८ वैशाख २०८१ शनिबार
कला

‘झुम्की’सँगै मैथिली गीत

नाटक ‘झुम्की’मा अभिनय गर्दै कलाकार रिना रिमाल(बीच) । तस्बिरः दिनेश गोले/नागरिक

काठमाडौं– बलात्कृत महिलाले गुम्सिएर बस्नु परेको पीडा र समाजले उसलाई हेर्ने दृष्टिकोणलाई समेटेर एकल मैथिली नाटक ‘झुम्की’ मञ्चन गरिएको छ । जनकपुर क्षेत्रकी रंगकर्मी रिना रिमालको सोलो अभिनय गरिएको नाटक सोमबार राजधानीमा मञ्चन गरिएको हो।

पत्रकार अनिलकुमार कर्णको लेखनमा तयार नाटकमा रंगकर्मी सरस्वती अधिकारीको निर्देशन छ । नाटकमा वास्तविक चरित्रकै जस्तो अभिनय गरेकी रिनाको अभिनयबाट दर्शकले तारिफ पाएका थिए । ‘नाटक हेर्दा यो नाटकमा मैले एक्लै अभिनय गरे पनि यसको पृष्ठभूमिमा एउटा समूह छ।

म नेपाली भाषा बुझ्ने कलाकारलाई मैथिली भाषाको नाटकमा रिहर्सल गर्दा निकै तनाव भयो । तर पनि अनिलजीले सरल भाषामा नाटक लेखिदिनुभएकाले संवाद बोल्न सजिलो भयो,’ मञ्चनपछि उनले भनिन्, ‘मैथिली संवाद बुझेर त्यसलाई वास्तविक चरित्रमा उतार्नु निकै कष्टकर बने पनि म यसमा सफल भएँ।’

रिनासँग महेन्द्र मलंगिया र रोशन जनकपुरीजस्ता नाटककारका विभिन्न नाटकमा मुख्य चरित्रमा अभिनयको अनुभव छ । नाटकका लेखक अनिलले रिनाले अभिनय गर्न सक्छिन् या सक्दिनन् भन्ने कुरामा आफूहरुमा डर भए पनि त्यो डर नाटक हेरेपछि हराएको बताए।सम्बलले आयोजना गरेको कार्यक्रममा मधेस आन्दोलनका क्रममा ‘म नेपाली हुँ, मलाई इन्डियन कहाँ भन्न पाइन्छ’ बोलको गीत गाएर चर्चामा आएका गायक डा. आभास लाभले आफ्ना सोलो मैथिली गीत गाएका थिए ।

मूलतः मैथिली गायनमा तीन दशकदेखि सक्रिय डा. लाभका मैथिली, भोजपुरीलगायतका भाषामा करिब दुई दर्जन एल्बम प्रकाशित छन् । कार्यक्रममा डा. लाभले २० भन्दा बढी मैथिली, भोजपुरी र अवधि भाषाका गीत गाएका थिए। कार्यक्रममा विद्या राना चौधरीलाई २५ हजार १ सय रुपैंयाँ राशीको पुरस्कार प्रदान गरिएको थियो।

 

प्रकाशित: ४ वैशाख २०७५ ०३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App