८ वैशाख २०८१ शनिबार
राजनीति

गृहमन्त्री थापाको ५० दिनका ५० काम

काठमाडौँ- गृहमन्त्री रामबहादुर थापाले कार्यभार सम्हालेको ५० दिनमा गरेका महत्वपूर्ण ५० काममध्ये गृह प्रशासन, प्रहरी, अध्यागमन, कारागार, सुशासनलगायत क्षेत्रमा महत्वपूर्ण सुधार भएको जनाइएको छ। 

गृहमन्त्री थापाले गत फागुन १४ गते कार्यभार सम्हालेका थिए। गृह प्रशासन सुधार र सुशासनतर्फ ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना २०७४’ सार्वजनिक गरिएको, यातायातका क्षेत्रमा रहेको एकाधिकार तोड्नका लागि यातायात व्यवसायी समितिको दर्ता तथा नवीकरण कार्य रोक्नेसम्बन्धी निर्णय भई सोसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको, साढे ३३ किलो सुन तस्करी घटनाको छानवीन गर्न मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा समिति गठन गरिएको र २२ दिन बिदा घटाइएको विषयलाई गृहमन्त्रीको उपलब्धिका रुपमा लिइएको मन्त्रालय सचिवालयले जनाएको छ। 

सरकारी नंकासेतो प्लेटलाई रातो बनाउन नपाइने गराइएको तथा सार्वजनिक बिदाका दिन सरकारी र संस्थानका गाडीको दुरुपयोग रोक्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको, प्रजिअको कार्यसम्पादन करारको मस्यौदा तयार भएको, जिल्लामा शान्ति सुरक्षा र सुशासन कायम गर्न एवं सेवा प्रवाह प्रभावकारी बनाउन प्रजिअलाई ३७ बुँदे निर्देशन जारी गरिएको बताइएको छ। 

यातायात तथा ट्राफिक सुधारका सम्बन्धमा गृहमन्त्रीको अध्यक्षतामा विभिन्न मन्त्रालयका सचिव रहेकोे निर्देशन तथा अनुगमन समिति गठन गरिएको, गृहमन्त्रीले आफ्नो सवारीका क्रममा अत्यावश्यक अवस्थाबाहेक अन्य समयमा साइरन नबजाउन निर्देशन दिएको, घरेलु हिंसा नियन्त्रण गर्न मदिराको बिक्रीवितरण र प्रयोगसम्बन्धी कार्ययोजना बनाउने निर्णय भएको प्रगति विवरणमा उल्लेख छ।

पारदर्शिताको नीतिअनुरुप मन्त्रालयमा रु २५ हजारभन्दा बढी भएका खर्चको विवरण मन्त्रालयको वेबसाइटमा राख्ने परिपाटीको विकास भएको, कर्मचारी सरुवाको वस्तुगत तथा न्यायसङ्गत मापदण्डको मस्यौदा तयार भएको र मन्त्रालयमा उपसचिव प्रमुख रहने गरी शान्ति प्रवद्र्धन शाखा स्थापना गरिएको विषयलाई समेत उपलब्धिका रुपमा लिइएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकमा कार्यक्षमता र वरिष्ठताका आधारमा नियुक्तिका लागि सिफारिश गरेर यसअघि हुँदै आएको विवादको अन्त्य भएको, सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता ल्याउन नेपाल प्रहरी र प्रहरी बललाई निर्देशन दिइएको, सुरक्षाकर्मीलाई घरमा कामदारका रुपमा राख्ने र सुरक्षा खतरा नभएकाले पनि पहुँचका भरमा सुरक्षाकर्मीलाई ‘पिएसओ’का रुपमा राख्ने कार्यलाई रोकिएको, तल्लो तहको प्रहरीको मनोबल बढाउने उद्देश्यसहित गत चैत ७ गते महानगरीय प्रहरी वृत्त, अनामनगरको प्रहरी मेसमा प्रहरी जवानसँगै बसेर गृहमन्त्री थापाले खाना खाएको सचिवालयले जनाएको छ। 

आन्तरिक सुरक्षा नीति बनाउन कार्यदल गठन गरिएको, लामो समयदेखि नेपाल प्रहरी र प्रहरी बलकमा सरुवाबढुवा रोकिएकामा स्वच्छ र पारदर्शी ढंगले सोसम्बन्धी प्रस्ताव ल्याउन गृहमन्त्रीले महानिरीक्षकलाई निर्देशन दिएको, काभ्रेपलाञ्चोकको पनौतीमा भारत सरकारको सहयोगमा बन्ने भनिएको नेपाल प्रहरी तालीम केन्द्रको काममा भइरहेको ढिलाइ हटाउन पहल गरिएको विषयलाई गृहमन्त्रीको उपलब्धिका रुपमा राखिएको छ। 

कारागारको निरीक्षण र अनुगमन गरी समग्र कारागार सुरक्षा योजना तयार पारिएको, थुनुवाको मुद्दा समयमै फैसला गर्नेतर्फ पहल गरिएको, कारागार भवन परिसरभित्र ‘सिसिटिभी’ को अनुगमन गर्ने प्रणाली स्थापित गरिएको र बिरामी कैदीका हकमा छुट्टै कारागारको व्यवस्था मिलाउनेसम्बन्धी निर्णय भई काम शुरु भएको, कैदीले हाल सिदाबापत पाउँदै आएको दैनिक रु ४५ लाई रु ७५ पु-याउने निर्णय गरी सोसम्बन्धी प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ। 

पुर्पक्षमा बसेका कैदीलाई अदालतसम्म लैजाने कार्य असहज हुने देखिएकाले पहिलो चरणमा बढी कैदी भएका कारागारमा ‘भिडियो कन्फ्रेन्स’ का लागि काम शुरु भएको, केही जेलर लामो समय एउटै कारागारमा बस्ने प्रथाको अन्त्य गर्न र कारागारभित्र खराब आचरण भएका चौकीदार, नाइके र भाइनाइकेको देशव्यापी रुपमा नियमित सरुवा गर्न गृहमन्त्रीले दिएको निर्देशनअनुरुप कारागार व्यवस्थापन विभागले काम शुरु गरिसकेको उल्लेख छ। 

गृहमन्त्रीले त्रिभुवन अन्तर्राट्रिय विमानस्थल र त्यहाँको अध्यागमन कार्यालयको आकस्मिक निरीक्षण गरेको र अध्यागमनको शुद्धीकरण र सदृढीकरणसम्बन्धी प्रतिवेदन तयार भएको सचिवालयले जनाइएको छ। आगामी मनसुनमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहमा मनसुन पूर्वतयारी प्रतिकार्य योजना तयार पारी कार्यान्वयनमा ल्याउन मन्त्रालयले अनुरोध गरेको र सातै प्रदेशमा विपद्का समयमा आवश्यक पर्ने सामग्रीको भण्डारणस्थल बनाउने प्रक्रिया शुरु भएको विषयसमेत गृहमन्त्रीको उपलब्धिका रुपमा लिइएको छ। 

प्रकाशित: ३ वैशाख २०७५ १५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App