coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

साामूहिक भोजन गराउँदा वृद्धा दंग

कार्यक्रममा दोसल्ला ओढाएर सम्मानित वृद्धा। तस्बिर : टंक क्षेत्री/नागरिक

सर्लाही –  जिल्लाको जुटपानी निवासी ८५ वर्षीया दुर्गी पासवान सोमबार बिहान खुशीले हर्षविभोर थिइन्। नहुनुपनि किन? सांसद, पूर्वमन्त्री, मेयर, उपमेयर, प्रमुख जिल्ला अधिकारी, सुरक्षा अंगका प्रमुखलगायत जिल्लाका प्रतिष्ठित व्यक्तिहरूले उनीसँगै सामूहिक भोजन गरेका थिए।

सुरुदेखि हँसिली देखिएकी पासवानले कार्यक्रम सकिएपछि बाहिरिन लागेका प्रमुख अतिथि एवं अतिथिलाई आश्रमको मूलगेटमा बसेर नमस्कार गर्दै विदाई समेत गरिन्। सँधै दुःख सुखका कुरा गरेर घरमै समय बिताइरहेकी पासवान मात्र हैन उनी जस्ता२० जना वृद्धाले स्थानीय पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा मिष्ठान भोजन गरे, त्यो पनि जिल्लाका लब्धप्रतिष्ठित व्यक्तिसँग। त्यसैले वृद्धाबीच निकै खुसी छाइरहेको देखिन्थ्यो।

मातातिर्थ औंसी अर्थात् आमाको मुख हेर्ने पर्वको अवसरमा लालबन्दी नगरपालिका–२, जुटपानीस्थित आश्रमले त्यस्तो अवसर जुटाएको हो। वृद्धालाई दोसल्ला ओढाएर सम्मानसहित मिष्ठान भोजन गराईएको आश्रमकी अध्यक्ष भवानी कोइरलाले जानकारी दिइन्। कोइरालाका अनुसार वृद्ध सेवाश्रममा आश्रीत १३ जना वृद्धासहित स्थानीय ८९ वर्षीया चिनीमाया खाती, ८५ वर्षीया दुर्गी पासवान, ८३ वर्षीया पद्ममाया भूजेल, ८१ वर्षीया विष्णुमाया थिङ, ८० वर्षीया नन्दादेवी चालिसे, ७९ वर्षीया राधा घिमिरे, ७५ वर्षीया सुकुमाया विक, ७० वर्षीया गंगियादेवी पासवानलगायत २० जना वृद्धालाई सम्मान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य प्रमोद साह, विशिष्ट अतिथिद्वय पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ एवं प्रदेशसभा सदस्य बेची लुंगेली, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल, विभिन्न सुरक्षा अंगका प्रमुखलगायतले वृद्धाहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए। ‘वृद्धाको सम्मान गर्न पाउँदा मलाई निकै गौरवान्वित महसुस भएको छ’, कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य साहले भने, ‘पहिलोपटक यति धेरै उमेरका आमालाई सम्मान गर्न पाएको छु।’

कार्यक्रममा लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का तथा उपमेयर शान्ति लामाले संयुक्त रूपमा वृद्धाश्रमलाई मिष्ठान, फलफूल एवं पौष्टिक भोजन प्रदान गरेका थिए। त्यस्तै उपस्थित अतिथिले समेत वृद्धाका लागि मिष्ठान भोजन उपलब्ध गराएका छन्।

२०५५ सालदेखि सञ्चालित वृद्धाश्रममा हाल १७ वृद्ध, १३ वृद्धा, ५ बालबालिका र २ जना अपांग आश्रित रहेको अध्यक्ष कोइरालाले जानकारी दिइन्।

प्रकाशित: ४ वैशाख २०७५ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App