coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

वैद्य–विप्लवसँग खुला अनुरोध

माक्र्सवादीहरू पदार्थबाट चेतना, विचार, परिस्थिति जन्मने कुरामा विश्वास गर्छन्। भौतिक, रासायनिक, पदार्थमा जुनसुकै रूपमा पनि तत्व हुन्छन्। तत्वका सबभन्दा साना कणलाई ‘एटम’ भनिन्छ। एटमभित्र भिन्न गुण भएका ‘बहु’ सूक्ष्म कणहरू हुन्छन्। पदार्थको स्वरूप, गुण, बनावटमा निरन्तर परिवर्तन भइरहन्छ किनकि पदार्थ बन्ने ‘एटम’बाट अल्फा, गामा, बेटा किरणहरू अविच्छिन्न रूपले निस्किरहेका हुन्छन्। मानिसको शरीरको आधारभूत संरचना कोषभित्रका प्रोटिन हरेक मानिसमा केही न केही रूपमा फरक छन्। तसर्थ संसारका ६ अर्बभन्दा बढी मानिस उस्तै कोही पनि छैनन्। विश्वमा प्रत्येक मानिसको बनावट र क्रियाको एकाइमा नै केही न केही फरक हुन्छ भने विचार, चेतना, रुचि, दृष्टिकोण, क्रियाकलाप इत्यादि फरक हुन्छन्। यो कुरा समयक्रममा एक वंशबाट अर्को वंशमा सर्दै जाँदा अझ फरक हुँदै जान्छ र नयाँ रूप, नयाँ विचारको जन्म हुन्छ। डार्बिनको यही तथ्यलाई समर्थन गर्दै माक्र्सले अनेकौँ समाजशास्त्रका सिद्धान्तहरूको विकास गरे। समाज निरन्तर विकास भइरहन्छ र जटिलता पनि बढ्दै जान्छ। तसर्थ फरक संगठन खोल्नु, फरक दृष्टिकोण हुनु विज्ञानसम्मत सत्य छ। विज्ञानको एक आधारभूत चरित्र निरन्तर आफ्नो गतिमा विकास र परिवर्तन भइरहनु हो। माक्र्सवाद एक विज्ञान भएकाले विकासशील र परिवर्तनशील छ। माक्र्सको  बेलाको उत्पादन, वितरण, विनिमय र उपभोग प्रणाली अहिले फरक भइसकेको छ। तसर्थ अरूलाई निषेध  गर्न खोज्नु, कुनै पनि नाममा एकदलीय शासन चलाउन खोज्नु विज्ञानसम्मत छैन। नेकपा (माओवादी) ले चुनबाङ बैठकबाट र नेकपा(एमाले)ले २०४९ सालमा नै जनताको बहुदलीय जनवादबाट बहुलवादलाई अङ्गिकार गरेका हुन्। संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथक्कीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धाको प्रणाली, आवधिक निर्वाचन, कानुनको शासन इत्यादि मानव जातिले समाज विकासक्रममा आर्जन गरेका जीवन्त र मूल्यवान् उपलब्धिहरूलाई पुँजीवादका मात्र निजी सम्पत्ति होइनन् र राम्रा सिद्धान्त, विधि सबैले उपयोग गर्नुपर्छ भन्ने कुरालाई किरण–विप्लव संसद्वाद वा संशोधनवाद वा अवसरवाद वा पलायनवाद वा सारसंग्रहवाद वा आत्मसमर्पणवाद वा अन्तरघात ठान्नुहुन्छ र निषेधात्मक रूपले हेर्नुहुन्छ। यी जीवन्त र मूल्यवान् उपलब्धिहरूसहितको संघीय लोकतान्त्रिक–गणतान्त्रिक शासन व्यवस्था अँगालेर देशलाई विकसित, समृद्ध बनाउनपट्टि लाग्नुपर्ने बेलामा किरण–विप्लव फेरि सशस्त्र युद्धको जगमा जनविद्रोहको कार्यदिशा अँगालेर अस्थिरता मच्चाई भ्रम छर्ने काम गरिरहनु भएको छ। बहुदलीय प्रतिस्पर्धाको परिपाटी वर्तमान नेपालको वस्तुगत परिस्थितिको अनिवार्य प्रतिविम्ब हो भन्ने कुरालाई किरण–विप्लव सिद्धान्ततः स्वीकार गर्नुहुन्न। किरण–विप्लवले द्वन्दवादको अनिवार्यता र सर्वव्यापकतालाई सिद्धान्ततः स्वीकार गर्ने तर बहुलवादको अवश्यम्भावी वैज्ञानिक आधारलाई आत्मसात् नगर्ने आधार के हो? यो प्रश्नको उत्तर क किरण–विप्लवले दिनुपर्छ।

किरण–विप्लव पथले जमिन, पुँजी र संगठनजस्ता उत्पादनका साधनमा पूर्ण रूपमा राज्यको स्वामित्व हुने, सबै राज्यको लगानी, सबैलाई रोजगारी, राज्यबाटै सम्पूर्ण रूपमा वितरण हुने हुँदा सम्पूर्ण रूपमा समानता हुने, सर्वहाराको अधिनायकत्व हुने राज्य व्यवस्था स्थापना गर्न माक्र्सवाद, लेनिनवाद र माओवादलाई आफ्नो मूल मार्गदर्शक सिद्धान्त मानी दीर्घकालीन सम्झौताहीन सशस्त्र वर्ग संघर्ष वा सशस्त्रयुद्धबाट जनवादी गणतन्त्र नेपालको स्थापना गर्ने र समाजवाद हुँदै साम्यवादमा जाने नीति लिएको छ भने एमाले–माओवादी केन्द्र (अब बन्न गइरहेको नेपाल कम्युनिस्ट पार्टी) ले नेपालको संविधानअनुसार लोकतान्त्रिक समाजवादको बाटो जो पुँजीवाद–उदारवाद वा नवउदारवादभन्दा फरक अर्थात् श्रम, जमिन, पुँजी र संगठनजस्ता उत्पादनका साधनमा निजी र राज्यको स्वामित्व हुने, निजी र राज्यको लगानी, मिश्रित बजार, लोककल्याणकारी वितरण प्रणाली, रोजगारीको व्यापक वृद्धि, सामाजिक सुरक्षाको माध्यम र प्रगतिशील कर प्रणालीबाट आर्थिक समानतासहितको वर्ग समन्वयमा आधारित समृद्ध समाजवादी राज्य व्यवस्था स्थापना गर्ने नीति लिएका छन्। अव बन्न गइरहेको नेपाल कम्युनिस्ट पार्टीले किरण–विप्लव नीतिलाई आसान्दर्भिक भन्दैे उहाँहरूलाई पनि पार्टी एकतामा आउन आह्वान गरेको छ। हामी सूत्र घोक्दैनौँ, बरू नयाँ सूत्रहरू बनाउँछौँ भन्ने ओली–प्रचण्डको विचारको साथमा आउन आह्वान गरेको छ। यो किन सम्भव हुन्न? धेरै असमानता, शोषण, उत्पीडनलाई आवश्यक कानुन बनाएर सम्बोधन गर्न सकिन्छ भने किन सशस्त्र जनविद्रोह, हत्या, हिंसाको जरुरी प-यो? जनतालाई बुर्जुवा शिक्षा बहिष्कार भनी गरिब, निमुखालाई युद्धमा होमेर निरक्षर, नालायक बनाउने र पुनः सहिदको खेती गर्ने ? व्यक्तिवादी संकीर्ण महत्वाकांक्षा यसका मुख्य कारण हुन् कि हैनन्? शक्ति आर्जन गरी बार्गेनिङ क्षमता बढाएर एकता प्रक्रियामा आउने विचार हो? रिस, ईष्र्या, डाह, द्वेष, आक्रोश, प्रतिशोध, बदला लिएर आत्मसन्तुष्टि लिने प्रवृत्तिको कारणले  किरण–विप्लवपथ जन्मने हो?

एकीकरण घोषणा सभामा किरण–विप्लव पनि उपस्थित भए–बनाउन सके वामगठबन्धनको ठूलो सफलता हुनेछ।

किरण–विप्लवको स्कुलिङले नेपालको कम्युनिस्ट आन्दोलनमा जडसूत्रवाद र उग्रवामपन्थी धारको प्रतिनिधित्व गर्छ। सृजनात्मकता, सुझावभन्दा विरोधको मुद्दालाई सजिलै समर्थन गर्ने, तर यथार्थ धरातलमा टेकेर भविष्यको उपयुक्त विकल्पको छनौट नगर्ने, विरोधको राजनीतिले बढी महत्व पाउने, परिवर्तन छिटो हुन्छ, विकास छिटो हुन्छ भन्ने निम्न पुँजीवादी चिन्तन भएको नेपाली समाजमा अझै क्रान्तिकारी रोमाञ्चकता बाँकी छ। बेपत्ता, सहिदका परिवारजन, घाइते एवं अपाङ्ग योद्धाहरूले उग्रनारा पुनः सुन्नेछन् र क्रान्तिकारी रोमाञ्चकताको कारणले किरण–विप्लव प्रवृत्तिको वृद्धि र विकास त हुने नै छ। तर आन्तरिक र बाह्य कारणले उक्त उग्र विचार अवशेषमा परिणत हुने निश्चित प्रायः छ। ढिलो, चाँडो किरण–विप्लवले एमाले र माओवादी केन्द्रको नीति नमानेर सुखै छैन। संविधानको कार्यान्वयनसँगै नयाँ युगमा प्रवेशसँगै शान्ति र स्थिरता आउन लागेको हाम्रो देशमा किरण–विप्लवको समूहहरू सिद्धान्तको रक्षा गर्ने नाममा, सिद्धान्तको “दियो” बाल्नुपर्छ भन्ने नाममा हिंसाको राजनीतिलाई निरन्तरता दिन चाहन्छन्। बन्द, चन्दा, धम्की, हड्ताल, अराजकता हुँदै जाँदा हत्या, अपराध, आतंक सुरु हुन सक्छ। यसलाई “क्रान्ति”का लागि जनविद्रोहको नाम दिइनेछ। यसो हुँदै जाने हो भने कुनै दिन मानव जातिले “क्रान्ति” भन्ने शब्दलाई घृणा गर्ने दिन आउन सक्छ। उग्रवामपन्थी प्रवृत्तिको भविष्य के हो? प्रश्नको उत्तर किरण–विप्लवले दिनुपर्छ।

बेपत्ता, सहिदका परिवारजन, घाइते एवं अपाङ्ग योद्धाहरूले उग्र नारा पुनः सुन्नेछन् र क्रान्तिकारी रोमाञ्चकताको कारणले किरण–विप्लव प्रवृत्तिको वृद्धि र विकास त हुने नै छ। तर आन्तरिक र बाह्य कारणले उक्त उग्र विचार असफल हुने निश्चित प्रायः छ। ढिलो, चाँडो किरण–विप्लवले एकीकृत हुन लागेको कम्युनिस्ट पार्टीको नीति नमानेर सुखै छैन।

जुन देशमा ४० लाखभन्दा बढी जनता स्वदेशमा रोजगारीको अभावले विदेशमा कष्टकर काम गरिरहेका छन्। मुलुकको आर्थिक–सामाजिक विकास सूचकांकहरू लज्जाजनक छन्। नेपालमा ठूला ठूला उद्योग स्थापना हुन नदिने, लगानीमैत्री वातावरण हुन नदिने, नेपालीलाई गरिबै देख्न चाहने, नेपाललाई आफ्नो बजार बनाइराख्ने चाहना राख्ने शक्तिहरूले पुनः नेपालमा अस्थिरता छाओस् भनेर प्रार्थना गरिरहेको छन। तिनीहरू अत्यन्त उज्ज्वल भविष्य भएको, संसारलाई उदाहरण भएको नेपालको कम्युनिस्ट आन्दोलनलाई निमिट्यान्न पार्न चाहन्छन्। माफियाहरू दोहोरो हतियार बेचेर पुनः सशस्त्र युद्धलाई मलजल गर्न आतुर छन्। विभिन्न शक्तिहरू चुनाव पर्यवेक्षणको प्रतिवेदनको नाममा होस् वा अन्य नाममा नेपाली गरिब हुन् हामीले ज गरे पनि, जे भने पनि हुन्छ भनेर सार्वभौम नेपालीलाई अपमान गरिरहेका छन्। युरोप, अस्ट्रेलिया, अमेरिका जाँदा यी नेपाली गरिब छन्, यहीँ लुक्छन्, फर्कन्नन् भनेर एयरपोर्टमा हामी नेपालीलाई अपमान गर्छन्। दोस्रो विश्वयुद्धमा ध्वस्त भएको जापानी जनताले २४ घन्टामा १८ घन्टा काम गरेर संसारलाई जापानी को हुन् भनी देखाइदिए जस्तै ३ करोड नेपाली मिलेर दुई दशकमा युरोपको सबैभन्दा विकसित मुलुकलाई उछिन्ने, संसारलाई देखाइदिने  कसम खाएर समृद्धिको युद्ध लड्नुपर्ने बेलामा चन्दा आतंक, बन्द, हड्ताल, अराजकता सृजना गरी कसलाई फाइदा पुगेको छ ? नेपालमा फेरी सशस्त्रयद्ध सुरु भएमा नेपालको अवस्था के होला? यो यक्ष प्रश्नको उत्तर किरण–विप्लवले दिनुपर्छ।

यो युग निषेधको युग होइन, बरु सहकार्य, सौहार्दता, शिष्टता र सहमतिको युग हो। नेपालमा कम्युनिस्ट पार्टीहरू एकीकरण गर्ने नेताहरूको नाम नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ। कम्युनिस्टहरूले विगतलाई कोट्याउनुभन्दा सुन्दर भविष्यको निर्माण गर्नुपर्छ। तसर्थ वाम गठबन्धनले हार्दिकतापूर्वक किरण–विप्लव माओवादीलाई वार्ताका लागि अनुरोध गर्नुपर्छ र उहाँहरूलाई यो अवसरमा एकीकरण प्रक्रियामा जसरी पनि ल्याउनैपर्छ। प्रभावकारी सञ्चारले जस्तोसुकै कुरा मिलाउन सकिन्छ। विप्लव र किरणले पनि इतिहास रच्ने मौका गुमाउन हुन्न। विश्वका मानिसहरूको आँखा त्यसपछि नेपालको एकीकृत कम्युनिस्ट पार्टीतिर हुनेछ। कुनै हालतमा पनि विप्लव र किरणसँगको वार्ता सफल पार्नुपर्छ। एकीकरण घोषणा सभामा किरण–विप्लव पनि उपस्थित हुनैपर्छ। यो वामगठबन्धनको ठूलो सफलता हुनेछ। संसारका कम्युनिस्टहरू खुसीले गद्गद् हुनेछन। युवा कार्यकर्तामा सयौँ गुणा जाँगर पलाउनेछ। यो एकता, उल्लास, उमङ्ग र शक्तिको स्रोत हुनेछ।

(चिकित्सक अधिकारी धादिङ २ (१) बाट निर्वाचित सांसद हुन्)

प्रकाशित: ४ वैशाख २०७५ ०४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App