८ वैशाख २०८१ शनिबार
अर्थ

रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन  : नेपालतर्फ पाइप विछ्याउन सुरु

वीरगन्ज– मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको लागि भुमिगत रुपमा पाइप गाड्ने काम मंगलबारदेखि औपचारिक रुपमा सुरु भएको छ। नेपालमा पेट्रोलिय इन्धन आपुर्तीकोलागि निकै महत्वपूर्ण मानिएको योजनामा मंगलबारदेखि एक औपचारिक कार्यक्रमबीच नेपालतर्फ पाइप राख्ने काम सुरु भएको हो। बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले नेपालतर्फ पाइप विछ्याएको ठाउँमा माटोले पुरेर यसको शुभारम्भ गरे। 

पथलैया र सिमराको बीचबाट पाइप राख्न सुरु गरिएर पाँच सय मिटर पाइप शुभारम्भको क्रममा ओछ्याएर पुर्ने काम मंगलबार गरिएको छ। अमलेखगंजदेखि रक्सौलसम्म ३६.२ र रक्सौलदेखि मोतिहारीसम्म ३२ किलोमिटरमा पाइप भुमिगत पाइप स्थापित गरी नेपाललाई अहिले चाहिने डिजेलको ८० प्रतिशत आपूर्ति उक्त माध्यमले गरिने योजना हो यो। सुरुमा रक्सोदेखि अमलेखगन्जसम्मको पाइपलाइन योजना पछि इण्डियन आयल कर्पोरेशनले रक्सोलको आफ्नो डिपो मोतिहारीको छापरा बहास गाउँ नजिक सार्न थालेपछि पाइपलाइन त्यहाँसम्म जोड्न थालिएको हो। 

एउटै पाइपबाट डिजेल, पेट्रोल र हवाई इन्धन ल्याउने सुरुवाती योजना परिवर्तन गरि यसको क्षमता अनुसार डिजेल मात्र ल्याउने गरी सहमति गरिएको छ। पाइपलाइन रक्सौलदेखि नेपाली सीमामा शंकराचार्य द्वारनेर प्रवेश गर्ने छ। त्यसयता रजतजयन्ती चोक सडकको पूर्व पट्टी र त्यहाँदेखि परवानीपुर बाइपास सडक हुँदै अमलेखगंजसम्म सडकको पश्चिमबाट पाइपलाइन ल्याइने योजना अनुसार काम हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणका बेलामा उनी र उनका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाटै संयुक्त रुपमा योजनाको शिलन्यास गरेका थिए। 

भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म पाइप गाड्ने काम सुरु भएपछि अब यता पनि थालिएको हो। नेपाल आयल निगम अमलेखगंज डिपोका क्षेत्रीय प्रबन्धक तथा मोतिहारी–अमलेखगंज पाइपलाइनका परियोजना प्रमुख प्रदीपकुमार यादवले निर्धारित १५ महिनामै योजनाको निर्माण सकिने दावी गरे।

प्रकाशित: ४ वैशाख २०७५ १५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App