५ वैशाख २०८१ बुधबार
खेल

युभेन्ट्सको सम्भावना बलियो

इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबारको खेलमा साम्पडोरीयाविरुद्ध गोल गरेपछि युभेन्ट्सका बेनेडिक्ट हाउडेज। तस्बिरः एपि

मिलान – युभेन्ट्सले आइतबार साम्पडोरियामाथि ३–० को नतिजा निकालेपछि लगातार सातौं पटक इटालियन सिरी ‘ए’ को उपाधि जित्ने सम्भावना बलियो बनाएको छ।

दोस्रो स्थानको नेपोलीले एसी मिलानसँग गोलरहित बराबरी खेलेपछि युभेन्ट्सले शीर्ष स्थानमा ६ अंको स्पष्ट अग्रता लिएको हो।

अगामी आइतबार टुरिनमा नेपोली र युभेन्ट्सबीच हुने खेलको नतिजाले सिरी ‘ए’ उपाधि कसले जित्ने भनेर लगभग टुंगो लगाउनेछ । त्यसअघि युभेन्ट्सले क्रोटोनीको भ्रमण गर्नेछ भने नेपोलीले घरेलु मैदानमा युडिनेसीसँग प्रतिस्पर्धा गर्नेछ।

‘नेपोलीले यस सिजन उत्कृष्ट प्रदर्शन गरेको छ । उनीहरू अझै उपाधि होडमै छन् । मलाई लाग्छ अर्को दुई खेलको नतिजाले उपाधि कसको पोल्टामा जाने भनेर तय गर्नेछ,’ युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले भने, ‘हाम्रो अझै उपाधि जित्ने पक्का भइसकेको छैन । आजको नतिजाका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु । किनकि च्याम्पियन्स लिगमा भोगेको त्यो खराब अनुभवलगत्तै यस्तो जित निकाल्नु धेरै कठिन थियो।’

‘नेपोलीले यस सिजन उत्कृष्ट प्रदर्शन गरेको छ । उनीहरू अझै उपाधि होडमै छन् । अर्को दुई खेलको नतिजाले उपाधि कसको पोल्टामा जाने भनेर तय गर्नेछ।’

बुधबार च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियाल मड्रिडसँग पराजित भए पनि युभेन्ट्सलाई समर्थकले न्यानो स्वागत गरेका थिए । समर्थकले रंगशालामा ‘तिमीहरूप्रति गर्व छ’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए । उनीहरूले रियालविरुद्ध रातो कार्डको सामना गरेका गोलकिपर जियानलुइगी  बुफोनलाई पनि माफी दिएका थिए।

युभेन्ट्सको जितमा ब्राजिलका डगलस कोस्टाले निर्णायक भूमिका खेले । मिरालेम पिजानिक घाइते भएपछि मैदान छिरेका कोस्टाले तीनै गोलमा अवसर सिर्जना गरिदिए । कोस्टाको क्रसमा मारियो मान्जुभिचले ४५औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिए । ६०औं मिनेटमा बेनेडिक्ट हाउडेजले गरेका गोलमा पनि कोस्टाले अवसर बनाइदिए । त्यसको १५ मिनेट बित्न नपाउँदै सामी खेडिराले गरेको गोलमा पनि कोस्टाले भूमिका खेले।

‘डगलस कोस्टाको आगमनमा टोलीले गति लियो । हाम्रो योजनाअनुरूप नै उनलाई पहिलो रोजाइमा नराखेको हो,’ युभेन्ट्सका प्रशिक्षक एलेग्रीले भने, ‘हामीले आफ्नो लयअनुरूप नै खेलेका थियौं । पिजानिकको तिघ्रामा सानो चोट लागेको छ । तर उनको प्रतिस्थापन अझ राम्रो बन्यो।’

युभेन्ट्सले ३२ खेलबाट ८४ अंक जोडेको छ । जुन लिगमा ६ खेल बाँकी रहँदा दोस्रो स्थानको नेपोलीभन्दा ६ अंकले बढी हो।

जियानलुइगी डोन्नारुमाको गोलपोस्टमा उत्कृष्ट प्रदर्शन गरेपछि सान सिएरोमा नेपोलीले विजय हात पार्न सकेन । १९ वर्षे (सिरी ‘ए’ मा १ सय खेल खेल्ने युवा खेलाडी) इटालियन गोलकिपरले इन्जुरी समयमा वैकल्पिक खेलाडी आर्काडिउज मिलिकको सशक्त प्रहार रोकेपछि नेपोलीले युभेन्ट्ससँग अंक दूरी घटाउने मौका गुमाएको हो । १९८७ र १९९० पछि तेस्रो उपाधि जित्ने अभियानमा रहेको नेपोलीसँग ३२ खेलबाट ७८ अंक रहेको छ।

‘युभेन्ट्सले के गर्यो त्यो हामीलाई मतलब छैन,’ पछिल्लो पाँच खेलमा तेस्रो बराबरी खेलेको नेपोलीका प्रशिक्षक माउरिजियो सारीले भने, ‘हामी हाम्रो यात्रामा छौं । टोलीले राम्रो गरिरहेको छ । र सिजनको पहिलो चरणमा हामीले यस्तो प्रदर्शन गरेको भए हामी खुसी मनाइरहेका हुन्थ्यौं । केही क्रसबाहेक हामीले मिलानलाई केही गर्न दिएनौं।’

एसी मिलान छैटौं स्थानमा छ । जुन युरोपा लिग खेल्नका लागि पर्याप्त भए पनि च्याम्पियन्स लिगको स्थानभन्दा धेरै तल छ । ‘गणितीय हिसाबले अझै हाम्रो सम्भावना छ । तर चौथो स्थानको टोली र हामीबीच धेरै अन्तर छ,’ मिलानका प्रशिक्षक जेनारो गटुसोले भने।

स्टेडियो ओलम्पिकोमा गोलरहित बराबरी खेलेपछि रोमा र लाजियो ६१ अंकका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छ । इन्टर मिलानले एटलान्टासँग गोलरहित बराबरी खेलेपछि च्याम्पियन्स लिग खेल्ने स्थानमा उक्लने मौका गुमायो । लुसियानो स्पालेट्टीको टोली ६० अंकका साथ पाँचौं स्थानमा छ।

प्रकाशित: ४ वैशाख २०७५ ०४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App