६ वैशाख २०८१ बिहीबार
प्रवास

बेलायतको स्थानीय निर्वाचनमा नेपाली मुलका उम्मेदवार

लन्डन- बेलायतको स्थानीय निर्वाचनमा एक महिलासहित आधा दर्जनभन्दा बढी गैरआवासीय नेपालीले उम्मेदवारी दिएका छन्। आगामी ३ मेमा हुने स्थानीय निर्वाचनमा  हन्स्लो, बार्नेट, इलिङ, हार्ट डिस्ट्रिकलगायतको क्षेत्रबाट नेपालीहरुले पनि उम्मेदवारी दर्ता गरेका हुन्।

  हार्ट डिस्ट्रिक काउन्सिलको काउन्सिलर पदमा लीला सेलिङ माबो चुनावी मैदानमा उत्रिएकी छिन्। लेबर पार्टीको प्रतिनिधित्व गर्दै निर्वाचनमा उनले बल्याकवाटर एन्ड हवलो क्षेत्रमा उम्मेदवारी दिएकी हुन् । उनी यहाँको स्थानीय निर्वाचनमा उम्मेदवारी दिने पहिलो नेपाली मूलकी महिला उम्मेदवार समेत हुन्। नेपालको पाँचथर ओममा जन्मिएकी माबोले बेलायतको प्रमुख प्रतिपक्ष दल लेवर पार्टीले आफूलाई विश्वास गरेर उम्मेदवार बनाएको भन्दै खुशी व्यक्त गरिन्। माबोले रेस्पोन्सिबल समुदाय, इक्वालिटी र विकास लगायतलाई प्रमुख चुनावी एजेन्डा बनाएकी छन् । पूर्व शिक्षिकासमेत रहेकी माबो कुशल रेडियो प्रस्तोता, साहित्यकार पनि हुन्। पछिल्लो समय बेलायतमा रहेका १ लाख ५० हजारभन्दा बढी नेपाली समुदायको प्रतिनिधित्व गर्दै विभिन्न क्षेत्रको स्थानीय निर्वाचनमा उम्मेवार बन्नेको संख्या बढ्दो छ।

यस्तै लन्डन बरो अफ बार्नेटमा सत्तारुढ कञ्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलर पदका उम्मेदवार लक्ष्य गुरुङले उम्मेवारी दिएका छन्। गुरुङको चुनावी प्रचार–प्रसार अभियानमा बेलायती प्रधानमन्त्री टेरेजा मे समेत सहभागी भएकी थिइन्। सो क्षेत्रमा लेवर पार्टीको बर्चस्व भएपनि यसपटकको निर्वाचनमा आफ्नो पार्टीले जीत हासिल गर्नेमा उनी ढुक्क छन् । अहिलेसम्म मतदाताको रेस्पोन्स हेर्दा उत्साहित छु, उनले भने,  ‘पहिलेभन्दा निकै सकारात्मक रुपमा चुनावी अभियान चलेको छ।’

भूतपूर्व गोर्खा सैनिकसमेत रहेका गुरुङ गैरआवासीय नेपाली अभियानमा समेत सक्रिय छन् । विशेषतः गुरुङले भूतपूर्व गोर्खाहरुको समस्याको मुद्दा हेरिरहेका छन् । उनी भूतपुर्व गोर्खाको समस्या समाधानका लागि बनाइएको उपसमितिको संयोजक समेत हुन्।

लन्डनको इलिङ क्षेत्र भने हाल ह्यानबेल बसोबास गर्दै आएका नेपालस्थित टीकापुर कैलालीका सुरेन्द्र ढुंगानाले उम्मेदवारी दिएका छन् । नेपाली समुदायको बाक्लो बस्ती रहेको इलिङ् काउन्सिलको होबेइन वडामा कञ्जरभेटिभ पार्टीका तर्फबबाट उनलाई उम्मेदवारका रुपमा अघि सारेको हो । सो क्षेत्रमा यसअघि पनि एउटा सिट कञ्जरभेटिभ पार्टीले जितेकाले यसपटक पनि आफ्नो जीत सुनिश्चित भएको ढुंगानाले बताउँछन्। आफूले जित्ने दाबी गर्दै  ढुंगानाले भने, ‘सम्पूर्ण नेपाली समुदायलाई सहयोगको लागि आव्हान गर्छु।’

उनी ३ वर्ष पहिले मात्र कञ्जरभेटिभ पार्टीबाट राजनीतिमा उत्रिएका हुन् । उनले विगत दुई वर्षदेखि इलिंग नर्थको कञ्जरभेटिभ पार्टी कमिटीको उपाध्यक्षको पदमा रहेर काम गर्दै आएका छन्। 

अर्का भूतपूर्व गोर्खा सैनिक विष्णु गुरुङ स्थानीय निर्वाचनमा पुनः काउन्सिलर पदमा लड्ने भएका छन् । यसअघि काउन्सिलर र डेपुटी मेयर भइसकेका गुरुङ लेबर पार्टीको प्रतिनिधित्व गर्दै हयानवर्थ पार्कबाट फेरि चुनावी मैदानमा उत्रिएका हुन् । गुरुङको क्षेत्रमा लेवर पार्टीको पकड रहेको छ । उनी चुनाव जित्नेमा ढुक्क छन् । क्वालिटी अफ लाइफ, रोड, हाउनिङ र स्थानीय स्कुलहरुको सुधारलगायत चुनावी एजेन्डा अघि सारेका उनको क्षेत्रका मतदातामध्ये करिब ६५ प्रतिशत मतदाता लेवर पार्टीमा आवद्ध रहेको उनको दाबी छ । उनी अहिले चुनाव प्रचार प्रसारमा व्यस्त छन् । बस चालकसमेत रहेका गुरुङ पहिलो पटक सन् २०१४ मा काउन्सिलर पदमा निर्वाचित भएका थिए । उनले सोही वडामा  उपमेयरको जिम्मेवारी समेत समालेका थिए।

यस्तै कमल गुरुङले बार्नेट क्षेत्रमा लेवर पार्टीबाट, आनन्द राईले फेलथान क्षेत्रमा कन्जरभेटिभ पार्टीका तर्फबाट स्थानीय निर्वाचनको काउन्सिलरमा उम्मेदवारी दिएका छन्। 

 

प्रकाशित: ४ वैशाख २०७५ ०८:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App