८ वैशाख २०८१ शनिबार
समाज

रेडपाण्डाको नवौँ जन्मोत्सव

रसुवाका प्रदेश ख का सभासद प्रभात लामाले केक काटेर नवौँ रेडपाण्डा ट्रफि भलिवल प्रतियोगिताको उद्घाटन गर्दै।

रसुवा – २३ औँ वन्यजन्तु सप्ताहका अवसरमा सोमबार केक काटेर रेडपाण्डाको नवौँ जन्मोत्सव मनाइएको छ। छैठौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव तथा नवौँ जिल्लास्तरीय रेडपाण्डा ट्रफी भलिवल प्रतियोगिताको अवसरमा रेडपाण्डाको जन्मोत्सव मनाइएको हो। दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि रसुवामा केक काटेर रेडपाण्डाको जन्मोत्सव मनाइएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए।

वन्यजन्तुको जन्मदिन मनाउँदा वन्यजन्तुको संरक्षणमा समेत सहयोग पुग्ने देखेपछि रेडपाण्डाको जन्मोत्सव मनाउन सुरु गरिएको उनले बताए। ‘नौलो तरिकाले कार्यक्रम सञ्चालन गर्दा वन्यजन्तुको संरक्षणमा सहयोग पुग्छ, प्रमुख संरक्षण अधिकृत रेग्मीले भने, आगामि दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौँ।’

भलिबल प्रतियोगिता पहिलेदेखि सञ्चालन हुँदै आएपनि २०७२ सालदेखि जन्मोत्सव मनाउन सुरु गरिएको हो। रसुवाका प्रदेश ख का सभासद प्रभात लामाले केक काटेर खेलको उद्घाटन गरेका थिए। गत वर्ष केक काटेर डमीलाई खुवाइएको भएपनि यो वर्ष डमीको अभावमा केक मात्र काटिएको बताइएको छ।

बैसाख १ गतेदेखि जिल्लाको सदरमुकाम धुन्चेमा नवौँ रेडपाण्डा ट्रफी भलिवल प्रतियोगिता र छैठैं लाङटाङ पर्यटन तथा संरक्षण उत्सव सञ्चालन भैरहेको छ । सोमबार भएको पहिलो खेलमा जुनतारा युवा सोसाइटीले, रसीभूमे युवा समाजलाई २५–१०, २०–२५ र ३४–३३ को सोझो सेटले पराजित गरेको छ। प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका छन्।

जिल्ला समन्वय समिति, लाङटाङ राष्ट्रिय निकुञ्ज र लाङटाङ क्षेत्र संरक्षण सरोकार ल्याकोसले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन्। कार्यक्रम सञ्चालन गर्न लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले आर्थिक सहयोग गरेको छ।

कार्यक्रमका लागि पाँच वटा गाउँपालिका, विभिन्न गैरसरकारी संस्था तथा जलविद्युत् आयोजनाले सहयोग गरेका छन्।

निकुञ्जमा ८० भन्दा बढी रेडपाण्डा
लाङटाङ राष्ट्रिय निकुञ्जमा ८० भन्दा बढी रेडपाण्डा रहेको निकुञ्जले जनाएको छ। केही वर्षअघि गरिएको गणनामा ८० भन्दा बढी रेडपाण्डा रहेको तथ्यांक आएको प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए।

निकुञ्जको चोलाङपाटी, घ्याङ्फेदी र टिम्बु क्षेत्रमा रेडपाण्डा रहेको बताइएको छ। वैज्ञानिक तरिकाले गणना गरेर रेडपाण्डाको यकिन तथ्यांक राख्नुपर्ने देखिएको सरोकारवालाले बताएका छन्।

शून्य चोरी सिकार वर्ष सफल
२०७४ साललाई रेडपाण्डाको शून्य चोरी सिकार वर्ष बनाउन निकुञ्ज सफल भएको छ। २०७४ बैसाखदेखि चैतसम्म रेडपाण्डाको चोरी सिकार नभएको निकुञ्जले जनाएको छ।

दूर्लभ वन्यजन्तु रेडपाण्डाको चोरी सिकार नियन्त्रणका लागि समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा समुहको परिचालन, गस्ती परिचालन, प्रचारप्रसारका कार्यक्रम लगायतका कार्यक्रम गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रेग्मीले जानकारी दिए।

२०३२ चैत ९ गते स्थापना गरिएको निकुञ्जले रसुवाको ५७ प्रतिशत, नुवाकोटको ७ प्रतिशत र सिन्धुपाल्चोकको ३६ प्रतिशत क्षेत्रफल ओगटेको छ।

निकुञ्जभित्र हुने वन पैदावरको चापलाई न्युनिकरण गर्न तथा मध्यवर्ती क्षेत्र व्यवस्थापनको लागि २१ वटा उपभोक्ता समिति र एक सय ९१ वटा उपभोक्ता समुह क्रियाशिल रहेका छन्। यहाँ विश्वको दुर्लव वन्यजन्तु रेडपाण्डा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वासो, सालक, चरि बाघ लगायतका वन्यजन्तु पाइन्छ।

निकुञ्जमा एक सयभन्दा बढी वनस्पति, ४६ प्रजातिभन्दा बढी स्तनधारी जनावर, तीन सय १२ भन्दा बढी प्रजातिका चरा पाइन्छ । जिल्लामा वर्षेनी स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्दै गएको छ।

प्रकाशित: ४ वैशाख २०७५ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App