८ वैशाख २०८१ शनिबार
अन्य

एक ट्राफिक प्रहरीको थाप्लोमा ९६१ सवारी !

काठमाडौं उपत्यकामा कार्यरत एक ट्राफिक प्रहरीको काँधमा ९ सय ६१ सवारीसाधन व्यवस्थापन गर्ने जिम्मेवारी थपिएको छ । ट्राफिक व्यवस्थापनका लागि चाहिने पूर्वाधार र जनशक्तिको अभावका कारण ट्राफिक प्रहरी लामो समय खटिनुपर्ने देखिएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र मातहतका कार्यालयमा एक हजार ८५ ट्राफिक प्रहरीको दरबन्दी छ।

महालेखा परीक्षकको कार्यालय काठमाडौंको ५५ औं वार्षिक प्रतिवेदन अनुसार उपत्यकाभित्र एक ट्राफिक कर्मचारीको जिम्मामा ९ सय ६१ सवारी साधन र १.४६ किमी सडक व्यवस्थापनको जिम्मेवारी पर्छ । यस्तै, एक ट्राफिक इकाईले २७ हजार चार सय ४४ सवारीसाधनको ट्राफिक व्यवस्थापन गर्नु पर्ने प्रतिवेदनमा उल्लेख छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकार ट्राफिक प्रहरीसँग पर्याप्त जनशक्ति नहुँदा  व्यवस्थापन गर्न चुनौती थपिएको बताउँछन् । ‘पर्याप्त जनशक्ति नहुँदा काम गर्न अप्ठेरो हुने नै भयो,’ उनले भने, ‘उपत्यकाको सडक, सवारीचापलगायत कारणले सवारी व्यवस्थापनमा समस्या देखिएको हो ।’

महालेखा परीक्षकको कार्यालयले प्रशासन पुनःसंरचना आयोग, २०६५ को सुझाबअनुसार काठमाडौं उपत्यकामा दुई हजार ट्राफिक प्रहरी हुनु पर्नेमा अहिलेसम्म त्यसअनुसार दरबन्दी कायम नभएको जनाएको छ । प्रतिवेदनमा हाल कायम रहेको दरबन्दीबाट सवारीसाधनको व्यवस्थापन प्रभावकारी नहुने भएकाले पर्याप्त जनशक्ति व्यवस्थापन गरी उपलब्धिमूलक कार्यसम्पादनमा जोड दिइएको छ।

‘क्षमताभन्दा धेरै सवारीसाधन व्यवस्थापन गर्दा तुलनात्मक रूपमा थोरै संख्यामा रहेका ट्राफिक प्रहरीमाथि धेरै दबाब सिर्जना हुन्छ, जसले ट्राफिक व्यवस्थापनमा नै गम्भीर चुनौती देखा पर्ने समस्या छ,’ ट्राफिक इन्जिनियर आशिष गजुुरेलले भने, ‘जतिसक्दो बढीभन्दा बढी प्रविधिको जोरजाम आवश्यक छ।’यातायात व्यवस्था विभागका अनुसार नेपालभर २७ लाख ८३ हजार चार सय २८ सवारी दर्ता रहेकोमा १० लाख ४२ हजार आठ सय ५६ सवारीसाधन बाग्मती अञ्चलमा दर्ता रहेको देखिन्छ।

काठमाडौं उपत्यकामा सडकको लम्बाइ एक हजार पाँच सय ९४ किलोमिटर छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा एक हजार ८५ ट्राफिक प्रहरी मात्रै कार्यरत छन् । महालेखा परीक्षकको कार्यालयले सडक विभागसंँग समन्वय हुन नसक्दा ट्राफिक व्यवस्थापनमा समस्या रहँदै आएको जनाएको छ।

महालेखा परीक्षकको कार्यालय काठमाडौंको ५५ औं वार्षिक प्रतिवेदन अनुसार उपत्यकाभित्र एक ट्राफिक कर्मचारीको जिम्मामा ९ सय ६१ सवारी साधन र १.४६ किमी सडक व्यवस्थापनको जिम्मेवारी पर्छ । यस्तै, एक ट्राफिक इकाईले २७ हजार चार सय ४४ सवारीसाधनको ट्राफिक व्यवस्थापन गर्नु पर्ने प्रतिवेदनमा उल्लेख छ।

रोड फर्निचर सहितको व्यवस्थित सडक नहुँदा मुख्य सडक तथा चोकमा बढी जनशक्ति परिचालन गर्नु पर्ने बाध्यता छ । रोड फर्निचरमा डिभाइडर, मार्किङ, जेब्राक्रस, लेनबारलगायत पर्छन् । यसले गर्दा ट्राफिक व्यवस्थापनको लागत बढेको छ।
‘सवारीसाधनको अभिलेख व्यवस्थित गराऊ’
महालेखा परीक्षकको कार्यालयले यातायात व्यवस्था विभागमा एउटै सवारीसाधनको अभिलेख दुई ठाउँमा भएको तथ्य फेला पारेको छ । एउटै सवारीसाधनको अभिलेख एकभन्दा बढी कार्यालयमा रहेको वास्तविकभन्दा बढी सवारीसाधन दर्ता भएको देखिने अवस्था छ । यसबाट विभागले प्रकाशित गरेको सवारीसाधनको संख्या यथार्थपरक छैन । विभागले दर्ता, नवीकरण र सरुवा दर्ताको अभिलेख अद्यावधिक राख्नु जरुरी भएको प्रतिवेदनमा उल्लेख छ ।

यातायात व्यवस्था कार्यालयले सवारी सरुवा दर्ता गरी सोको जानकारी सुरु दर्ता कार्यालयलार्ई दिनु पर्ने र जानकारी पाएपछि लगत कट्टा गर्नु पर्ने व्यवस्था भए पनि सरुवा दर्ता गर्ने कार्यालयले जानकारी दिने नगरेकाले सवारीसाधन दर्ताको अभिलेख अद्यावधिक नगरेको भेटिएको छ।

महालेखा परीक्षकको कार्यालयले रोड फर्निचर सहितको व्यवस्थित सडक बनाएर जनशक्ति र समयको बचत गर्दै ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन निर्देशन दिएको छ । जीर्ण सडक तथा लथालिंग फुटपाथ, अदृश्य लेन तथा जेब्राक्रस, दुर्लभ ओभरहेड ब्रिज, फ्लाइओभर, सब–वे, अन्डरग्राउन्ड पास, बिकामे सडक बत्ती, अव्यवस्थित ढल, स्टेरिङमा बस्नेबित्तिकै गन्तव्यसम्म पुग्ने चालकको हतारोले ट्राफिक व्यवस्थापनलाई थप असहज बनाएको ट्राफिक प्रहरी अधिकारीहरूको बुझाइ छ।

चालू आर्थिक वर्षमा काठमाडौं उपत्यकाभित्र २८ हजार सात सय ९९ मादक पदार्थ सेवन, २७ हजार एक सय १७ लेन अनुशासन उल्लंघन, २९ हजार ८० नियमविपरित फुटपाथ र सडक पार्किङ, चार हजार पाँच सय १८ बढी भाडा असुली र तीन सय १६ सवारी नियमविपरित  स्टिकर टाँस गरी ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

प्रकाशित: ३ वैशाख २०७५ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App