८ वैशाख २०८१ शनिबार
राजनीति

‘ओलीको खोक्रो राष्ट्रवाद भारत गएपछि लम्पसारवादमा परिणत भयो’

मकवानपुर– नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली लम्पसारवादी भएको आरोप लगाएका छन्।

नेपाल तरुण दलद्वारा मकवानपुरको हेटौंडामा सोमबार ३ नम्बर प्रदेशस्तरीय २ दिने तरुण प्रशिक्षणको उद्घाटनपछि ओलीको खोक्रो राष्ट्रवाद भारतमा गएपछि लम्पसारवादमा परिणत भएको दाबी गरे।

‘लम्पसारवादीले नै राष्ट्रवादको चर्को कुरा गर्ने?’ ओलीमाथि हमाला गर्दै उनले भने ‘अब स्पष्ट भइसक्यो, ओली भन्ने मान्छे कहिल्यै राष्ट्रवादी थिएन, लम्पसारवादी मात्र हुन्।’

काँग्रेस मात्र राष्ट्रवादी पार्टी भएको बताउँदै उनले आफुहरु हिमाल, पहाड, तराई मिलाएर राष्ट्रियताको खिलाफमा नजाने जिकिर गरे। राष्ट्रिय एकता नै अहिले राष्ट्रवाद भएको भन्दै उनले हिमाल, पहाड, तराईको एकता, समानता र विकासमा लागिपर्ने बताए।

संविधान कार्यान्वयन नगरेको भए जेपनि हुन सक्ने भएकाले एमाले–माओवादी पार्टी अचानक शंकास्पद रुपमा मिलेपनि तत्काल निर्बाचनमा गएको उनले बताए। निर्बाचनमा एमाले–माओवादी मिलेर भन्दा पनि काँग्रेसभित्रकै बागी उम्मेदवारका कारण धेरै ठाउँमा काँग्रेस पराजित भएको उनले बताए। पार्टीभित्र खुलेआम अनुशासनहिनता बढेकोमा चिन्ता व्यक्त गर्दै उनले अनुशासन तोड्ने, अन्तरघातीलाई अब कारबाही गर्ने बताए। पार्टीमा अब गुटबन्दी चल्न नदिने भन्दै उनले पार्टीलाई बहुमत नदिलाईकन कुनैपनि हालतमा विश्राम नलिने बताए।

नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले बामगठबन्धनलाई शत्रुको संज्ञा दिदै काँग्रेस र लोकतान्त्रिक शक्ति एक ढिक्का हुनुपर्ने बेला आएको बताए। पार्टी भित्रको आन्तरिक मतभेद छाडेर साम्यवादको विरोध गर्नुको विकल्प नभएको भन्दै उनले बाम सरकारले एकदलीय शासन ल्याउन खोजेको जिकिर गरे।

जातीय विभेदको अन्त्य, बहुदलिय व्यबस्था, सशस्त्र द्वन्दको अन्त्य, संविधान निर्माण, ऐतिहासिक स्थानीय तहको निर्बाचन काँग्रेस नेतृत्वको सरकारले गरेको भन्दै उनले काँग्रेसले गरेको राम्रो कामको प्रचारमा कमी भएको बताए। ‘मार्क्सवाद, लेलिनवाद, माओवादको त्यही देशमै अन्त्य भइसक्यो,’ उनले भने ‘संसारबाट विदा भईसकेको साम्यवाद नेपालबाट पनि अन्त्य गर्न सबै मिल्नुपर्छ।’

नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व रक्षामन्त्री बालकृष्ण खाँडले संघीय लोकतान्त्रिक गणतन्त्रमा शक्ति पृथकीकरणको सिद्धान्तलाई बाम गठबन्धनको सरकारले धज्जी उठाएको आरोप लगाए। शक्ति केन्द्रिकृत गर्ने बाम सरकारको त्यस्तो कार्यको सशक्त बिरोध गर्ने बताउँदै उनले काँग्रेस नेतृत्वको सरकारले तोकेको प्रदेश राजधानी हेटौंडाबाट कुनै तागतले सार्न नसक्ने दाबी गरे।

काँग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले वर्तमान सरकारले एकतन्त्रीय शासनको शुरुवात गरेको आरोप लगाए। अन्य मन्त्रालय अन्तरगतको राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री अन्तरगत ल्याएर कम्यूनिष्ट शासनको शुरुवात गर्न खोजेको तर्क गरे।

नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु लक्ष्मी परियार, रामकृष्ण यादव, महेन्द्र यादव, सुरेन्द्र पाण्डे, उदय शम्शेर राणा, ३ नम्बर प्रदेशका संसदीय दलका नेता एवम् पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँ, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतलगायतले पार्टीभित्रको अन्तरविरोध र गुटबन्दीको अन्त्य गर्दै जनमुखी नीति र कार्यक्रम बनाएर अघि बढ्न नेतृत्वलाई सुझाब दिएका थिए। प्रदेशस्तरीय तरुण प्रशिक्षण गरिरहेको नेपाल तरुण दलले प्रदेश नम्बर १ र २ मा तरुण प्रशिक्षण कार्यक्रम गरिसकेको छ।

प्रकाशित: ३ वैशाख २०७५ १६:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App