६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

भारतमा एकपछि अर्को बलात्कारको घटना सार्वजनिक

जम्मुकी आठ वर्षीया बालिक तथा उत्तर प्रदेशकी एक किशोरीको बलात्कारपछि हत्या भएको विरोधमा शुक्रबार गरिएको मैनबत्ती -यालीमा सहभागी। तस्बिर : एजेन्सी

नयाँ दिल्ली – एक किशोरीमाथि भएको बलात्कारको घटनामा संलग्न रहेको भन्दै भारतको सत्तारुढ दलका सांसद पक्राउ परेको केही दिनमै देशको पश्चिमी राज्य गुजरातमा आइतबार अर्की एक बालिकाको निर्ममतापूर्वक बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ। गुजरातको सुरतमा अप्रिल ५ का दिन एक बालिकाको बलात्कारपछि हत्या भएको विवरण आइतबार सार्वजनिक भएको सहरका प्रहरी कमिस्नर सतिस शर्मालाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

‘ती बालिकाको शव अप्रिल ६ का दिन राजमार्गमा भेटिएको र पोस्ट मर्टम रिपोर्टका अनुसार अप्रिल ५ का दिन बलात्कारपछि  हत्या गरिएको पाइएको छ,’ प्रहरी कमिस्नर शर्माले बताए। उनका अनुसार पोस्ट मर्टम रिपोर्टमा ती बालिका केबल ११ वर्षकी रहेको पत्ता लागेको पनि उनले बताए। शर्माका अनुसार ती किशोरीको परिचय खुल्न सकेको छैन र गुजरातका  छिमेकी राज्यहरुलाई समेत तिनको परिवारको खोजी गरिदिन आग्रह गरिएको छ। प्रहरीले हत्याराको पहिचान गर्नका लागि उच्च तहका प्रहरी कर्मचारीलाई तयारी अवस्थामा राखेको उनले बताएका छन्।

देशैभर महिलामाथि भइरहेको आक्रमणको घटनामाथि प्रशासन अनुसन्धान गर्न असमर्थ भएको भन्दै भारतभर आइतबार प्रदर्शन भइरहेकै समयमा महिलामाथि भएको बलात्कारको घटना बाहिरिएको हो। भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीको सरकार रहेको उत्तर प्रदेशका एक सांसदले किशोरीलाई बलात्कार गरेको आरोपमा गत साता पक्राउ परेपछि देशका विभिन्न क्षेत्रमा सरकारविरोधी प्रदर्शन भएका थिए।

भारत स्वशासित जम्मु र कस्मिरमा पनि एक आठ वर्षीया मुसलमान बालिकाको बलात्कारपछि हत्या भएको घटना बाहिरिएको थियो। ती बालिकालाई आठ जना हिन्दू पुरुषले कसरी अपहरण गरे, उनलाई कसरी लठ्याउने औषधी दिए र बन्धक बनाए भन्ने विवरण सार्वजनिक भएपछि भने भारतभार झनै आक्रोश पैदा भएको छ। कस्मिरको हिमाली क्षेत्रमा घुमन्ते जीवन बिताउने जातकी ती बालिकाको शव गत जनवरीमै भेटिएको भए पनि अभियानकर्ताले सडकमा आएर अनुसन्धानका लागि दबाब नदिएसम्म उक्त मुद्दामा अत्यन्तै कम गतिमा अनुसन्धान भइरहेको थियो।

देशैभर बलात्कारविरुद्ध प्रदर्शन भएपछि सन् २०१९ मा आम निर्वाचनको सामना गर्न लागेका प्रधानमन्त्री नरेन्द्र मोदीमाथि दबाब बढेको छ। उनले यस्ता घटनाविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  भारतको जम्मु कस्मिर र गुजरातमा भएका बलात्कारको घटनालाई विभिन्न अन्तर्राष्ट्रिय समुदायले पनि निन्दा गरेका छन्। त्यसरी निन्दा गर्नेमध्ये संयुक्त राष्ट्रसंघ पनि रहेको छ।

प्रकाशित: ३ वैशाख २०७५ ०५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App