८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

थप आक्रमण गर्ने योजना छैन : बेलायत

अमेरिकालगायतका देशले क्षेप्यास्त्र प्रहार गरेपछि राजधानी दमास्कसको दृश्य। तस्बिर : रोयटर्स

लन्डन – सिरियामाथि थप क्षेप्यास्त्र हमला गर्ने योजना नभएको बेलायती विदेशमन्त्री बोरिस जनसनले आइतबार बताएका छन्।

सिरियामा शनिबार बिहानै भएको सयभन्दा बढी क्षेप्यास्त्र आक्रमणमा संलग्न रहेका तीन देशमध्ये बेलायतका विदेशमन्त्रीले दमास्कसले यदि रासायनिक हतियारको पुनः प्रयोग ग¥यो भने त्यसविरुद्ध भने सबै विकल्प खुला राखिएको बताएका छन्।

सार्वभौम राष्ट्र सिरियामाथि पश्चिमा देशले गरेको क्षेप्यास्त्र आक्रमणको वैधानिकता र प्रभावकारिताका विषयमा बहस उत्पन्न भइरहेकै बेला बेलायती विदेशमन्त्री जनसनको यस्तो भनाइ सार्वजनिक भएको हो।

अमेरिकाको साथ लागेर सिरियामा क्षेप्यास्त्र कार्यक्रम गरेको भन्दै बेलायतको विपक्षी दलका नेता जेरेमी कर्बिनले भने प्रधानमन्त्री मे सरकारको आलोचना गरेका छन्।

एक साता अघि भएको शंकास्पद रासायनिक हमलाको प्रतिक्रियास्वरुप अमेरिका, फ्रान्स र बेलायतले शनिबार सिरियाको रासायनिक हतियार कार्यक्रमको केन्द्रमै क्षेप्यास्त्र आक्रमण गरेको थियो। आक्रमणलगत्तै तीन देशले आफूहरुको आक्रमण सिरियाली राष्ट्रपति बसर अल–असदलाई सत्ताच्यूत गर्नु वा सात वर्षीय लामो गृहयुद्धमा हस्तक्षेप गर्नु नभएको दाबी गरेका छन्।

सिरियाको रासायनिक हतियार उत्पादन गर्ने क्षेत्रमा नै भएको बमबारी उपलब्धिमूलक भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताए पनि पश्चिमा राष्ट्रको यस्तो कदमको दमास्कसले भने भत्सर्ना गरेको छ। आक्रमणलाई सिरिया र उसको प्रमुख सहयोगी राष्ट्र रुसले सिरियाली राष्ट्रपति असदविरुद्ध पश्चिमा राष्ट्रले गरेको सबैभन्दा ठूलो हस्तक्षेप भएको बताएका छन्। अमेरिकालगायत पश्चिमा राष्ट्रले एउटा सार्वभौम राष्ट्रमाथि गरेको आक्रमण अस्वीकार्य कदम र कानुन विपरित भएको रुसका विदेशमन्त्री सेर्गेई लाभरोभलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

उता, गत शनिबार पूर्वी गुटाको दोमा सहरमा भएको भनिएको रासायनिक ग्यास हमलाबारे अनुसन्धान गर्न दमास्कस पुगेको विश्वव्यापी रासायनिक हतियारको निरीक्षण गर्ने संस्था ओपिसिडब्लूका प्रतिनिधिसँग सिरियाका उपविदेशमन्त्री फैसल मेक्दादले रुसी अधिकारीहरु र सिरियाका उच्च सुरक्षा अधिकारीको उपस्थितिमा करिब तीन घण्टा भेटवार्ता गरेका छन्।

ओपिसिडब्लूका निरीक्षकहरुले शंकास्पद ग्यास हमला भएको भनिएको क्षेत्रमा भ्रमण गर्ने बताइएको छ। पश्चिमा देशहरुले ओपिसिडब्लूले गर्ने अनुसन्धानको नतिजा पर्खनसमेत अस्वीकार गरि सिरियामाथि क्षेप्यास्त्र आक्रमण गरेको भन्दै रुसले निन्दा गरेको छ। ओपिसिडब्लूका निरीक्षण टोलीसँग भेटवार्ता गरेर होटल फर्किएपछि सिरियाली उपविदेशमन्त्री मेक्दादले होटल बाहिर बसिरहेका पत्रकारलाई प्रतिक्रिया भने दिन अस्वीकार गरेको रोयटर्सले जनाएको छ।

बेलायती विदेशमन्त्री बोरिस जनसनले सिरियामा हुनसक्ने थप रासायनिक हतियारको प्रयोगलाई रोक्न अमेरिकी नेतृत्वमा क्षेप्यास्त्र हमला गर्नेबारे प्रधानमन्त्री थेरेसा मेले लिएको निर्णय सही भएको भन्दै उक्त निर्णयको बचाउसमेत गरेका छन्।

‘शनिबारको क्षेप्यास्त्र आक्रमण सिरियाको सत्ता परिवर्तनका लागि हैन र सिरियामा जारी द्वन्द्वको तरंगलाई परिवर्तन गराउन पनि हैन,’ उनले बिबिसीसँग बताए।

‘सिरियामा थप आक्रमण गर्नेबारे हाललाई कुनै प्रस्ताव टेबल गरिएका छैनन् किनभने अब असदको सत्ताले रासायनिक हतियार आक्रमण गर्ने मूर्खता गर्ने छैन,’ बिबिसीसँग जनसनले बताए।

‘यदि असद सरकारले त्यस्तो आक्रमण गरिहाल्यो भने हाम्रो गठबन्धनले के विकल्प हुनसक्छ भन्नेबारे अध्ययन गर्नेछ,’ संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हालेसँग बोली मिलाउँदै जनसनले बताए। अमेरिकी राजदूत निक्की हालेले शनिबार आपतकालीन रूपमा आयोजना भएको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा यदि सिरियाले पुनः विषालु ग्यास प्रयोग ग-यो भने अमेरिका पूर्ण रूपमा तयार रहेको आफूलाई राष्ट्रपति ट्रम्पले जानकारी गराएको बताएकी थिइन्।

बिबिसीका पत्रकारले यसको मतलब अब असदले रासायनिक हतियारको विकल्पमा ब्यारेल बम र अन्य माध्यम प्रयोग गर्न पाउने हो भन्ने प्रश्नमा विदेशमन्त्री जनसनले भने त्यो अत्यन्तै दुःखद् असर हुने बताएका छन्।

उनले असद आफ्नै नागरिकको हत्या गर्दै जित हासिल गर्नमा तल्लीन छन् र रुसले मात्रै उनलाई दबाब सिर्जना गरेर जेनेभामा वार्ताको टेबलमा ल्याउन सक्ने जनसनले बताए।

अमेरिकाको साथ लागेर सिरियामा क्षेप्यास्त्र कार्यक्रम गरेको भन्दै बेलायतको विपक्षी दलका नेता जेरेमी कर्बिनले भने प्रधानमन्त्री मे सरकारको आलोचना गरेका छन्। उनले अमेरिकी कदममा बेलायतको साथका लागि लिइएको कानुनी आधार अत्यन्तै विवादास्पद रहेको भन्दै आफूले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले गर्ने कदमको मात्रै समर्थन गर्ने बताए।

प्रकाशित: ३ वैशाख २०७५ ०५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App