१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

किन लम्बिदै छ एमाले माओवादी एकता ? (भिडियो)

काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रबीच बैशाख ९ गते हुने भनिएको एकता टरेको छ। कार्यदलले नेकपा स्थापनाको दिवसको दिन पार्टी एकता गर्न उपयुक्त हुने भन्दै एकता संयोजन समितिलाई सुझाव दिएका थिए। दुई पार्टीले बैशाख ९ गतेलाई एकताको लागि तयारी गरे पनि आन्तरिक तयारी नपुगेको भन्दै थप छलफललाई अघि बढाएको हो।

मंगलबार बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकीकरणका लागि तयारी नपुगेको ठहर गरेको छ। एकताको लागि ९ गते नै हतार हुने माओवादीको ठहर छ। प्रतिवेदन नै टुंगो नलागेको अवस्थामा ९ गते एकता हुन नसक्ने माओवादीको बुझाई रहेको छ।

बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘नौ गते गर्ने भनिएको एकतालागि तयारी पुगेन। त्यसैले त्यसदिन एकता घोषणा हुनेछैन।’ प्रतिवेदन नै टुंगो नलागेको अवस्थामा ९ गते एकता असम्भव भएको उनले बताए।

श्रेष्ठका अनुसार बैठकमा वैचारिक राजनीतिक र विधान सम्वन्धी  कार्यदलले पेश गरेका प्रतिवेदनबारे छलफल भएको थियो। कार्यदलका प्रतिवदेनलाई आवश्यकता भए अन्तिमरुपमा परिमार्जन गरेर एकता संयोजन समितिको बैठकमा पेश गर्ने जिम्मा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ।

पार्टी एकता हुनेमा दुई मत नभएको एमाले महासचिव इश्वर पोखरेल बताउँछन्। पार्टी एकताको अन्तिम टुङ्गो गर्ने जिम्मा दुवै पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाललाई दिने निर्णय आजको बैठकले गरेको छ। माओवादी नेता श्रेष्ठले प्रतिवेदनबारे टुंगो नलागेको बताए पनि महासचिव पोखरेलले भने राजनीतिक र विधान प्रतिवेदनबारे टुंगो लागेको बताए। 'राजनीतिक र विधान प्रतिवेदन ठोष ढंगले टुंगिएका छन्', पोखरेलले भने, 'नमिलेका कुनै कुरै छैनन्। फाइनल टच गर्ने जिम्मा दुई अध्यक्षलाई दिएका छौं।'

चुनाव चिन्ह सूर्य, जनयुद्ध कहाँ ?

चुनाव चिन्हको विषयमा कुनै विवाद नरहेको उनको भनाई छ। 'चुनाव चिन्हको बारेमा कुनै विवाद छैन', पोखरेलले भने, 'यति भनेपछि तपाईहरुले के भयो भन्ने बुझिहाल्नु भयो।'

जनयुद्ध शब्दलाई प्रस्तावनामा राख्ने नराख्नेबारे सोधिएको प्रश्नमा उनले भने 'विगतमा एमाले माओवादी भिन्न भिन्न अभ्यासबाट आए। अहिले माओवादी एमाले दुवै पार्टी शान्ति, मानवअधिकार प्रति प्रतिवद्ध छन्। विगतका कुरा समिक्षा गरौंला। '

एमाले महासचिव पोखरेलका अनुसार दुवै पार्टीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा फरक अभ्यास गरेको र अब पार्टी एकतामा पनि फरक अभ्यास हुने जानकारी दिए । पोखरेलले भने, ‘पार्टी एकतामा यतिउति प्रतिशत भन्नेमा हामी अड्कनेछैनौ।’ योग्यता, क्षमता, पृष्ठभूमिका आधारमा पार्टी एकता हुने भएका कारण कसका कति परे भन्नेमा नअड्किने उनको भनाई थियो। 'हामीले न एमाले न माओवादी पार्टी बनाउँदै छौं', उनले भने,' नो मोर एमाले माओवादी यो नयाँ पार्टी बन्ने छ।'

यस अघि सोमबार ओली र दाहालले पार्टीबीच छलफल भएको थियो। पछिल्लो पटक पार्टी एकताबारे दुई पार्टीका फरक फरक धारणा आउन थालेपछि शीर्ष नेताले वातावरण विग्रन नदिन समान धारण बनाउने प्रयास गरेका थिए। विधानको प्रस्तावनामा माओवादीले जनयुद्ध राख्नु पर्ने अडान राख्दै आएको छ भने एमाले त्यसमा सकारात्मक छैन। यता पछिल्लो पटक माओवादी अध्यक्ष दाहालले एकता ५०/५० को अनुपातमा हुनुपर्ने बताउँदै आएका छन्। तर एमाले नेताहरु यसको पक्षमा छैनन्। दुवै पार्टीका नेता कार्यकर्ताले सम्मानबोध गर्ने किसिमबाट एकता हुनु पर्ने माओवादीले बताउँदै आएको छ। दुई पार्टीले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा चुनावी एकता गर्दै पार्टी एकताको घोषणा गरेका थिए। केन्द्र सरकार र प्रदेश सरकारमा समेत एमाले माओवादीले भागवण्डा मिलाएका थिए।

 

 

प्रकाशित: ४ वैशाख २०७५ ०९:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App