८ वैशाख २०८१ शनिबार
समाज

भर्नाका लागि बालबच्चा डोर्‍याउँदै अभिभावक

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मीटार लुम्बुरछाङकी लीलासरी राईले ५ वर्षीया छोरी मनिकलालाई सोमबार च्यास्मीटारमा माविमा पु¥याएर कक्षा १ मा भर्ना गरिदिइन्।

लीलासरीले छोरीको उच्च शिक्षाको कामना गर्दै भर्ना गरिदिएको च्यास्मीटार माविका प्रधानाध्यापक दानकुमार राईले बताए । वैशाख २ गतेदेखि थालिएको भर्ना अभियानका क्रममा च्यास्मीटार माविमा दैनिक ५÷६ जना विद्यार्थी भर्ना भइरहेका छन् । जिल्लामा वैशाख १४ गतेसम्म भर्ना अभियान सञ्चालन गर्ने समय निर्धारण गरिएको भए पनि च्यास्मीटार माविमा वैशाख १६ गतेसम्म भर्ना हुने प्रअ राईले बताए।

 ‘अभिभावकले आफ्ना बालबच्चालाई विद्यालय भर्ना गर्न ल्याइरहेका छन्, हाल दैनिक ६ जनासम्म विद्यार्थी भर्ना भइरहेको छ,’ राईले भने, ‘हामीले भर्ना गर्ने अवधि पनि अलि लामो राखेका छौं ।’ भर्ना भएका विद्यार्थीलाई शुक्रबार रंगीन पुस्तक वितरण गर्ने प्रअ राईले बताए।

यस्तै ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका भीमबहादुर तामाङले पनि सोमबार छोरी युनिसा तामाङलाई त्रिभुवन माविमा कक्षा २ मा भर्ना गरिदिए । निजी विद्यालयबाट कक्षा १ उतीर्ण युनिसालाई अभिभावकले सामुदायिक विद्यालयमा भर्ना गरिदिएको शिक्षक उमेश राजभण्डारीले बताए।

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ७६ वर्षीय सन्तबहादुर भुजेलले नातिनीलाई आइतबार कालिका प्रावि बयाक्तामा पु¥याएर भर्ना गरिदिएका छन् ।‘शिक्षाबाट कोही वञ्चित नहुन्’ भन्ने लक्ष्यका साथ जिल्ला शिक्षा कार्यालय खोटाङले वैशाख २ गतेदेखि सञ्चालन गरेको भर्ना अभियानका क्रममा जिल्लाका अभिभावक आफ््ना बालबच्चालाई विद्यालयमा भर्ना गरिरहेका छन् ।

 ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ थालिएको विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी टिकाउ र सिकाइ उपलब्धि सुधार कार्यक्रमअन्तर्गत हरेक विद्यालयमा दैनिकजसो ससाना बालबालिका डोर्‍याउँदै आउने र भर्ना गरेर फर्कने अभिभावक देखिन्छन् ।स्थानीय तहसँगको समन्वय र सहकार्यमा विद्यालय पनि भर्ना हुन आएका बालबच्चालाई स्वागत गर्दै भर्ना गर्नमा व्यस्त बनेका छन् ।

विद्यालय शिक्षामा पहुँचको सुनिश्चितताका लागि विद्यालय जाने उमेर पुगेका सबै बालबालिकालाई भर्ना अभियानमा नछुटाउने गरी जिल्लाव्यापी कार्यक्रम सञ्चालन भइरहेको जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठले बताए। ‘भर्ना अभियान सन्तोषजनक छ, कतिपय विद्यालयले घरदैलो अभियान नै सञ्चालन गरिरहेको छ,’ जिशिअ श्रेष्ठले भने, ‘सँगै विद्यार्थीलाई पाठ्यपुस्तक पनि वितरण भइरहेको छ।’

भर्ना अभियानका क्रममा विद्यालय उमेर समूहका वैयक्तिक विवरण संकलन गर्दै ४ वर्ष उमेर पुगेका बालबालिकालाई प्रारम्भिक बाल शिक्षा कक्षामा भर्ना गराउने, विद्यार्थीलाई भर्ना गरी स्वागत गर्ने र भर्ना हुन नआएका बालबालिकालाई भर्ना गराउन आवश्यक पहल गर्ने, भर्ना भएका विद्यार्थीलाई पठनपाठन सुरु हुनु अगावै पाठ्यपुस्तकको नयाँ सेट उपलब्ध गराउने, भर्ना भएका विद्यार्थीलाई नियमित आउने र वर्षभरि टिक्ने वातावरण सिर्जना गर्न परिवेशअनुसार कार्यक्रमसहितको कार्ययोजना तयार पारेर कार्यान्वयन गर्ने लगायत कार्यक्रम सञ्चालन भइरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

प्रकाशित: ५ वैशाख २०७५ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App