम्मको रणनीतिमा खर्च गर्न सक्ने पर्यटक नेपाल आएकै छैनन् । अब महंगा पाहुना तान्ने रणनीति बनाउनुपर्छ,’ उनले भने।अध्यक्ष पहारीका अनुसार होटल क्षेत्रमा स्विस समूह निकै नै उच्चस्तरको सेवाप्रदायक संस्था हो । ‘अरु पनि चेन होटलले सञ्चालन जिम्मा लिन खोजेका थिए।

तर, हामीले सेवाको गुणस्तर हेरेर स्विस समूहलाई दिएका हौं,’ उनले भने, ‘आशा छ, यसले पोखराको सरोवरलाई मात्र नभई अरु होटलको पनि बजारीकरण र गुणस्तर बढाउन सघाउनेछ ।’ कम खर्च गर्ने पर्यटकको भरमा मात्र अहिले खुलेका होटल सञ्चालनमा अब जोखिम हुने उनको भनाइ छ । ‘हामीले गरेको लगानीले अरुलाई पनि उत्साह दिनेछ,’ पहारीले भने।

सरोबर  सञ्चालनको जिम्मा पाएको स्विस इन्टरनेसनलका अध्यक्ष हेनरी केनेडी भिन्दै मार्केटिङ रणनीति बनाएर सरोवरलाई उचाइमा पुर्‍याउने बताए । ‘पोखराका अहिलेको होटलको भन्दा निकै नै माथि उठेर ‘ट्यारिफ’ (मूल्य सूची) तय गर्नेछौं,’ उनले भने, ‘हाम्रो सेवा गुणस्तरमा रहनेछ । हामीले खाने र बस्ने सेवा दिने हो । तर, त्यसका लागि राम्रो मान्छे सेवामा खटिन्छन् । सेवा लिने पनि राम्रो हुन जरुरी छ ।’ पैसाका लागि भन्दा पनि मूल्यमा हामी कडा हुनेछौं,’ उनले भने।

झन्डै तीनदशक अघि स्विट्जरल्यान्डमा स्थापित यो होटल समूहले अहिलेसम्म युरोप, भारत, चीन, अफ्रिका, मध्यपूर्वमा  स्विस गुणस्तर स्थापना गरेको केनेडीको भनाइ छ । यो समूहले सन् २०२० सम्म १ सय ५० होटल सञ्चालन गर्ने लक्ष्य राखेको छ। अहिलेसम्म सय बढी होटल यो समूहले विभिन्न मुलुकमा सञ्चालन गरिरहेको छ।

 

प्रकाशित: ३ वैशाख २०७५ ०१:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App