coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

गाह्रो छैन गरिखान

काम केही पाइएन । यहाँ त बस्नै गाह्रो भयो । काठमाडौं हाम्रो लागि होइन् रहेछ ।
उपत्यकाका चोक तथा गल्लीमा सुनिने शब्द हुन् यी । सुन्दा लाग्छ– यहाँ गरिखान अर्थात् जीविका चलाउन अत्यन्तै गाह्रो छ।

तर, यो यथार्थ होइन । किनभने यहाँ जो कोही पनि सामान्य ढंगबाट जीविका चलाउन सक्छ । यसका लागि खाँचो छ, मेहनत अनि लगावको । यहाँ मेहनती मान्छेलाई गरिखान गाह्रो छैन । नागरिककर्मीले सडकमा भेटेका पात्रासँगको कुराकानीबाट पनि यो प्रस्ट हुन्छ।ओखलढुंगाका रविन्द्र सुनुवार सुन्धाराको सडकपेटीमा बसेर एअरफोन बेच्छन् । १९ वर्षीय सुनुवारले सडक पेटीमा उभिएर एअरफोन बेच्न थालेको दुई वर्ष भयोे।

यही व्यवसायबाट आएको आम्दानीबाट काठमाडौंमा टिकिरहेका छन् उनी । बिहान कलेज जान्छन् । दिउँसो महाबौद्धबाट इअरफोन ल्याएर बेच्छन् । सुनुवारको सरदर आम्दानी महिनाको झन्डै २० हजार हुन्छ ।सडक पेटीमा बसेर काम गर्दाको वेदना सुनुवारसँग नभएको होइन । सुनुवार थाहा छ, वेदना सबै काममा हुन्छ । त्यसैले त उनी सडक पेटीमा काम गर्दा चिन्ता गर्दैनन् ।

बरु, रमाउँछन् ।व्यापार नभए पनि सुनुवारको लगानी धेरै छैन । दैनिक हजार हारहारीको एअरफोन ल्याउँछन् । यही लगानीबाट कुनै दिन उनी सावाभन्दा बढी अर्थात् हजार रूपैयाँभन्दा बढी आम्दानी गर्छन् । तर, कुनै दिन भने सावा उठाउन पनि धौधौ हुने गरेको उनी बताउँछन्।

सुनुवारजस्तै तराईका राजकुमार झा पनि सडकमै उभिएर पेटी बेच्छन् । लाखौं खर्च गरेर विदेशमा काम गर्नेभन्दा बढी आम्दानी गर्ने उनी बताउँछन् । ‘विदेशमा जाने साथीहरू र मेरो कमाइ उस्तै छ,’ झाले  सुनाए, ‘मासिक सरदर २५ हजार रूपैयाँ जोगाएर घर पठाउने गरेको छु ।’ त्यसैले विदेश जान नपाएकोमा उनलाई कुनै चिन्ता छैन । ‘मेहनत गर्न सके त आम्दानी यही गर्न सकिन्छ,’ उनले भने, ‘अनि विदेशै किन जान पर्‍यो र ?’

दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिले उपभोक्तालाई थिचिरहेको छ । खाद्यान्न, तरकारीजस्ता दैनिक उपभोग्य वस्तुको महँगीले पिरोल्छ । बढिरहने कोठाभाडा, ग्यास, स्कुलको फि सताइरहेको छ सर्वसाधारणलाई । तर पनि मेहनत गर्नेहरु डराउँदैनन् । पसिना बगाउँदै उनीहरू महँगीसँग जुधिरहेका छन् ।न्युरोडको रञ्जना गल्लीमा पुग्दा हातमा नाम्लो बोकेर घुमिरहेका व्यक्ति भेटिन्छन् । हेर्दा सामान्य देखिने उनीहरूको आम्दानी भने अपत्यारिलो छ।

सडकमा सामान्य पेशा तथा व्यवसाय गरेर जीविका चलाउनेहरूका कुरा सुन्दा काठमाडौंमा गुजारा चलाउन गाह्रो नभएको बुझ्न सकिन्छ । ठेला गाडा ठेल्दै होस् वा हातमै केही सामान राखेर व्यवसाय चलाएर होस्, यसबाट राम्रैसँग जीवन चलाउने थुप्रै पात्र छन् । केहीको प्रगति त कुनै उच्च पदको जागिरे कर्मचारीभन्दा कम देखिन्न।

‘यो महिना काम भएन, पैसै कमाइएन भन्दा पनि ४०-५० हजार पुग्छ,’ रामेछापका कृष्ण गौतम भन्दै थिए, ‘कुनै महिना त हाम्रो कमाई लाख पनि पुग्न सक्छ ।’ उनले यही काम गरेर दुई छोराछोरीलाई पढाएका छन् । उनले अघिल्लो वर्ष २० लाख रूपैयाँमा बनेपामा घडेरीसमेत जोडेको बताए।

३४ वर्षीय गौतमलाई रञ्जना गल्लीमा भारी बोक्ने काम गर्न थालेको चाँही २० वर्ष भयो । उनी अझै केही वर्ष काम गरेर घर बनाउने सोचमा छन् । ‘भारी बोकेर घडेरी जोडियो, अब घर यही कामको आम्दानीबाट बनाउने योजना छ,’ उनले भने, ‘अब पाँच वर्ष जति मेहनत गरियो भने घर बनाउन सकिन्छ।’

गौतम आफूलाई भरिया भन्न मन पराउँछन् । आफ्नो कामलाई सम्मान गर्नु पर्ने उनको धारणा छ । ‘सबैले कार्यालयमै बसेर काम गर्नु पर्छ भन्ने छैन,’ उनले भने, ‘सबैले आ–आफ्नो सीप र क्षमता अनुसार काम गर्नु पर्छ ।’ काम गर्न लाज नमान्ने हो भने यहाँ गरिखान कुनै गाह्रो नहुने उनको भनाइ छ।‘होला, सडकपेटीमा काम गरेर खुसी जीवन बित्याउन नसकिएला,’ उनले भने, ‘गुजरा चलाउन भने कुनै गाह्रो छैन ।’व्यवसाय होस् वा कार्यालय, जेसुकै चलाउन पनि सहज हुँदैन । सडकबाट गुजारा चलाउनेहरूले पनि सकस भयो भनेर गुनासो गर्न नहुने उनको सुझाव छ।

बारा, निजगढका लोसे भनेर चिनिने रामबहादुर वाइवा पनि भारी बोक्ने काम गर्छन्। वाइवासँग विदेशबाट फर्केर आउनेहरू समेत काम गर्छन् । उनीहरूको दैनिक कमाई राम्रै छ। ‘जुन काम गरे पनि आम्दानी गर्ने हो,’ उनले भने, ‘आम्दानी राम्रो हुन्छ भने काम गर्न हिच्किच्याउन पर्यो र ?’ वाइवा पनि काम गर्न सक्नेका लागि अवसर नहुने कुरामा विश्वास गर्दैनन् । काठमाडौंमा सबै प्रकारको परिश्रम गर्न तयार हुने मान्छेलाई गरिखान गाह्रो नहुने उनको अनुमान छ।

वसन्तपुरमा रिक्सा चलाउने शरण थापामगरको आम्दानी पनि राम्रै छ । दैनिक सरदर ७÷८ सय कमाई गर्छन् । थापामगरले यसरी रिक्सा चलाउन थालेको १० वर्षभन्दा बढी भयो । यही काममा रमाउँदै आएका थापामगरलाई अर्को काम गर्न पाइएन भन्ने चिन्ता छैन । ‘जुन काम गरे पनि काम नै हो,’ उनले भने, ‘आफ्नो क्षमतानुसार काम गर्दा बेखुसी किन हुनपर्यो र ?’ उनले पनि सुरुमा काठमाडौंमा अरु केही काम नपाउँदा रिक्सा चलाउने काम थालेका थिए । अहिले यसमै रमाउँदै आएका थापामगर पनि सबै काम गर्न तयार हुनेका लागि काठमाडौंमा गरिखान गाह्रो नभएको बताउँछन्।

काठमाडौंमा रहेर सडकमा सामान्य काम गरेर जीविकोपार्जन गर्नेसँग कुरा गर्दा सबैले काम गर्नेहरूको लागि गरिखान गाह्रो नभएको बताउँछन् । तर, पनि बढ्दो महँगीको पिरालो भने सबैको एउटै छ । ‘महँगी बढ्दा सरकारी मान्छेको तलब बढ्छ,’ वसन्तपुरमा परेवाको चारो बेच्ने एक महिला भन्छिन्, ‘हामीले चारोमा पाँच रूपैयाँ बढायौं भने पनि प्रश्न गर्छन् मान्छेले ।’ ती महिलाले आफ्नो नाम नबताउने भन्दै काम गर्नेका लागि काठमाडौंमा अवसरै अवसर भएको बताइन् । ५-७ वर्षपहिले परेवालाई चारो बेच्न थालेपछि अहिले चारो बेच्ने प्रवृत्ति बढेको छ।

यसरी देख्दा सामान्य ढंगबाट काम गर्नेहरूले राम्रै आम्दानी गरेर आफ्नो जीवन चलाइरहेका छन् । कुनै दिनमा सामान्य मानिने यस्तै काममा अहिले त व्यावसायिक र व्यवस्थित ढंगबाट समेत गरिन थालिएको छ । त्यसैको उदहरण हो नेपाली धोवी।

अरुका कपडा धोइदिने काममा नारायणगढका विकास सुवेदी बेलायतमा आइटी सम्बन्धी अध्ययन गरेर फर्केकी चावहिलकी ऋचा धमला र स्नातक गरेका पेप्सीकोलाका निकुञ्ज भण्डारी सक्रिय छन् । काठमाडौंको व्यस्त जीवन, धुलोमैलो र पानी अभावलाई उनीहरूले पेशा बनाएका हुन् । यसअघि धोबी पेशा केही सीमित मान्छेहरूले जीवन चलाउनको लागि गर्दै आएका थिए । यी तीन जनाले सामान्य मान्छेले गर्ने भनिएको पेशालाई अपनाएका हुन् । उनीहरूले नेपाली धोबी अनलाइन खोलेर व्यावसायिक रूपमा काम गरिरहेका छन्।

सडकमा सामान्य पेशा तथा व्यवसाय गरेर जीविका चलाउनेहरूका कुरा सुन्दा काठमाडौंमा गुजारा चलाउन गाह्रो नभएको बुझ्न सकिन्छ । ठेला गाडा ठेल्दै होस् वा हातमै केही सामान राखेर व्यवसाय चलाएर होस्, यसबाट राम्रैसँग जीवन चलाउने थुप्रै पात्र छन् । केहीको प्रगति त कुनै उच्च पदको जागिरे कर्मचारीभन्दा कम देखिन्न । अवसर पाइएन भनेर भौतरिनेहरूको लागि सामान्य काम गरेर राम्रो आम्दानी गर्नेहरू प्रेरणाको स्रोत बन्न सक्छन्।

प्रकाशित: ३ वैशाख २०७५ ०३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App