८ वैशाख २०८१ शनिबार
खेल

पाकिस्तानी टोलीमा पाँच युवा खेलाडी

लाहोर – आयरल्यान्ड र इङल्यान्डविरुद्ध अर्को महिना सुरु हुने टेस्ट शृंखलाका लागि पाकिस्तानले पाँच नयाँ खेलाडी समेट्दै आइतबार १६ सदस्यीय टोली घोषणा गरेको छ।

पाँच नयाँ खेलाडीमा २८ वर्षे ओपनर फखर जमान र २२ वर्षे इमाम उल हकका साथै ब्याट्सम्यानद्धय उस्मान सलाउद्धिन र साद अली तथा अलराउन्डर फहिम अशरफ छन्। अर्को वर्ष हुने विश्वकपलाई ध्यानमा राख्दै पाकिस्तानले युवा खेलाडीलाई मौका दिएको हो।

‘अर्को वर्ष विश्वकप इङल्यान्डमा छ। त्यसैले हामीले थुप्रै युवा खेलाडीलाई त्यहाँको कन्डिसनमा अनुभव दिलाउने उदेश्य राखेका हौं,’ पाकिस्तानका मुख्य छनोटकर्ता इन्जमाम उल हकले भने, ‘त्यहाँको अनुभव बटुल्न हाम्रा खेलाडी, अझ विशेष गरी ब्याट्सम्यानलाई यो राम्रो अवसर हो।’

नितम्बको हाडमा लागेको चोटका कारण गतसाता लेग स्पिनर यासिर शाहलाई गुमाउनुपर्दा पाकिस्तानी टोलीलाई ठूलो झट्का लागेको थियो। शाहलाई किशोर खेलाडी साडब खानबाट स्थानान्तरण गरिएको थियो। साडबले यसअघि एउटामात्र टेस्ट खेलेका छन्।

‘यासिरको अनुपस्थिती हाम्रा लागि ठूलो क्षति हो,’ इन्जमामले भने, ‘पछिल्लो दुई वर्षमा उनी पाकिस्तानका लागि सबभन्दा बढि विकेट लिने बलर हुन्। हामीले जितेका हरेक खेलमा उनको भूमिका महत्वपूर्ण थियो।’

गतवर्ष मिसबाह उल हक र युनिस खानले संन्यास लिएपछि कमजोर बनेको ब्याटिङ पक्ष बलियो बनाउन छनोटकर्ताहरुले भर मग्दुर प्रयास गरेको इन्जमामले बताए। दुई भेट्रान खेलाडीले संन्यास लिएको अवस्थामा ३२ वर्षे ब्याट्सम्यान फवाद आलमले घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्नाका बावजुद टिममा स्थान बनाउन सकेका छैनन्।

मोहम्मद आमिरले तिब्र गतिको बलिङ आक्रमण पंक्तिको नेतृत्व गर्नेछन्। त्यसका लागि राहत अलीलाई टिममा फिर्ता बोलाइँदा वाहब रियाजलाई भने समेटिएको छैन। टोलीमा कप्तान सरफराज अहमद एकमात्र विशेषज्ञ विकेटकिपर हुन।

आयरल्यान्डले इतिहासकै पहिलो टेस्ट मे ११ देखि १५ सम्म डब्लिनमा पाकिस्तानसँग खेल्नेछ। त्यसपछि पाकिस्तानले इङल्यान्डसँग लर्डसमा मे २४ देखि २८ तथा हेडिङलेमा जुन १ देखि ५ सम्म गरी दुई टेस्ट खेल्नेछ।

प्रकाशित: ३ वैशाख २०७५ ०५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App